श्रीमतीजीको हिम्मत

  २०७७ जेठ १७ गते १३:१२     सुशिल घिमिरे (त्रैलोक्य)

“हाम्री आयुष्मती सुपुत्री अनामिकाको फलानोका छोरासँग फलानो दिनको शुभ लग्नमा विवाह सुसम्पन्न हुने निश्चय भएकोले……..”
मलाई झल्झली सम्झना छ, मेरो विवाह निश्चय हुँदा छापिएको कार्ड अनि पहिलो पल्ट कुनै अपरिचित पुरुषसँग जोडिएको मेरो नाम । हुन त पुरुषसँग मेरोे नाम जोडिएको यो पहिलो पल्ट भने होइन । सानो छँदा भाँडाकुटी खेल्ने क्रममा कैयौं पल्ट केटा साथीको बेहुली भएकी छु ।

स्कुलमा पनि कक्षा आठ–नौ तिर पढ्दा साथीहरुले मेरो नामसँग अरु कसैको नाम जोडिदिएर डेस्क–बेञ्चमा लेखेकै हुन्थे । तर नितान्त फरक छन् ती नाम र अहिले कार्डमा छापिएको पुरुषको नाम । बुबाले चारैतिर बुझेर अनि धेरै पल्ट सोचेर मात्र आफ्नो मुटुको टुक्रालाई यही पुरुषसँग विवाह गरिदिने निश्चयमा पुग्नुभएको थियो ।

“कोही केटा मन पराकी छेस् भने भन् है” केटाको परिवार मलाई माग्न आएको साँझ बुवाले मलाई सोध्नु पनि भएको थियो । अहिले लाग्छ बुबाको त्यो प्रश्न बेतुकको थियो सायद । स्कुल अनि कलेज छँदा ‘पढ्नमा मन गर्नु, ठुलो मान्छे हुनुपर्छ, सभ्य र भलाद्मी हुनुपर्छ’ भनेर सिकाउने बुवाले ‘कोही केटा मन पराकी छेस् ?’ भनी सोध्दा बेतुक झैं लागेको थियो मलाई बुबाको त्यो प्रश्न ।

विवाह पछिका केही महिना त रमाइलै गरी वितेका थिए । पतिनै जीवन र भविष्य हो भन्ने सोचाई राखेको थिएँ । नारी, सरिता, गृहलक्ष्मी र गृहशोभा जस्ता मासिक पत्रिकाहरु पढेर नयाँँ–नयाँँ रेसिपिको साथ उसलाई भोजन पनि गराउँथें । तर कति चाँडै उसमा बदलाव आएको होला । ‘वाह ! कति मिठो पकाएको’ भन्ने वाक्य शुरुशुरुका दिनको जस्तै गरी आज पनि सुन्न लालाइत छु । मात्र एक वाक्य त हो नी । तर अहँ, सायद सम्झौता रहेछ जीवन । कहिलेकाहिँ त यस्तो लाग्छ कि सम्झौता भन्ने कुरा मैले मात्र किन गर्नुपर्ने होला ? सधैं पुरुष नै माथि किन हुन्छ ? नारीले मात्र धर्ती बनेर सहिरहनु पर्ने हो र ?

वास्तवमा एउटी नारीले आफ्नो पतिबाट चाहने भनेको अभिभावकत्वको हिसावले आफ्नो पति बुबा जस्तै होस् जसले जुनसुकै समस्यामा पनि ढाल बनेर आफ्नो रक्षा गरोस् भन्ने हो । सानातिना गल्तीहरुलाई नजरअन्दाज गर्दै सुधार्ने मौका देओस्, आमाले झैं हरेक कुराको ख्याल राखोस्, कोमल होस् अनि भावना बुझेर साथीजस्तै गरी जिस्कियोस्, चलोस्, गालि गरिहाले पनि मिठो गालि गरोस् ताकि फकाउन मजा आओस् भन्ने हो । एउटी नारीले पत्नीको रुपमा श्रीमानबाट चाहने यिनै त हुन् नि ससाना कुरा । यही साना–साना कुरा पूरा भए त खुसी भैहालिँदो रैछ नि । सायद मैले पनि आफ्नो श्रीमानसँग यही कुरा चाहेको थिएँ ।

अस्ति भर्खरकै मात्र कुरा हो ऊसँग बजार जाँदा उसको आँखा र ध्यान चाहिँ सडकको पल्लोपट्टि हिँडिरहेकी केटीमा भएको चाल पाएँ । हेर्नु नराम्रो त होइन तर कुरा नियतको हो । मैले के सम्म गरेको छैन र उसका लागि । खुम्चिएको लुगामा अफिस नजाओस्, उसलाई सवैले राम्रो देखुन् भनेर उसका लुगामा आइरन लगाइदिने गरेकै थिएँ । समयमै धोइदिने गरेकै थिएँ । उफ्… लुगा मात्र कहाँ हो र, कति चोटि त कछाड पनि धोइदिएको छु । कति भाडाको घरमा मात्र बस्नु भन्ने सोचेर ऋण नलाग्ने गरी एउटा सानो घर बनाउनका लागि विवाहमा बुबा–आमाले दिनुभएको सिक्री, औंठि अनि तिलहरी बेचिदिएकै थिएँ । यहाँसम्मकी, बुवाले मलाई आर्थिक समस्या नपरोस् भन्दै सुटुक्क राखिदिएको फिक्स्ड डिपोजिट पनि तोडाइदिएँ । छोरा जन्मेपछि मलाई माया गर्लान् भनेर चित्त बुझाउन नखोजेको पनि होइन तर ऊ भने दिन प्रतिदिन मेरो सहनशिलतालाई कमजोरी ठान्दै मलाई हेप्ने गरिरहेको छ । के उसले आज कमाएको पैसा अनि उसको सफलताको पछाडि मेरो चाहिँ केहि हात छैन् ?

