फुर्सदिला बनेका फेरिब्यापारका हातहरु

  २०७७ जेठ २४ गते ११:०६     राधा फुलारा

डडेल्धुरा । केही दिनसम्म एकोहोरो टिनटिन गरेको आवाज सुनिरहन्थ्यो । छाना बाहिर हरेक दिन राता तामाका गाग्री, मुर्ती, बाटालगायतका सामग्री घाममा टिलिक्क टल्केका देखिन्थ्ये । तर, हिजोआज भने आवाज सुनिन र सामाग्री देखिन छोडेकोे छ । कारण सरकारले गरेको लकडाउन । कोरोना भाइरसको संक्रमण देखिन थालेसँगै सरकारले गरेको लकडाउनका कारण अहिले डडेल्धुराका आरन व्यावसायी चपेटामा परेका छन् । हरेक दिन विहान घाममा सुकाउन राखेका हेर्दै रहर लाग्दा भाडाँकुडाँहरु पनि देखिनै छोडेका छन् ।

लकडाउन भन्दा अगाडि दनदनी बल्दै गरेको आगोमा तामा पोल्दै र गाग्रीमा बुट्टा कुँट्दै तामाका भाँडाकुँडा बनाउने काममा बेस्त देखिने अमरगढी नगरपालिका–६ छचौडाका यज्ञराज ताम्राकारका हातहरु अहिले भने फुर्सदिला बनेका छन्।

आरन पेशाबाटै जीवन निर्वाह गर्दै आएका ताम्राकारका ५ भाइ छन् । ५ वटै भाईका सबै परिवार एउटै घरमा बस्छन । घरका सम्पूर्ण सदस्य लागेर उनको २८ जनाको परिवार छ । उनको घरमा आरन (फेरिब्यापार) बाहेक अरु आयस्रोतको माध्यम केहि छैन ।

यज्ञराज ताम्राकारको परिवार नछुटिए पनि ५ भाईहरुमा कामको भने बाँडफाँड रहेको छ । कसैले कच्चापदार्थ ल्याउने, कसैले तामाका भाडाँकुँडाहरु बनाउने। कसैले एक गाउँबाट अर्को गाउँमा गएर बेच्ने। घरका सबै परिवारमा कामको चाप उत्तिकै छ ।

तामाका सामाग्रीहरु माना, पाथी, ताउली, दियो, विभिन्न किसिमका बाजा र मूर्तिहरू बनाउने गर्दछन। यसैबाट ताम्राकारका सबै परिवारको घर खर्च चल्ने गर्दछ । आफ्नो पुख्यौलि पेशालाई लोप हुन नदिन यसको संरक्षण गर्नका निमित्त आफूहरु यो ब्यवसायलाई अपनाई रहेको बताउने ताम्राकारका हिजोआजका दिन फुर्सदिला बनेका छन ।

उनी मात्र नभई उनका ५ जना दाजुभाई नै फूसर्दमा छन । एकातिर कामको चापबाट उनीहरु मुक्त छन् भने अर्कोतिर घर भित्रै बस्नु पर्दा साँझ विहानको छाक टार्न समस्या भएको छ। लकडाउनको दुई महिना भन्दा बढि भइसक्दा घरभित्रै बस्नु पर्दा उनीहरुलाई चिन्ताले पिरोलि रहेको छ ।

लकडाउनका कारण हातमा सिप हुँदाहुँदै पनि कच्चापदार्थको अभाव भएर तामाका भाँडाकुँडा बनाउन नपाएर फुर्सदिला दिनहरु बिताउनु पर्दा परिवारका सदस्यहरुको पेट पाल्न समस्या भएको यज्ञराज ताम्राकारले दुखेसो छ ।

‘कच्चा पदार्थबाट भाँडाकुँडा बनाएर गाँउतिर गएर फेरि ब्यापार गथौँ । अहिले बन्दको कारण आवतजावत गर्न मिल्दैन्।’ उनले भने, ‘लकडाउन भन्दा अगाढि बनाएका सामाग्रीहरु बेच्न नपाएर सबै थन्काएर बसेका छौँ। अरु बिकल्पको स्रोत केहि छैन ।’२८ जनाको परिवार पनि यहि व्यवसायबाट पाल्दै आएका थियौँ। अहिले परिवार पाल्नै समस्या भएको उनको भनाइ छ ।

यज्ञराजको जस्तै समस्या छ सोही ठाउँका दिनेश ताम्राकारको पनि। उनको पनि आजभोलि परिवार पाल्न धौँधौँ परेको छ। पुर्खाको पेशा तामाका भाँडा बनाउने हो। उनले पनि त्यही पुर्खाको बिँडो थाम्दै जीविका चलाउँदै आएका थिए । उनीसँग पनि बाजेबाट सिकेको सीपबाहेक कमाइ खाने अर्को विकल्प छैन ।

‘पहिले सामग्री बेचेर ३५ हजार देखि ४० हजारसम्म आम्दानी हुन्थ्यो आजभोलि रित्तै बस्नु परेको छ’ दिनेशले भने । यज्ञराज र दिनेशको समस्या जस्तै छचौडाका लगभग २ सय ४० परिवारको छ । बर्षौदेखि पुख्यौलि पेशालाई अपनाउदै आएका छचौडाका स्थानीयहरुको विकल्पको स्रोत केहि छैन ।

यस्तै, डडेल्धुराको अजयमेरु गाउँपालिका २ हाटका श्याम तम्राकारको सानो टिनको छाप्रो छ । यही छाप्रोभित्र छ सानो आरन । आरनको छेउमा बसेर ट्याकट्याक, टुकटुक पार्न थालेको सयौं दिन बितिसके ।

प्राय सधै ब्यस्त भईरहने उनी आजभोलि खालिनै बसेका छन । लकडाउनको समयमा बनाएका सामाग्रीहरु पनि बिक्री नभएको र बिवाह पनि कम हुने हुदा सामानको लागि माग समेत आउन छोडेको उनी बताउछ । आरनमा बसेपछि दिन बितेको पत्तै हुँदैनथ्यो, आजभोलि कामनै नहुदा आफूलाई दिन काट्ननै गाह्रो हुने उनी बताउँछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.