बजेटप्रति हस्तकला महासंघको धारणा, यस्ता छन् सकारात्मक र नकारात्मक व्यवस्थाहरू

  २०७७ जेठ २१ गते १८:०२     विकासन्युज

काठमाडाैं । कोभिड-१९ बाट थलिएको यो उद्योग व्यवसायको संरक्षण र जगेर्नाको लागि आ.ब. २०७७।७८ को बजेटले प्रभावकारी संबोधन नभएकाे नेपाल हस्तकला महासंघले जनाएकाे छ । याे अवस्थामा निर्यात प्रवद्र्धनका प्याकेज कार्यक्रमहरु आउने उद्यमी व्यवसायीहरुले ठूलो अपेक्षा राखेका थिए तर बजेटले सम्बाेधन नगरेकाे महासंघले बताएकाे छ।

हस्तकला उद्योग व्यवसायमा करिब ११ लाख व्यक्तिहरु प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा संलग्न रहेको र वार्षिक करिब १० अर्ब रूपैयाँ बराबरको निकासी व्यापार र सोही रकम बराबरको आन्तरिक बजारमा व्यापार गरी करिब २० अर्ब रूपैयाँको हाराहारीमा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउँदै आई रहेको याे उद्योग कोभिड-१९ पछि थिलथिलो भएको छ । निर्यात व्यापार नगण्य छ भने देश भित्रका उद्योग व्यवसायहरु पनि प्राय ठप्प अवस्थामा छन् ।

यही विकराल अवस्थालाई दृष्टिगत गरी कोभिड-१९ बाट प्रभावित हस्तकला उद्योग व्यवसायलाई पूर्ववत अवस्थामा लैजान नेपाल सरकारले चाल्नु पर्ने अल्पकालिन, मध्यकालिन र दीर्घकालिन कदमहरुको सम्बन्धमा यस महासंघबाट नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र लगायतका निकायहरुमा १५ बुँदे सुझाव प्रस्तुत गरि छलफल गरेकाे थियाे । फलतः नेपाल हस्तकला महासंघले दिएका केहि सुझावहरुलाई नेपाल सरकारले ग्रहण गरी हस्तकला उद्योग व्यवसायलाई संरक्षण गर्न बजेटमा केही सकारात्मक व्यवस्थाहरु गरिएको महासंघले बताएकाे छ ।

तर आयात प्रतिस्थापनमा सघाउ पुर्याउने एवम नेपाली कला तथा परम्परागत संस्कृति झल्केका हस्तकलाका वस्तुहरुको अन्तर्राष्ट्रिय बजारमा निर्यात प्रवद्र्धन गर्ने कुनैपनि ठोस कार्यक्रम बजेटमा आउन सकेन । नेपाली हस्तकलाको परम्परागत बजारका रुपमा रहेका अमेरिका, पश्चिम युरोपिय देशहरु, जापानको अलावा नयाँ बजारको रुपमा उदय भएको दक्षिण अफ्रिका र पूर्वी युरोपका मुलुकहरुमा बजार/अध्ययन अनुसन्धान गर्न महासंघले दिएको सुझावलाई बजेटले संबोधन नगरेकाे महासंघले जनाएकाे छ।

यस महासंघको पैरबीको दौरान बिशेष रुपमा सरकारका नीति ठुला र मझौला उद्योगमा मात्र केन्द्रित भएको प्रति नेपाल सरकारको ध्यानाकर्षण गरे अनुरुप बजेटमा हस्तकला क्षेत्रका घरेलु तथा साना उद्योगलाई केन्द्रित गरी घरेलु तथा साना उद्योग स्थापनामा जोड दिईएको निकै सकारात्मक छ ।

