श्रमिक वेदना

  २०७७ जेठ १७ गते ७:११     वासु गौतम

 
  चुहिन्छन् पसिना हाम्रा दिनहुँ झरना सरि
   खिइन्छन् तनका हड्डी खान पुग्दैन तैपनि !
   उज्यालो भुइँमा खस्ता थाल्यो जोतिन काममा
   आधा रात हुँदासम्म आराम हुन्न ज्यानमा !!
   सधैं असारको पन्ध्र, हुन्न फुर्सदको क्षण
   पेट पाल्नै सधैं गाह्रो बढ्दैछ गरिबी झन !
   शिक्षा स्वास्थ भए स्वप्न छैनन् पहुँचमा कुनै
   न्याय भो कल्पनामात्रै घटेन दासता अझै !!
   बढ्छ बजारमा भाउ सेवा वस्तु सबैतिर
   बढ्दैन श्रमको मूल्य झाँगिदै जान्छ शोषण !
   हाम्रो श्रम डकार्दैछन् ठालुहरू बसीबसी
   अवस्था बिग्रदो हाम्रो रातोदिन खटे पनि !!
   हाम्रो नाम भजाएर सत्तामा उक्लिए कति
   योजना बुनिए लाखौं हाम्रो उन्नतिका पनि !
   हाम्रो चर्चा भयो धेरै गोष्ठी भेला जताततै
   किन्तु भलाइका निम्ति काम शून्य भए सधैं !!
   हाम्रैनिम्ति खुले भन्छन् संघसंस्था धमाधम
   छन् रे कानूनका ठेली हाम्रै उन्नति खातिर  !
   पक्ष विपक्ष सत्ताका भिडन्तमा जुटे अरे
  कठै! हाम्रो अवस्था यो सुध्रिएन कसै गरे !!
                                     पोकली, ओखलढुंगा

2 comments on "श्रमिक वेदना"

  • Hutaraj Gautam says:

    सुन्दर रचना दाइ

  • Bhola Mani Dahal says:

    सुन्दर रचना बासु सर । कलम यसरी नै चलिरहोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.