आत्मनिर्भर अर्थतन्त्रलाई साकार पार्न महिला उद्यमशीलताको विशेष भूमिका

  २०७७ जेठ ५ गते १५:३७     कोपिला अर्याल

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको असर अन्तराष्ट्रिय श्रम बजारमा एकदमै नकारात्मक परेको छ । विश्वका विभिन्न मुलुकहरुको विकास खर्चमा भारी कटौती गर्दा श्रम गन्तव्य राष्ट्रहरुमा श्रमिकको माग एकदमै न्युन भएको छ र कतिपय राष्ट्रले श्रमिक कटौती गर्दा स्वदेशमा फिर्ता गर्ने अभियान समेत चलाएका छन् । यसले गर्दा नेपाल जस्तो अल्प विकसित राष्ट्र जसको विप्रेषणको हिस्सा जीडीपीमा महत्वपूर्ण हुने राष्ट्रलाई प्रतिकुल असर गरेको छ । विप्रेषणमा आएको कमीले नेपालको विदेशी मुद्रा सञ्चिति तथा अन्तराष्ट्रिय व्यापारमा नकारात्मक असर पर्न गई देशको अर्थतन्त्रमै गम्भीर समस्या पर्न सक्दछ ।

नेपालमा वैदेशिक रोजगारीले बढेको विप्रेषण आप्रवाहले आम मानिसको जीवनस्तर उकासेको छ । महिलाहरु हाल उद्यमशीलता तथा व्यवसायमा त्यति आकर्षित भएको पाइदैन । विप्रेषणबाट आउने रकम घर खर्च तथा दैनिक जीविकोपार्जनमा अधिक खर्च हुने र पुँजीगत खर्च तथा बचत कम रकम हुने हुनाले समेत विप्रेषणबाट आएको रकम सही ठाउँमा सदुपयोग नभएको हो कि भन्ने आभाष हुने गरेको छ । विप्रेषण आप्रवाहले सामाजिक जीवन भड्किलो बनाएको छ र यसले महिलाहरुलाई उद्यमशीलता तर्फ आकर्षित गर्ने भन्दा पनि घर व्यवहार र पारिवारिक हेरचाहमै सीमित गरेको छ । यसले भविष्यमा महिलाहरुको जीवनमा गम्भीर असर गर्ने निश्चित छ ।

लेखक

वर्तमान अवस्थामा नेपालमा दैनिक घरयासी प्रयोजनमा प्रयोग हुने सामानहरुको आयात बढ्दो छ । यसले प्रत्येक वर्ष अर्बौको रकम विदेश पलायन हुने स्थिति छ । घरेलु तथा मझौला उद्योगबाट उत्पादन हुने सामानहरुको उत्पादनमा महिलाहरुको सहभागिताले महिलामा उद्यमशीलता बढ्ने साथै सामाजिक कुरिति तथा पारिवारिक बेमेलको समस्या समेत निकारण भई महिला उद्यमशीलताले समाजमा दोहोरा प्रभाव पार्ने निश्चितै छ ।

नेपाल सरकारले २०७७/७८ को नीति तथा योजना संसदमा भर्खरै पेश गरेको छ र यसमा संसदको पूर्ण बैठकमा एजेण्डाको रुपमा विशेष छलफल भैरहेको छ । सरकारले पेश गरेको नीति तथा कार्यक्रममा कृषि उत्पादनलाई आधुनिकीकरण गरी दश वर्षमा दोब्बर गर्ने लक्ष्य लिएको छ । साथै, फजुल खर्च रोक्ने, वित्तीय अनुशासन कायम गर्ने, रोजगारी गुमाएका नागरिकहरुको सदुपयोगिता गर्ने, रोजगारी श्रृजना गर्ने र आम्मनिर्भर अर्थतन्त्रको विकास गर्ने लक्ष्य प्राथमिकताको साथ पेश गरेको छ । यसर्थ सरकारले कल्पना गरेको निश्चित छ ।

राष्ट्रिय योजना आयोगले नवप्रवर्तन शुरुवाती पुँजी अनुदान प्रदान गर्न भर्खरै मात्र सुचना जारी गरेको छ । विभिन्न व्यवसायको नविनतम ज्ञान, सीप, योजना तथा क्षमता भएका र स्वपुँजी नभएको युवाहरुलाई उद्यमशीलता तर्फ आकर्षण गर्न सरकारले शुरुवाती पुँजी अनुदान दिने निर्णय गरेको छ । साथै नेपाल सरकारले महिला उद्यमशीलता कर्जामा छ प्रतिशत व्याज अनुदान दिएर पन्ध्र लाखसम्म कर्जा सरल ढंगले प्रवाह गर्ने व्यवस्था मिलाउन बैंक वित्तीय संस्थाहरुलाई निर्देशन समेत जारी गरिसकेको अवस्थामा स्वपुँजी नभएर महिलाहरु उद्यमशीलतातर्फ आकर्षित नहुने समस्या निराकरण हुने निश्चित प्राय नै छ ।

नेपाल सरकारले महिलाद्धारा उत्पादन गरिएको वस्तु तथा सामानहरुको बजार व्यवस्थापन गर्नु पर्दछ । बजारमा केही लागत महंगो भएता पनि उत्पादन भएका वस्तुको बिक्रीको जिम्मेवारी सरकारले लिएर महिलाहरुलाई उद्यमशीलता तर्फ आकर्षण गर्न सकिएमा घर भान्सा र पारिवारिक माहोलमा सीमित भएको महिलाहरुले देशको अर्थतन्त्रमा समेत ठुलो हिस्सा योगदान गर्न सक्नेछन् । साथै महिलाहरुले विभिन्न नियमाक निकायहरुबाट झेल्ने समस्याहरुको समाधान गर्न समेत सरकारले विशेष ख्याल गर्नुपर्ने देखिन्छ ।

हाल नेपाल सरकार २०७७/७८ को बजेट तयारीमा तिव्र रुपमा लागि रहेको छ । हाल महिलाको नाममा दर्ता भएको व्यवसायहरुको दर्ता तथा नविकरण शुल्कमा केही राहात भएता पनि व्यवसायिक प्रतिष्ठान र महिलाद्धारा संचालित सामान्य घरेलु व्यवसायले तिर्नु पर्ने कर रकम बराबर रहेको छ । यसतर्फ विशेष ध्यान दिई महिलाद्धारा प्रवर्तित व्यवसायमा केही कर छुट तथा राहात दिएमा समेत महिलाहरुलाई उद्यमशीलता तर्फ आकर्षित गर्न सकिने छ ।

यसर्थ हालको प्रतिकुल अवस्थामा देशको अर्थतन्त्रले नै समस्या भोगिरहेको र आन्तरिक उत्पादन न्युन तथा आयात केन्द्रित अर्थतन्त्रलाई उत्पादनमुखी र निर्यातमुखी बनाउन महिला उद्यमशीलता विकास गर्ने उपयुक्त समय हो । विभिन्न राष्ट्रले श्रमिक कटौती गर्दा देशमा बेरोजगारी बढ्न गई सामाजिक विचलन आउन सक्ने र समाजमा पर्ने नकरात्मक असर न्युनिकरणको लागि समेत महिलालाई घरेलु तथा मझौला उद्योग तर्फ आकर्षण गर्ने र निर्वामुखी खेती प्रणालीबाट आधुनिक कृषि प्रणाली तर्फ परिवर्तन गरी महिला उद्यमशीला विकास गर्न सके अहिलेको विशम परिस्थिति देशको लागि सुवर्ण अवसर बन्न सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.