अनुमति नलिई डिजिटल कारोबार गर्ने संस्थालाई झट्का, त्यस्तासँग कारोबार नगर्न राष्ट्र बै‌ंककाे निर्देशन

  २०७७ असार १९ गते १६:००     विकासन्युज

काठमाडौं । अनुमति नलिई डिजिटल प्रणालीमार्फत कारोबार गर्ने संस्थाहरुलाई झट्का लागेको छ । नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकबाट अनुमति नलिएका तर भुक्तानी प्रणाली सम्बन्धि कार्य गर्दै आएका विभिन्न संस्थाहरुसँग कारोबार नगर्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले शुक्रवार एक सूचना जारी गर्दै बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकबाट अनुमति नलिएका संस्थाहरुलाई डिजिटल पेमेन्ट पार्टनरको रुपमा आवद्ध गरी भुक्तानी सेवा संचालन गरे गराएकोप्रति गम्भिर ध्यानाकर्षण भएको पनि बताएको हाे ।

नेपाल राष्ट्र बैंकबाट कुनै पनि अनुमति नलिई कारोबार गर्दै आएका विभिन्न संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले बैंकबाट अनुमति लिइसकेपछि मात्र  त्यस्तो संस्थासँग कारोबार गर्न निर्देशन दिएको छ ।

सूचनामा भुक्तानी सेवा संचालनका लागि राष्ट्र बैंकबाट अनुमति पाएका संस्थालाई मात्र डिजिटल पेमेन्ट पार्टनर रुपमा आवद्ध गराउन निर्देशन दिइएको समेत उल्लेख गरेको छ ।

भुक्तानी तथा फस्र्यौट ऐन २०७५ को दफा ५ अनुसार नेपाल राष्ट्र बैंकको अनुमति नलिई भुक्तानी प्रणाली सञ्चालन गर्न वा भुक्तानी सेवा प्रदायकको रुपमा काम गर्न वा त्यस्तो सेवा सञ्चालन गर्न नपाइने प्रावधान रहेको सूचनामा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकबाट हालसम्म भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक गरी कुल २३ वटा संस्थाले डिजिटल भुक्तानीका लागि अनुमति लिएका छन् । बैंकबाट भुक्तानी प्रणाली सञ्चालक अन्तर्गत ९ वटा र भुक्तानी सेवा प्रदायक अन्तर्गत १४ वटा संस्था तथा कम्पनीहरुले डिजिटल भुक्तानी कारोबारका लागि अनुमति लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.