सरकारकाे अनुमति पाउने वित्तिकै चुनढुंगा संकलनमा जुटे सिमेन्ट उद्याेग

  २०७७ जेठ ५ गते १२:०६     विकासन्युज

काठमाडौं । सरकारले उद्याेग संचालनकाे अनुमति दिए लगत्तै सिमेन्ट उद्याेगहरू चुनढुंगा संकलनमा जुटेका छन् । वर्षायाम सुरू हुनअघि नै चुनढुंंगा संकलन गरिसक्नु पर्ने भएकाेले सिमेन्ट उद्याेगले चुनढंगा संकलनमा बढी जाेड दिएका हुन् ।

वर्षायामको समय हुनुभन्दा अगाडी नै आउँदो मंसिरसम्मका लागि आवश्यक पर्ने चूनढुंगा संकलन गर्नुपर्ने सिमेन्ट उद्योगहरू बताइरहेका छन् । सरकारले लकडाउन केही खुकुलो गरेर संचालन गर्न दिने भनेका  ४४ प्रकारका उद्योगमा सिमेन्ट उद्याेग पनि परेका छन् ।

गत वर्षको चैत ११ गतेदेखि जारी लकडाउन यो वर्षको २६ वैशाखसम्म सबै अति अवाश्यक बाहेकका उद्योग कलकारखाना बन्द थिए । २६ वैशाखदेखि सरकारले कलकारखाना सञ्चालन गर्ने निर्णय गरेको थियो । सरकारले कलकारखाना सञ्चालन गर्ने निर्णय गरेपछि पनि दिएको पास २ पटक रद्ध गरिसकेको छ । अब भने उद्योग विभागले पास वितरण सुरु गरेको छ । सरकारले उद्योग सञ्चालन गर्न लकडाउन खुकुलो पार्ने निर्णय गरेपछि सिमेन्ट उद्योगीहरू उत्साही भएका थिए ।

उद्योग खोलेर सिमेन्ट उत्पादन गरी बजार पठाउ भन्दा पनि सिमेन्टको कच्चा पदार्थ चूनढुंगाको खानी सञ्चालन गर्न पाइने भएकाले उनीहरू उत्साही भएका थिए ।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाले नेपालका सिमेन्ट उद्योगहरुमध्ये अधिकांशले आफैँ चूनढुंगाको खानी सञ्चालन गर्ने गरेको बताए । चूनढुंगा उत्खनन् नगर्ने उद्योगहरुले अन्य उद्योगको खानीबाट चूनढुंगा किनेर सिमेन्ट उत्पादन गर्दै आएका छन् ।

‘उद्योग विभागमा १ सय २० वटा सिमेन्ट उद्योग दर्ता भएका छन्, त्यसमध्ये अहिले ६१ वटा मात्रै सिमेन्ट उद्योग सञ्चालनमा छन् । ६१ वटा सिमेन्ट उद्योगमध्ये २१ वटाले खानीबाट चूनढुंगा उत्खनन् गर्छन्’, थापाले भने ।

सिमेन्ट उद्योगदेखि चूनढुंगा खानीबीचको दूरी लामो छ । उद्योगदेखि खानीसम्म जाने बाटो भएकाले वर्षा सुरुभएपछि चूनढुंगा संकलन गर्न समस्या हुन्छ । वर्षायामभन्दा अघि नै उद्योगहरू चाहिने र अन्य उद्योगलाई बेच्ने चूनढुंगा संकलन गरिसक्नुपर्छ । उद्योगहरूले अघिल्ला वर्षमा आउने मंसीरसम्म पुग्नेगरी चूनढुंगा संकलन गरेर राख्ने गरेका थिए । विश्वभर कोरोना फैलिदै जादा नेपालमा लकडाउन सुरु भयो । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले ११ चैतदेखि लकडाउनको घोषणा गरेपछि कच्चा पदार्थ संकलनको काम ठप्प भएको थापाले बताए ।

उद्योगी पशुपति मुरारकाले बर्षा सुरु हुन लागेकाेले समयमा नै चूनढुंगा संकलन गर्नुपर्ने बताए । अबको केही दिनभित्र नै आगामी ६ महीनाको लागि आवश्यक पर्ने सिमेन्टको कच्चा पदार्थ संकलन गरिसक्नुपर्ने चूनौती आएको बताए । संघका अनुसार गत वर्ष नेपालमा एक करोड टन सिमेन्ट खपत भएको थियो । गत वर्ष नै नेपालका सिमेन्ट उद्योगहरूको उत्पादन क्षमता बढेर एक करोड ६० लाख टन पुगेको थियो ।

आगामी आर्थिक वर्षमा भने नेपाल सिमेन्टमा भारतसँग निर्भर हुनुपर्ने चिन्ता बढ्दै गएको उद्योगीहरू बताउछन् । चूनढुंगा संकलन गरिसक्नुपर्ने पर्ने समय चैत र वैशाखमा काम गर्न नपाइएकाले यस्तो चुनौती बढ्दै गएको हो ।

सिमेन्ट उद्योग संघका अध्यक्ष थापाले आगामी वर्ष नेपालमा हुने खपतको परिणाम बढे परनिर्भता बढ्ने निश्चित रहेको बताए । वर्षभरि नै लकडाउन कायम रहेर निर्माण क्षेत्रका काम ठप्प भए माग घट्ने र उत्पादन पनि घट्दा खासै समस्या आउदैन ।

नेपाल सिमेन्टमा आत्मनिर्भर भए पनि सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने जिप्सम र कोइला लगायतका कच्चा पदार्थ भने केही मात्रामा आयात हुँदै आएको छ । बजार ठप्प रहेको अवस्थामा उद्योगबाट सिमेन्ट उत्पादन गर्न आवश्यक नरहेको सिमेन्ट उद्योगीहरु बताउछन् । सिमेन्ट उद्योगहरूले आंशिक क्षमतामा सिमेन्ट उत्पादन थाल्ने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.