लकडाउनपछिको अर्थतन्त्रः बैंकिङ क्षेत्रको लगानी उपभोग र अनुत्पादक क्षेत्रतर्फ आकर्षित

  २०७७ असार ३ गते १२:३२     विकासन्युज

काठमाडौं । यामाहा मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले कुनै पनि मोडलको मोटरसाइकल खरिदका लागि तीन प्रकारका योजना ल्यायो ।

पहिलो योजनामा एक रुपैयाँ पनि डाउन पेमेन्ट नगरी बाइक किन्न सकिन्छ । यो योजनामा बाइक किन्दा व्याज भने केही महंगो पर्छ ।

दोस्रो योजना अनुसार ४० प्रतिशत डाउन पेमेन्ट गरेर बाइक किन्ने हो भने व्याज बाँकी ऋण निव्र्याजी पाइन्छ । अर्थात व्याज तिर्नु पर्दैन । र, तेस्रो योजना भनेको बाइकको मूल्य अनुसार पैसा हाताहाती तिरेर लिने हो भने १० हजार रुपैयाँ छुट पाइन्छ ।

नेपालका लागि निसान गाडीको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले ‘अहिले गाडी किन्नुस्, पछि पैसा तिर्नुस्’ भन्ने योजना ल्यायो । यो योजना अनुसार निसान गाडीका जुनसुकै मोडल खरिद गर्दा पनि सुरुमा गाडी मूल्यको ३० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्छ । त्यसपछिको ६ महिनासम्म बाँकी पैसाको किस्ता र व्याज तिर्नु पर्दैन । त्यो अवधिको किस्ता र व्याज कम्पनीले नै तिरिदिन्छ । ६ महिनापछिदेखि भने किस्ता र व्याज तिर्नुपर्छ ।

लक्ष्मी बैंकले कम्प्युटर, ल्यापटप र सोसम्बन्धी उपकरण खरिदमा शतप्रतिशतसम्म कर्जा दिने योजना ल्याएको छ । कोरोना भाइरस (कोभिड १९) महामारीका कारण विद्यालयहरु बन्द भएको समयमा अनलाइन कक्षामा भाग लिन सहज होस भनेर बैंकले यस्तो योजना ल्याएको हो ।

लक्ष्मी बैंकको सो योजनामा कम्तिमा १२ प्रतिशत व्याज लिने भनिएको छ । यो सुविधा एसर, एप्सन, डेल र एप्पल ब्राण्डका कम्प्युटर, ल्यापटप तथा अन्य उपकरणमा उपलब्ध छ ।

मोटरसाइकल, गाडी र कम्प्युटर तथा ल्यापटप सम्बन्धी कर्जा योजना कोरोना भाइरस संक्रमण रोक्न सरकारले लागू गरेको लकडाउन केही खुकुलो भएपछि यसैसातादेखि संचालनमा आएका हुन् । यी प्रतिनिधि उदाहरणले कोरोना भाइरस संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउन खुलेपछि बैंकिङ क्षेत्रको कर्जा उपभोग्य वस्तु र अनुत्पादक क्षेत्रमा बढ्ने संकेत मिल्छ ।

तर, नेपाल राष्ट्र बैंकको नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल अहिलेको केही उदाहरण हेरेर बैंकको लगानी उपभोग र अनुत्पादक क्षेत्रतिर जान लाग्यो भन्ने निष्कर्षमा पुग्नु हतार हुने बताउँछन् ।

‘लकडाउनको समयमा बैंकहरुले तत्कालिन व्यवसायको लागि उपभोग केन्द्रीत केही योजना ल्याएका हुन सक्छन्, लकडाउन खुकुलो हुँदै गएपछि उद्योग व्यवसाय क्षेत्रले कर्जा माग्ने अवस्था बढ्छ, त्यसैले अब उपभोग वा अनुत्पादक क्षेत्रतिर कर्जा बढ्छ कि भनेर चिन्ता गरिहाल्नुपर्ने अवस्था छैन,’ कार्यकारी निर्देशक ढकालले भने ।

बैंकहरु भने अब कर्जा प्रवाह कतातिर मोडिन्छ भनेर यकिन हुन सक्ने अवस्था अहिले नै नआएको बताउँछन् । आगामी आर्थिक वर्षको लागि ल्याइएको बजेटले स्पष्ट दिशानिर्देश नगरेको र कोरोना महामारीको असर कहिलेसम्म र कुनस्तरको पर्छ भन्ने यकिन नभएकोले कर्जा प्रवाह कुन क्षेत्रमा बढ्छ वा बढाउनु पर्छ भनेर यकिन गर्न नसकिएको उनीहरुको भनाइ छ ।

‘बजेटे केही दिशानिर्देश गरेन, बजेटले नै स्पष्ट पार्न नसकेको विषयलाई मौद्रिक नीतिले प्रष्ट पार्ला भन्ने अनुमान कम छ, त्यसैले अवको बाटो उपभोग कर्जा हो भन्ने निष्कर्ष निकालेर होइन, तत्कालको लागि केही कर्जा दिदै गरौं भन्ने हिसावले उपभोग कर्जामा केही स्कीम बनाउँदै छौं,’ एक बैंकरले भने ।

धेरै मानिसको आम्दानी र रोजगारी गुमेकोले उपभोग कर्जामा पनि धेरै जान नसकिने उनको भनाइ छ । ठूलो परिमाणको कर्जा माग हुनको लागि घरजग्गा क्षेत्र चलायमान हुनुपर्नेमा अहिले त्यस्तो अवस्था नरहेको उनको विश्लेषण छ ।

‘कर्जाको किस्ता राम्रैसँग आइरहेको छ, नयाँ कर्जाको माग भएको छैन, यसैकारण तरलता बढी थुप्रिएकोले नयाँ नयाँ योजना आएका हुन्, उपभोग कर्जाको माग धेरै हुनको लागि घरजग्गा क्षेत्रमा कर्जा प्रवाह बढाउनुपर्छ, घरजग्गा क्षेत्रमा कर्जा बढाउनु भनेको बेलुन कति ठूलो बनाएर फुटाउने भन्ने नै हो, त्यसैले मौद्रिक नीतिसम्म कुरौं, त्यसपछि केही संकेत मिल्ला कि,’ ती बैंकरले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.