अस्ति दिउँसो मैले ‘पाइन्ट लगाऊँ ?’ भनी सोध्दा उसले मलाई कम्ती गिज्याएन । म पाखे देखिन्छु रे, सुहाउँदैन रे, मोटि भएँ रे, केके हो केके । उसका अफिसका महिला कर्मचारीहरु स्मार्ट छन् रे, आधुनिक छन् रे । सायद त्यही भएर नै होला अचेल ऊ म सँग घुम्न त्यति मन पनि गर्दैन ।
उ पनि म जस्तै बि.बि.एस. त पास हो नि । मलाई जागिर नखाऊ भनेर उसैले हो कर गरेको । जागिर खान दिएको भए म पनि खान सकिहाल्थेँ नि । यदी त्यस्तो हुन्थ्यो भने त म पनि ऊ जस्तै पोस्टमा पुग्न सक्थेँ नै होला । अनि त भै हाल्थेँ नि उसका अफिसका महिला कर्मचारी जस्तै स्मार्ट । म यदी पाखे देखिएको छु भने मलाई यस्तो बनाएको उसैले हो ।

छोराछोरी हेर, थाङ्ना धोऊ, घर सफा राख, सासु, ससुरा अनि नन्दको विचार गर, एउटा महिलाको कम काम हुन्छ दिनभरी ? उफ् ….रातमा पनि उसको चित्त बुझाउनु रे । तर के गर्नु, यति विधि गर्दा पनि मेरो आफ्नो भन्ने के नै छ र ? माइतीमा हुन्जेल बुवाको छोरी भएर त्यै परिचयमा बाँचियो, बिहे पश्चात् सिउँदो आफ्नो तर सिन्दुर उसको नामको, थर गोत्र उसको नामको, गर्भ आफ्नो तर सन्तान उसैको, यहाँसम्मकि घरको बिजुली, टेलिफोन, केवल, नेट सबै उसैको, मेरो त भन्नु के नै पो रहेछ र ।

हिजो साँझकै मात्र कुरा हो, थकाइ लागेर यसो पल्टिँदै टि.भि.को रिमोट मात्र के समातेको थिएँ खाउँलाझैं गरेर रिमोट खोस्दै “घरमै बस्यो, काम केही नगर्यो, दिनभरी हल्लियो, फोकटको खायो” भन्दै करायो । म पनि त भन्न सक्थेँ नि यो मेरै माइतीले दिएको दाइजो हो भनेर । तर किन बेकार द्वन्द निम्त्याउनु, चुप लागेँ । मेरो समझदारीलाई उसले दिन प्रतिदिन कमजोरी ठानिरहेको छ । किन घर गृहस्थी सम्हालेकी नारीले इज्जत पाउँदैनन् ? माइतिले पाल्न नसकेकोले गर्दा नारीले पुरुषको सहारा लिन्छन् भनी किन बुझ्छन् पति भनाउँदाहरु ?

आज विहान मेरा आँखा चाँडै उघ्रिए । ओछ्यानमै पल्टिएर मनमा कुराहरु खेलाउँदै गर्दा अचानक एउटा निर्णयमा पुगेँ र जुरुक्क उठेँ । सदा झैँ सरिता, गृहलक्ष्मी, गृहशोभा लगायतका नारीप्रधान पत्रिका पढ्न आज मन लागेन बरु एउटा दैनिक पत्रिका किनेर ल्याएँ र भित्री पृस्ठको एउटा विज्ञापनमा टक्क आँखालाई अड्याएँ, जहाँ ‘कर्मचारी आवश्यकता’ भनेर छापिएको थियो । पत्रिकाहरुमा भ्याकेन्सी त सधैँ नै छापिएकै हुन्थे तर सायद मेरा आँखा र हिम्मत मात्र त्यहाँसम्म नपुगेका रहेछन् ।

वर्षौं देखि दराजमा थन्क्याएर राखेको आफ्नो सबै शैक्षिक प्रमाणपत्रहरु झोलामा राखेर विहानको १० बज्नै लाग्दा घर वाहिर निस्किएँ । म पहिलो पल्ट केही नभनी आत्मविश्वासका साथ हिँड्न लागेको देखेर श्रीमान् अचम्मित भए अनि एकटकले हेरिरहे । उनको आँखामा एउटा प्रश्न प्रष्टै देखियो – “कता जान लागेको ?”
म पनि टक्क अडिएँ र उनीसँग आँखा जुधाउँदै आत्मविश्वासका साथ आखैंबाट जवाफ फर्काएँ, “तिम्री पाखे श्रीमती आज अलिकति हिम्मत गरेर इन्टरभ्यु दिन जाँदैछे ।”

बिराटनगर–५, हाल तेह्रथु
फोन: ९८५२०३६३११

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.