स्वदेशी कच्चा पदार्थमा आधारित निर्यातमूलक उद्योगलाई प्रोत्साहित गरिने भनि बजेटमा उल्लेख भएको तर हाल नेपाली हस्तकलाका बस्तुहरु निर्यात हुँदै आएका बिदेशी राष्टकहरुमा पनि कोभिड-१९ ले असर पुर्याएकोले निर्यात व्यापार बन्द रहेकोछ । हाल कोभिड १९ बाट हस्तकलाको अन्तर्राष्ट्रिकय बजार निकै प्रभावित रहेको अवस्थामा नेपाली हस्तकलाका बस्तुहरुको आन्तरिक बजारको प्रमुख प्रयोगकर्ता नेपाल सरकार नै हो । तसर्थ नेपाल सरकारका कार्यालयहरुमा स्थानीय रुपमा उत्पादित हस्तकलाका सामग्री प्रयोग गरी खस्केको हस्तकला उद्योग व्यवसायलाई संरक्षण गर्न नेपाल सरकारले सार्वजनिक खरिद ऐनको सही कार्यन्वयनद्वारा देश भित्र स्वदेशी उद्योगबाट उत्पादित हस्तकला सामग्रीहरु खरिद गर्ने स्पष्ट नीति र निर्देशन दिई स्वदेशी उद्योगलाई संरक्षण गर्नु पर्ने सुझावलाई केही हद सम्म सम्बोधन गरिए पनि नेपाल सरकारका समग्र क्षेत्रमा हस्तकलाका बस्तुहरुको उपयोग गर्ने सम्बन्धमा स्पष्ट व्यवस्था
बजेटमा उल्लेख नभएकाे महासंघले जनाएकाे छ ।

उनी, अल्लो, बेत, बांस, लोक्ता आदि स्वदेशी कच्चा पदार्थमा आधारित निर्यात जन्य उद्योगहरुलाई कृषि व्यवसायहरुलाई जस्तै अनुदान दिने व्यवस्था सम्वन्धमा बजेटमा केहि उल्लेख भएको देखिएन । नगद प्रोत्साहन सम्बन्धी अहिलेको कार्यविधि जटिल भएको कारण हस्तकला उद्यमीहरुले नगद प्रोत्साहन प्राप्त गर्न नसकि रहेको अवस्थामा उक्त कार्यविधिलाई सरलीकरण गरी हस्तकला निर्यातकर्ताको हकमा यस महासंघबाट दिइने निर्यात हुने हस्तकलाको विजक मूल्याङ्कन सम्बन्धी कागजातहरुको आधारमा सम्बन्धित भन्सार बिन्दुबाटै नगद प्रोत्साहन दिलाउन आवश्यक व्यवस्था मिलाउनु पर्ने महासंघको सुझावलाई बजेटले संबोधन गरेको अवस्था छैन ।

नेपाली हस्तकला क्षेत्रको दीर्घकालिन विकासको लागि नेपाल हस्तकला महासंघले तयार गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेश गरेको हस्तकला नीति कार्यन्वयनमा ल्याउनु पर्ने महासंघको सुझाव प्रति पनि बजेट मौन रहेको देखियो ।

यस महासंघले झण्डै दुई दशक भन्दा बढि समय देखि माँग गर्दै आएको हस्तकला ग्राम स्थापना गर्ने कुरा बजेटमा यस वर्ष पनि संबोधन हुन सकेन । १३० वटा औद्योगिक ग्राम बनाउने कार्यक्रम बजेटमा आउँदा कम्तिमा पनि बाग्मती प्रदेशमा भए पनि सुरुवाती चरणमा एउटा हस्तकला ग्राम स्थापना गर्ने कार्यक्रम आउनु पर्ने थियो । हस्तकला ग्रामको स्थापना सम्बन्धी नेपाल सरकारको प्रतिबद्धता आएको भए हस्तकला उद्यमी, व्यवसायी, व्यापारी, कलाकार र कालिगढहरुको मनोबल उच्च भई हस्तकला ग्रामको स्थापनाबाट हस्तकला उद्योग व्यवसायको दिगो विकास हुन गई अन्तत्वगत्वा पर्यटन प्रवद्र्धनमा पनि सघाउ पुग्न जाने थियो । तर दुर्भाग्य यस्तो महत्वपूर्ण कार्यमा पनि नेपाल सरकारको उदासिनताले समग्र हस्तकला क्षेत्रलाई नै दुःखित तुल्याईएको छ ।

