अब परम्परागत तरिकाले होइन, आवश्यकता अनुसार बजेट निर्माण गर्नुपर्छः चन्द्र ढकाल

  २०७७ वैशाख १६ गते १४:४९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका एसोसियट उपाध्यक्ष चन्द्र ढकालले अब सरकारले आवश्यकता अनुसारले बजेट निर्माण गर्नु पर्ने बताएका छन् । उनले कोरोना भाइरसले सम्पूर्ण क्षेत्रहरुलाई संकटमा पारेको बताउँदै अब सरकारले पनि कुन क्षेत्रमा कत्ति लगानी गर्ने भन्ने अध्ययन गरेर बजेट वाँडफाँठ तथा तय गर्नु पर्ने बताए ।

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको कारण उद्योग व्यवसाय र पर्यटन क्षेत्रमा निकै असर परेको बताउँदै उनले सरकारले बजेत निर्माण गर्दा उत्पादनशीलता र रोजगारीमा ध्यान दिनु पर्ने उनको भनाइ छ ।

‘पछिल्लो समय बैंकहरुको डिपोजिट घट्दै छ, देशलाई आर्थिक स्तरतर्फ सहयोग गर्ने रेमिट्यान्समा पनि धेरै नोक्सान हुने सम्भावना छ, सरकारले औचित्य र आवश्यकता हेरेर बजेट निर्माण गर्नु पर्छ,’उनले भने ।

अहिले विदेशबाट धेरै युवाहरु स्वदेश फर्किसकेकोले उनीहरुको सीपको पहिचान गरी उनीहरुको सीप अनुसारको रोजगारीमा उनीहरुलाई व्यवस्थापन गर्नु पर्ने उनको भनाइ छ । ‘विदेशबाट फर्केर आउने युवाहरुलाई व्यवस्थापन गरौं,उत्पादन क्षेत्र पहिचान गरी बजेट छुट्याऔं, अब परम्परागत तरिकाले बजेट निर्माण गर्यो भने संकट पार लगाउन सकिँदैन,’ उनले भने ।

कोरानाको कारण भएको लकडाउनले धेरै उद्योग प्रतिष्ठानहरु बन्द रहेको बताउँदै उनले अब ती उद्योग व्यवसायको रिकभर र विदेशबाट फर्केका युवालाई रोजगारी दिलाउनका लागि नयाँ बजेटले महत्वपूर्ण भूमिका खेल्ने भएकोले सबैको सहकार्य र समन्वयमा बजेट निर्माण गर्नु पर्ने उनको धारणा छ ।

उद्योगधन्दामा भएका कामदारहरुको रोजागरी कायमै गर्ने, नयाँ रोजगारीको सम्भावनालाई बढाउने र सरकारको राजश्वलाई सर्पोट गर्ने खालको उत्पादनशील क्षेत्रमा लगानी तथा प्राथमिकता दियो भने आर्थिक संकट पार लगाउन सकिने उनले बताए ।

अब आर्थिक गतिविधी रिभाइब गर्नको लागि र बन्द भएका उद्योग सञ्चालनका लागि सरकारले प्याकेज ल्याउन आवश्यक रहेको उनको भनाइ छ । ‘साना तथा मझौला उद्यमहरु बन्द नै भएको अवस्था छ, पर्यटन ठप्प छ, अब चाँडै सरकराले बजेट ल्याउने भएकाले यी क्षेत्रलाई बढी प्राथमिकता दिनु पर्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.