प्रवेशाज्ञाको म्याद सकिएकै कारण कानूनी जटिलता व्यहोर्न पर्दैन : परराष्ट्रमन्त्री ज्ञवाली

  २०७७ वैशाख ३० गते ८:०५     विकासन्युज

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रोजगारीलगायत विभिन्न पेशा र व्यवसायमा गएका नेपालीको प्रवशाज्ञा (भिसा) को म्याद सकिएकै कारणले कसैले पनि विदेशमा कानूनी जटिलता व्यहोर्न नपर्ने बताएका छन् ।

सङ्घीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यन्वयन, अनुगमन तथा मूल्याङकन समितिको  बैठकमा उनले विदेशमा कोरोना सङ्क्रमित नागरिकलाई सम्बन्धित देशको नागरिकसरह नै उपचारको व्यवस्थाका लागि तत्तत् देशलाई आग्रह गरिएकाले उपचारमा समस्या कहीँकतै नदेखिएको बताएका हुन् ।

मन्त्री ज्ञवालीले भने, “खानेबस्ने प्रबन्ध मुख्यरूपमा रोजगारदाताले गरेका छन्, केही ठाउँमा रोजगारदाता भागेको अवस्थामा गैरआवासीय नेपाली सङ्घ, स्थानीय च्यारेटी सङ्घ र दूतावास मिलेर सक्दो सहयोग गराइरहेका छन् । यद्यपि सबै ठाउँमा सबै ठिक छ भन्ने होइन । प्रवेशाज्ञाको म्याद सकिए पनि कानूनी झन्झट व्यहोर्नुनपर्ने व्यवस्था मिलाइएको छ ।”

कोभिड–१९ का कारण बिस्तारै रोजगारी गुमाउनेको सङ्ख्या बढ्दै गएको बताउँदै उनले नेपालीहरुले आफ्नो देश फर्कन पाउनुपर्छ भन्नेमा सरकार सचेत छ भने । कोरोनाको महामारीपछि उत्पन्न परिस्थितिका कारण नेपाल फर्कने नेपालीको सङ्ख्या ५ लाख ८८ हजार ७ सय हुनसक्ने अनुमान गरिएको सो अवसरमा जानकारी दिइयो ।

खाडी मुलुकबाट ३ लाख २५ हजार र बाँकी भारतबाट नेपाली नागरिक फर्कने अनुमान छ । तीमध्ये तत्काल ल्याउन पर्ने सङ्ख्या २ लाख १० हजार ८ सय ७१ रहेको मन्त्रालयले जानकारी दियो । फर्कन चाहनेको प्राथमिकता निर्धारण र ल्याएपछि कहाँ–कसरी क्वारेन्टाइनमा राखेर व्यवस्थापन गर्ने चुनौती छ ।

स्वदेश फर्कन चाहनेलाई कसरी ल्याउने, कुन क्वारेन्टाइनमा राख्ने र त्यसपछि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारले गृहकार्य गरिरहेको मन्त्री ज्ञवालीले बताए । अहिले मुलुकमा तयार गरिएका ३५ हजार क्वारेन्टाइनमध्ये २५ हजार भरिएका छन् ।

एकैसाथ धेरै नेपाली स्वदेश फर्केमा क्वारेन्टाइनकै समस्या हुने अनुमान गरिएको छ । उनले भने, “एकैपटक ठूलो सङ्ख्यामा नेपाली फर्कने हो भने तयारी र व्यवस्थापनमा उलटपुलट हुनेछ । यद्यपि आवश्यक तयारी गरेर ल्याइने हुनाले व्यवस्थापन गर्न सरकार सक्षम हुनेछ ।” रोजगारी गुमाएर स्वदेश फर्केकालाई रोजगारीमा कसरी जोड्ने भन्ने अर्को चुनौती हो । नेपालको कूल जनसङ्ख्याका १५ प्रतिशत जनसङ्ख्या मुलुकबाहिर छ । कूटनीतिक निकाय र नियोगबाट प्राप्त जानकारीअनुसार विश्वका १ सय ९ मुलुकमा ६४ लाख ६३ हजार ३ सय ७३ नेपाली विभिन्न पेशा र व्यवसायमा छन् । विभिन्न २१ मुलुकमा १० हजारभन्दा बढी नेपालीको सङ्ख्या छ । प्रवासमा रहेकामध्ये ठूलो सङ्ख्या श्रमिक छन् ।

विश्वका १२ मुलुकमा श्रम सम्भौताका आधारमा रोजगारीका लागि गएका नेपालीको सङ्ख्या १२ लाख ११ हजार ९ सय २४ रहेको छ । वैदेशिक रोजगारीमा घरमा काम गर्न विभिन्न माध्यमबाट गएकाले उनीहरुको यकिन तथ्याङ्क नरहेको मन्त्रालयले जनाएको छ । यसअघि बैठकमा सांसदहरूले मुलुकको आर्थिक विकासमा विप्रेषणका माध्यमबाट ठूलो योगदान पुर्याउँदै आएका अहिले अप्ठेरोमा परेर घर फर्कन चाहने नेपालीलाई तुरुन्त स्वदेश फर्काउने व्यवस्था गर्न सुझाव दिए ।  रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.