बजेटबाट खुसी भएनन् लगानीकर्ता, भन्छन्- हामी आशावादी थियौं, तर…

  २०७७ जेठ १६ गते ११:०५     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै पुँजीबजारको दायरा विस्तार गरिने बताएका छन् । उनले बजारको दायरा फराकिलो बनाई ऋणपत्रको कारोबार दोश्रो बजारमा शुरु गरिने बताएका छन् ।

साथै, उनले नेप्सेको दोश्रो बजारको कारोबारलाई पूर्ण रुपमा अनलाइन गरिने बताएका छन् । त्यस्तै, पुँजी बजारमा संस्थागत लगानी बढाउन आगामी आर्थिक वर्ष स्टक डिलर सञ्चालनमा ल्याइने उनले जनाएका छन् ।

त्यसैगरी, बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले वस्तु विनिमय बजार सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था मिलाइने र नेपाल धितोपत्र बोर्ड, नेप्से, सीडीएससीको संरचनात्मक सुधार गरिने बताएका छन् ।

उक्त बजेटमा प्रतिक्रिया दिँदै लगानीकर्ताहरुले यो बजेटले पुँजीबजारको लागि औपचारिकताको लागि मात्र सम्बोधन गरिएको बताएका छन् । कोरोना माहामारीले प्रभावित भएको यस क्षेत्रको लागि सामान्य सामान्य कुरापनि सम्बोधन नभएकोमा उनीहरु निकै निराशावादी देखिन्छन् ।

अर्थतन्त्रको ऐना मानिने सेयर बजारलाई बजेटले प्राथमिकतामा राख्न नसकेको उनीहरु बताउँछन् । यसैबीच बजारका बारेमा जानकार तथा लगानीकर्ताको प्रतिक्रिया के छ भनेर हामीले यो सामग्री तयार गरेका छौं ।

छोटेलाल रौनियार, अध्यक्ष- नेपाल इन्भेष्टर्स फोरम

आगामी आर्थिक वर्षको बजेट खल्लो लागेको छ । कोभिड १९ को समस्यामा राहात प्याकेजहरु आउला भन्ने आशा गरिएको थियो । अरु कुरा छोडौं, हाम्रो प्रमुख माग नै सम्बोधन भएन । जुन कि पुँजीगत लाभकर ५ प्रतिशतलाई फाइनल गराउने तथा अल्पकालिन र दीर्घकालिन लगानीकर्तालाई करमा छुट्टै व्यवस्था गराउने जस्ता हाम्रा माग रहेको थियो । तर यस्तो कुनै पनि कुरा समेटिएन । हामीले आर्थिक प्याकेज ल्याउ भनेका थिएनौं, भएका कुरामा केहि सुविधा तथा खुकुलो खोजेका थियौं ।

अर्थतन्त्रको ऐना मानिने पुँजीबजारको विषयमा लगानीकर्ता खुसी हुने विशेष केहि पनि भएन । अर्थमन्त्रीले पुँजीबजार प्रति सकारात्मक छ, दोहोरो करको विषयमा सम्बोधन गर्छु भन्नुभएको थियो, तर कन्जुस्याई गर्नु भयो । त्यसैले बजेट खल्लो लाग्यो । लगानीकर्तामा खुसी छाउने कुरा केहि पनि छैन ।

यद्दपि, ऋणपत्र दोश्रो बजारमा कारोबार हुने लगायत विद्युतीय माध्यमबाट सेयर कारोबार गराउने भन्ने पक्ष राम्रो छ ।

राधा पोखरेल, अध्यक्ष- नेपाल पुँजीबजार लगानीकर्ता संघ

सेयर बजारको लागी आगामी आर्थिक वर्षको २०७७/७८ को बजेट ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ भने झै भएको छ । आगामी आर्थिक वर्षदेखि डिलर शिपको व्यवस्था गरेको भन्दा बाहेक एउटा पनि पुँजी बजारको विकास र विस्तारको लागी कार्यक्रम यो बजेटमा परेको छैन ।

विद्युतीय कारोबारको दायरा विस्तार गरिने भन्ने चालु आ.व. मै भएको व्यवस्थाको लागी थप समय खर्चेको जस्तो लाग्यो । खासै आगामी बर्षको बजेटबाट आम लगानीकर्ता लाभान्वित नहुने र यो बजेट महत्वकाक्षी रहेको छ ।

अर्थतन्त्रको ऐना मानिने सेयर बजारलाई बजेटले प्राथमिकतामा राख्न सकिएको छैन । कम्तिमा केहि महिनाको भए पनि निश्चित अंकसम्म ऋण र ब्याज मिनाहा गरिदिएर अर्थात् अहिलेको संकटको समयमा आर्थिक प्याकेज घोषणा गरेर मल्हमपट्टी लाउँनेछ र सेयर लगानीकर्तालाई ढुक्क बनाउँछ भन्नेमा हामी आशावादी रहेको थियौं । तर केही पनि भएन ।

हरि ढकाल, अध्यक्ष- सेयर लगानीकर्ता दवाव समूह

बजेट पुँजीबजारका लगानीकर्ताको लागि निराशाजनक रहेको छ । सम्बोधन गर्नु परिने सामान्य कुराहरु पनि सम्बोधन भएन । पुरानै कुराहरु दोहोर्याईएको छ । जुन कुरा वर्षौ अघिदेखि गर्नुपर्ने कामहरु थियो त्यसमै टुङ्ग्याईएको छ ।

पुँजीबजार क्षेत्र पनि कोभिड-१९ ले प्रभावित छ भनेर लगानीकर्ताको मनोबल बढ्ने खालको केही पनि सम्बोधन भएन ।

मार्जिन कलको सीमा बढाइने छ भन्ने थियो, त्यो भएन । आशा गरौं, मौद्रिक नीतिसम्म कुरौं । त्यसबाट केही सम्बोधन होला कि ।

One comment on "बजेटबाट खुसी भएनन् लगानीकर्ता, भन्छन्- हामी आशावादी थियौं, तर…"

  • sarala Simkhada says:

    यो अर्थ मन्त्रीबाट शेयर बजारले कुनै आशा र अपेक्षा राख्नु बेकार छ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.