अस्ट्रेलियाको प्रतिरक्षा बजेटमा १ सय ९० अर्ब डलर थप गर्ने सरकारको घोषणा

  २०७७ असार १७ गते १३:१९     विकासन्युज

क्यानबेरा । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आगामी एक दशकमा १ सय ९० अर्ब अमेरिकी डलरको अतिरिक्त प्रतिरक्षा बजेट खर्च गरिने घोषणा गरेका छन् । आफ्नो देशको सीमा रक्षाका लागि व्यवस्था गर्न लागिएको थप बजेटबाट लामो दूरीका क्षेप्यास्त्र समेतका अत्याधुनिक हातहतियारको व्यवस्था गरिने उनले बताए ।

प्रधानमन्त्री मोरिसनले कोरोनाकाल समाप्त भएसँगै विश्व अझ खतरापूर्ण अवस्थामा पुग्ने चेतावनी दिँदै आगामी दिनमा अस्ट्रेलियाको सार्वभौमसत्ता र अखण्डता सुरक्षित एवं सुदृढ गर्न संयुक्तराज्य अमेरिका समेतका परम्परागत मित्रराष्ट्रसंगको सम्बन्धलाई अझ प्रगाढ बनाइने बताए ।

उनले दोस्रो विश्वयुद्ध पछि अहिलेको जस्तो आर्थिक तथा रणनीतिक अस्थिरता कहिल्यै नदेखिएको पनि बताए । प्रधानमन्त्री मोरिसनले पछिल्ला दिनहरुमा भारत र चीनबीच तथा दक्षिण चीन सागरमा तनाबको अवस्था रहेको बताउँदै भने, “अस्ट्रेलियामा कोरोनाभाइरसको कहर मत्थर भएपनि कोरोनापश्चातको विश्वका लागि हामी तयार हुनुको विकल्प छैन जो निकै गरिब, बढी खतरापूर्ण र अव्यवस्थित हुनेछ ।”

उनले एसिया–प्रशान्त क्षेत्रका मुलुकहरुले आफ्ना सैनिकको आधुनिकीकरण गरिरहेकाले पनि अस्ट्रेलियासामु चुनौती छ भने । प्रधानमन्त्री मोरिसनले चीन र संयुक्तराज्य अमेरिकाबीच राजनीतिक, आर्थिक तथा प्रविधिगत सर्वोच्चता कायम गर्न तिब्र प्रतिस्पर्धा भइरहेको कुरा कसैबाट लुकेको छैन भने ।

अस्ट्रेलियाली सेनाको क्षमता बिस्तार गर्न सरकारले अमेरिकाबाट पानीजहाज–भेदी एजीएम–१५८सी क्षेप्यास्त्र खरिद गर्नेछ । यसअघि १ सय २४ किलोमिटरको दूरीसम्म मार हान्ने क्षमता रहेकामा ३ सय ७० किलोमिटरको दूरीसम्म प्रहार गर्ने क्षमता हुने अस्ट्रेलिया सरकारको भनाई छ । नयाँ क्षेप्यास्त्र प्रविधि एफ–१८ सुपर हर्नेट लडाकू बिमानबाट प्रहार गर्न सकिने छ ।   रासस/एपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.