कर्णालीमा ९ सय १६ जना कोरोना सङ्क्रमित

  २०७७ जेठ ३१ गते १६:०३     विकासन्युज

सुर्खेत । कर्णालीमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या दिनहुँ बढिरहेको छ । आज मात्रै सुर्खेतमा ४० र दैलेखमा ३० गरी जम्मा ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुर्खेत र दैलेख गरी नयाँ थपिएका ७० गरी हालसम्म कर्णालीमा ९ सय १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

सुर्खेत गुर्भाकोट नगरपालिकाका १२, भेरीगङ्गा नगरपालिका १०, बराहताल गाउँपालिकाका नौ, चौकुने गाउँपालिकाका ८ र वीरेन्द्रनगर नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए  ।

त्यस्तै दैलेख आठबिस नगरपालिकाका २०, नौमुले गाउँपालिकाका नौ र डुङ्गेश्वर गाउँपालिकाका एक जनामा कोरोना सङ्क्रमण देखिएको महाशाखा प्रमुख डा तिवारीले बताए। सबैको कोरोना पुष्टि प्रदेश अस्पताल र पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट भएको जनाइएको छ ।

त्यसैगरी आज दैलेख अस्पतालबाट ५ र दुल्लु अस्पतालबाट ४ गरी ९ जना निको भई घर फर्केका छन् । कर्णालीमा कोरोना जितेर घर फर्कनेको सङ्ख्या ९१ पुगेको र हालसम्म कोभिड–१९ को सङ्क्रमण पुष्टि भएकामध्ये मृत्यु हुनेको सङ्ख्या तीन रहेको स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशले जनाएको छ ।  रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.