स्थानीय तहमा १ सय २० औद्योगिक ग्राम थप्ने सरकारको तयारी

  २०७७ वैशाख २८ गते १३:२५     राजाराम न्यौपाने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा लागि स्थानीय हतमा १ सय २० वटा औद्योगिक ग्राम निर्माण गर्ने भएको छ । औद्यागिक ग्राममार्फत रोजगारी सिर्जना गरी स्थानीय तहमा अर्थतन्त्र मजबुत गराउने योजनामा सरकार लागेको हो ।

सरकारले स्थानीय तहसँगको समन्वयमा स्थानीय तहको अर्थतन्त्र माथि उठाउने लक्ष्यसहित आगामी वर्षको नीति तथा कार्यक्रममा औद्योगिक ग्रामलाई प्राथमिकता दिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १ सय २० वटा औद्योगिक ग्राम स्थापना गर्ने लक्ष्यसहितको प्रतिवेदन सिफारिस गरेको छ ।

स्थानीय तहमा स्थापना हुने नयाँ औद्योगिक ग्राममा स्थानीय तहको स्रोत साधनको प्रयोग हुनेछ । औद्योगिक ग्राममा कृषि उत्पादनको प्रशोधनमा युवाहरूलाई जोडेर रोजगारी दिइने छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकाे योजना, अनुगमन तथा मुल्यांकन महाशाखाका सहसचिव ध्रुव घिमिरेले स्थानीय तहको अर्थतन्त्र बलियो बनाउन र रोजगारी दिने गरी योजना ल्याउन लागिएको बताए । मन्त्रालयको योजनामा स्थानीय तहमा भएको कच्चा पदार्थलाई प्रयोग गरेर युवालाई रोजागारी प्रदान गर्ने प्रमुख लक्ष्य लक्ष्य राखिएको उनकाे भनाइ छ । सरकारले यस आर्थिक वर्षमा ७० वटा औद्योधिक ग्राम स्थापना गर्ने लक्ष्य लिएको थियो । अहिलेसम्म ३७ वटा औद्योगिक ग्रामको काम अघि बढेको छ ।

केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहको संयुक्त सहकार्यमा स्थापना गरिने नयाँ औद्योगिक ग्राममा बिजुली, पानी, बाटो केन्द्रीय सरकारले बनाइदिने छ । औद्योगिक ग्रामका लागि आवश्यक पर्ने जग्गाको व्यवस्थापन भने स्थानीय तहले गर्नेछ । निजी क्षेत्रले पनि स्थानीय तहसँग समन्वय गरी जग्गा खोजेर औद्योगिक ग्रामको स्थापना, विकास तथा सञ्चालन गर्न पाउने छ ।

ग्राममा साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्ने गरी योजना तयार भएको सहसचिव घिमिरेले बताए । देशका विभिन्न स्थानमा खानी उद्योग सञ्चालन गर्ने, स्वदेशमै रासायनिक मल कारखाना स्थापना, पेट्रोलियम उत्खनन्, फलाम तथा खानी उद्योग सञ्चालन गर्ने योजनासमेत मन्त्रालयले बनाएको छ ।

औद्योगिक ग्राम सञ्चालनका लागि २०७५ सालमा औद्योगिक ग्राम घोषणा तथा सञ्चालन सम्बन्धी कार्यविधि बनेको थियो । आगामी आर्थिक वर्षमा औद्योगिक पूवार्धार निर्माणमा जोड दिने मन्त्रालयको तयारी छ । उद्योग मन्त्रालयको प्रस्तावित योजनामा विषेश आर्थिक क्षेत्र जस्ता औद्योगिक क्षेत्रहरुको विकास तथा प्रबद्र्धनलाई पनि समेटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.