बजेटबाट हस्तकला लगायत घरेलु तथा साना उद्योगलाई गरेका सकारात्मक व्यवस्थाहरुः

१) कम्पनी दर्ता, नवीकरण वा खारेजी प्रक्रियालाई सूचना प्रविधिमा आधारित बनाई विकेन्द्रित गरिने ।
२) नेपाली हस्तकला बस्तु प्रवद्र्धनको लागि काठमाडौंमा सार्क स्तरिय प्रदर्शनी स्थल बनाईने ।
३) स्थानीय हस्तकला बस्तुको प्रवद्र्धनको लागि भृकुटीमण्डपमा प्रदर्शनी कक्षको व्यवस्था गर्ने ।
४) घरेलु तथा साना उद्योगमा कार्यरत कर्मचारीहरुको तलब भुक्तानी तथा व्यवसाय संचालनको लागि पाँच प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने र यसको लागि ५० अरबको छुट्टै कोष खडा गर्ने ।
५) घरेलु तथा साना उद्योगलाई ५ प्रतिशत ब्याजमा सहुलियत कर्जा उपलब्ध गराउने । यसको लागि नेपाल राष्ट्र बैंकले १ खर्ब सम्मको पुर्नकर्जा सुविधा उपलब्ध गराउने ।
६) निर्यात ब्यापारलाई सुचारु गर्न करका दरहरुमा सहुलियत दिने ।
७) निर्यात प्रवद्र्धन सम्बन्धी उद्यम ब्यवसायको चालू पूँजीको लागि २ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने ।
८) स्वदेशी उद्योगीलाई प्रोत्साहित गरिने क्रममा अल्लो रेशा, बाँस, केरा लगायत प्राकृतिक रेशाबाट उत्पादित स्वदेशी कपडा उद्योगलाई प्रोत्साहन प्रदान गरिने ।
९) स्वदेशी कपडा र जुत्ता चप्पल नेपाल सरकारका कर्मचारीहरुले प्रयोग गर्ने व्यवस्था मिलाउने ।
१०) उत्पादनमूलक उद्योग ब्यवसायलाई बिद्युत महशुलमा छुट दिईने ।
११) १३० वटा औद्योगिक ग्राम बनाईने र ५० हजारलाई रोजगारी दिईने ।
१२) ७५ हजार ब्यक्तिलाई सीपमूलक तालिम प्रदान गरिने ।
१३) छिमेकी मुलुकसँगको वाणिज्य तथा व्यापार सन्धिको पुनरावलोकन गरी नेपाली वस्तुको नियार्त सहज बनाइने तथा नेपाली बस्तुको अन्तर्राष्टिकय बजार प्रवद्र्धनको लागि कुटनीतिक संयन्त्रको उपयोग गरिने ।
१४) विद्युत्तीय प्रणालीमा आधारित भुक्तानीको लागि पेमेन्ट गेटवे लागू गरिने महासंघको सुझाबलाई बजेटले संबोधन गरेको छ ।
१५) प्रविधि हस्तान्तरण र बौद्धिक सम्पति अधिकारमा जोड दिईने ।
१६) बैदेशिक ब्यापारमा सहजिकरण गर्नका लागि एकद्वार प्रणाली व्यवस्था गरिने ।
१७) सबै प्रकारका परम्परागत सीपको संरक्षण गरिने ।
१८) अमूर्त सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्न बजेट व्यवस्था गरिने ।
१९) यूवाहरुलाई नव प्रवद्र्धन पूँजी व्यवस्थाको लागि २ प्रतिशत ब्याजमा ५० करोड उपलब्ध गराइने ।
२०) रोजगारीका अवसर र्सिजनामा प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका कार्यक्रम उल्लेख्य मात्रामा बजेट व्यवस्था ।
२१) प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गरिने ।
२२) महिला लक्षित सीप तथा उद्यमशीलताको विकास गरिने ।
२३) लघु घरेलु उद्योगलाई रु २० लाख सम्मको कारोबारमा ७५ प्रतिशत ५० करोड सम्मको कारोबारमा ५० प्रतिशत र १ करोड सम्मको कारोबारमा २५ प्रतिशत आयकर छुट दिने ।
२४) लघु घरेलु उद्योगले मेसिन र कच्चा पदार्थ आयात गर्दा लाग्ने पैठारी महशुल हटाईएको ।
२५) यूवा स्वरोजगार कोषबाट १२ हजार ब्यक्तिलाई रोजगारी दिईने ।
२६) लघु उद्यमलाई आय करछुटको अवधि दुई वर्ष थप गरी सात वर्ष र महिला उद्यमीद्वारा संचालित लघु उद्यमलाई तीन वर्ष थप गरी दश वर्ष सम्म आय कर छुट । लघु बीमामा लाग्दै आएको मूल्य अभिवृद्धि कर हटाइएको ।
२७) कम तौल, उच्च मूल्य र तुलनात्मक तथा प्रतिस्पर्धात्मक लाभ भएका वस्तुको पहिचान गरी निर्यात प्रवद्र्धन गर्न कर सहुलियत तथा थप नगद प्रोत्साहन दिइने । निकासी पैठारी संकेत नम्बर जारी गर्ने प्रणालीलाई थप सुदृढ बनाइ अन्य प्रणालीसँग अन्तर आवद्ध गरिने।
२८) नेपाल सरकारको विदेशी विनिमय सम्बन्धी नीति नियम अनुसार बिना अग्रीम भुक्तानी नमूना सामान पठाउने सीमा ३०० अमेरिकी डलर रहेकोमा अ‍ैलेको अवस्थामा उक्त रकम निकै कम भएकोले सो सीमालाई १००० अमेरिकी डलर सम्म पुर्याउनु पर्ने महासंघको सुझावलाई पनि बजेटले समेटेको पाइयो।

