कोभिड–१९ बाट अफ्रिकामा २ लाख २५ हजारभन्दा बढी संक्रमित

  २०७७ जेठ ३२ गते १३:५०     विकासन्युज

आदिस अबाबा । अफ्रिकी महादेशमा कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या २ लाख २५ हजार नाघेको छ । कोभिड–१९ तिब्र रुपमा फैलिएसँगै अफ्रिकाका ४३ मुलुकको अन्तर्राष्ट्रिय सीमा पूर्ण रुपमा बन्द गरिएको छ । अफ्रिका सिडीसीको पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या करिब ६ हजार पुगेको छ भने १ लाख २ हजार ८ सय ४६ जना निको भएर घर फर्किएका छन् ।

अफ्रिका सिडीसीको अध्ययनमा कोविड–१९ बाट उत्तर अफ्रिकी मुलुकहरु सर्वाधिक प्रभावित भएको उल्लेख छ । उत्तर अफ्रिकी क्षेत्रमा कोभिड–१९ बाट भएको मृत्यु र संक्रमित दुबैको संख्या बढी छ । यद्यपी कोभिड–१९ बाट सर्वाधि असर परेका मुलुकहरुमा दक्षिण अफ्रिका, इजिप्ट, मोरक्को, जिबुटी, नाइजेरिया र अल्जेरिया रहेका छन् ।

इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार इजिप्टमा विगत २४ घण्टाको अवधिमा १ हजार ६ सय ७७ जना नयाँ संक्रमित भेटिएका छन् । यो सहित इजिप्टमा संक्रमितको कूल संख्या ४२ हजार ९ सय ८० पुगेको छ । यहाँ हालसम्म १ हजार ४ सय ८४ जनाको मृत्यु भइसकेको छ ।

यस्तै अफ्रिकामै सबैभन्दा बढी जनसंख्या रहेको इथियोपियामा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ६६ पुगेको छ । अफ्रिकी महादेशका मुलुकमध्ये सर्वाधिक असर परेको दक्षिण अफ्रिकामा हालसम्म कूल संक्रमितको संख्या ६५ हजार ७ सय ३६ पुगेको र त्यसमध्ये १ हजार ४ सय २३ जनाको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

अफ्रिकाका ४३ मुलुकले आफ्ना सीमा बन्द गर्नुका अलावा अफ्रिका सिडीसीका अनुसार कोरोना फैलिनबाट रोक्न ३५ वटा देशमा रातिको समयमा निषेधाज्ञा (कफ्र्यु) समेत लगाइएको छ । ७ वटा देशमा अन्तर्राष्ट्रिय हवाई उडान रोकिएको छ भने दुई वटा देशले अन्य मुलुकसँगको आउजाउमा प्रतिबन्ध लगाएका छन् ।

केही अफ्रिकी मुलुकले कार्गो, फ्राइट र आपतकालीन यातायात भने खोलेका छन् । अफ्रिकाका ५४ वटा मुलुकले सार्वजनिक भेला, समारोहमा प्रतिबन्ध लगाएका छन् भने ३८ वटा मुलुकले शैक्षिक प्रतिष्ठानहरु बन्द गरेका छन् ।  रासस–सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.