यति हुँदा हुँदै पनि घरेलु तथा साना उद्योग भित्र पर्ने हस्तकला उद्योग व्यवसायको लागि नेपाल सरकारले ल्याएका रोजगारी सिर्जना र सीपमूलक तालीमहरुलाई हस्तकला क्षेत्रसंग आवद्ध गरी हजारौंको संख्यामा रोजगारी सिर्जना गर्न सक्ने अवस्था रहेको छ ।

हाल हस्तकलाको ४२ वटै विधामा नै सीपमूलक प्रशिक्षणहरु संचालन गरी नेपाली यूवाहरु र विश्व श्रम बजार संकुचन भई स्वदेश फर्कने श्रमिकहरुलाई स्वरोजगार हुने अधिकतम अवस्था सिर्जना गर्ने कार्यमा नेपाल सरकारको सहयोगमा नेपाल हस्तकला महासंघले स्थापना गरी संचालन गरी रहेको हस्तकला डिजाईन तथा विकास केन्द्रलाई परिचालन गरी यस महासंघलेआफ्नो सक्रिय भूमिका निर्वाह गर्न सदैव तयार रहेको छ ।

नेपाल हस्तकला महासंघको पहलमा नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा स्थापना गरिने सार्क हस्तकला विकास केन्द्रको भवन निर्माण अन्तिम चरणमा पुगेको हुँदा उक्त केन्द्र संचालनको स्पष्ट दिशा निर्देश गरी दिन पनि नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समक्ष महासंघले अनुरोध गरेकाे छ।

यो बजेटले हस्तकला उद्योग व्यवसाय प्रति गरेको सम्बोधनको लागि नेपाल हस्तकला महासंघले याे बजेटको स्वागत गर्दछ । तर विगतका बजेटमा आएका यस क्षेत्रसंग सम्बन्धित विषयवस्तुर प्रतिबद्धता कार्यान्वयन नभएकोले यस वर्षको बजेटले संबोधन गरेका नीति तथा कार्यक्रमहरु पूर्ण रुपमा सफलतापूर्वक कार्यान्वयन हुने यस महासंघले विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.