सकारात्मक र परिणाममुखी मार्गदर्शनको खाँचो- गोविन्द प्रसाद ढकाल

  २०७७ वैशाख १५ गते १०:२७     विकासन्युज

गोविन्द प्रसाद ढकाल- अध्यक्ष, नेपाल डेभलपमेन्ट बैंकर्स एसोसिएसन

नेपाल राष्ट्र बैंक ६४औं वर्ष पूरा गरी ६५औं वर्षमा प्रवेश गरेको छ । नेपाल सरकारको आर्थिक सल्लाहकार समेत रहेको राष्ट्र बैंक नेपालको सवैभन्दा राम्रो र प्रभावकारी नियामक निकायको रुपमा स्थापित भएको छ । नेपालको बैंकिङ क्षेत्रले जुन प्रकारको सफलता वा उचाई प्राप्त गरेको छ, त्यसमा पनि राष्ट्र बैंकको योगदान उच्च छ । त्यसैले यी सबै सन्दर्भ सम्झदै नेपाल राष्ट्र बैंकलाई ६५औं वर्ष प्रवेशको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

कोरोना भाइरस संक्रमणको कारण अहिले विश्वव्यापी आर्थिक मन्दीको अवस्था छ । यो मन्दीको बेलामा राष्ट्र बैंकले अझ सक्षम र प्रभावकारी भएर आफ्ना गतिविधि संचालन गर्नेछ भन्ने विश्वास लिएको छु । किनभने सजिलो अवस्थामा जसले पनि काम गरेको हुन्छ । तर अप्ठेरो अवस्थाको पार लगाएर सवैलाई बाच्न सकिने अवस्था सिर्जना गर्नेलाई नै दीर्घकालसम्म सबैले सम्झने हुन् । त्यसैले राष्ट्र बैंक नेतृत्वले यो संकटको समयमा लामो समयसम्म सम्झन सक्ने भूमिका निर्वाह गर्नेमा मैले कुनै शंका गरेको छैन ।

कोरोना संक्रमणको कारण उत्पन्न यो असज राष्ट्रिय तथा अन्तराष्ट्रिय परिवेश कहिलेसम्म जान्छ भन्ने यकिन छैन । अहिलेको संकटबाट अर्थतन्त्रलाई माथि उकास्न विभिन्न देशले विभिन्न प्रकारका राहत कार्यक्रम ल्याएका छन् । नेपाल सरकारले पनि विभिन्न राहत कार्यक्रम ल्याएको छ भने अझै व्यापक कार्यक्रम ल्याउनको लागि अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक जस्ता निकायले गम्भीर अध्ययन गरिरहेका छन् भन्ने समाचार सार्वजनिक भएका छन् ।

राष्ट्र बैंकले अर्काे आर्थिक वर्ष लागेपछि वा साउन लागेपछि मौद्रिक नीति ल्याउने गरेको छ । अहिलेकोे विषयम परिस्थितिमा मौद्रिक नीतिसम्म कुर्ने अवस्था हुदैन होला । कोरोना भाइरसको कारण उत्पन्न असहज अवस्थालाई सम्बोधन गर्न राष्ट्र बैंकले असारअघि नै विभिन्न निर्देशनहरु जारी गर्छ होला । राष्ट्र बैंकले जारी गरेका त्यस्ता निर्देशन र मार्गदर्शनले नेपाली उद्यम व्यवसाय जोगिने र बैंकिङ क्षेत्र पनि समस्यामा नपर्ने अवस्था आउँछ भन्नेमा म ढुक्क छु ।

विश्व बैंक, अन्तराष्ट्रिय मुद्राकोष जस्ता निकायले नेपालको आर्थिक बृद्धिदर २ देखि साढे २ प्रतिशतको हाराहारीमा हुने प्रक्षेपण सार्वजनिक गरेका छन् । राष्ट्र बैंकले सो दरभन्दा बढी हुने गरी अर्थतन्त्रलाई चलायमान गराउने कार्यक्रम ल्याउँनु पर्ने अवस्था म देख्छु ।

कोरोना भाइरसको कारण उत्पन्न असहज परिस्थितिको सामना गर्न राष्ट्र बैंकबाट के कस्ता राहत कार्यक्रम आउँछन् भन्ने चासो बढेको छ । राहत प्याकेज ल्याउँदा विशेष ध्यान दिनुपर्ने आवश्यकता मैले देखेको छु । जस्तो कि कोरोना संक्रमणको कारण नेपालको पर्यटन क्षेत्रमा गम्भीर असर परेको छ । यो क्षेत्रलाई राहत कार्यक्रम आवश्यक पर्छ । तर, कसैले आफ्नो आम्दानीमा तलब र घरभाडा देखाएर बैंक तथा वित्तीय संस्थाबाट ५० लाख रुपैयाँ ओडी कर्जा लिएको रहेछ भने त्यस्तो ऋणीलाई राहत आवश्यक नपर्न सक्छ । किनभने घरभाडा आएकै हुन्छ, तलब पाएकै हुन्छ । यस्तै, हायर पर्चेज क्षेत्रमा पनि गम्भीर असर परेको छ । त्यसैले असर धेरै परेका क्षेत्रले राहत पाउने र असर नपरेका वा कम परेका क्षेत्रलाई त्यस्तै व्यवहार गर्ने गरी गम्भीर अध्ययन र सुझबुझपूर्ण तरिकाले राहत प्याकेज ल्याउनु पर्छ ।

राहत प्याकेजको सन्दर्भमा अहिले नै पनि केही समस्या देखियो । जस्तो कि चैत मसान्तको किस्ता तिर्ने समय बढाइयो भने चैत मसान्तभित्रै किस्ता तिर्ने ऋणीलाई व्याज रकममा १० प्रतिशत छुट दिने कार्यक्रम आयो । यो राहत त्यति उचित थियो कि थिएन भनेर अहिले पनि केही वहस भएको मैले सुनेको छु । सरकारले लकडाउन घोषणा गरेको एक महिना पनि नभएको अवस्थामा कर्जाको किस्ता तिर्नै नसक्ने अवस्थामा बैंकका ऋणी थिएनन् । यसको असर त अव वैशाख, जेठ वा असरमा देखिन सक्छ । त्यसैले यो विषयमा बढी हौवा भयो । ऋणको किस्ता तिर्न नसकेर होइन, हौवा बढी भएर राहत कार्यक्रम ल्याउनु पर्ने परिस्थिति सिर्जना भयो । अवका दिनमा यस्तो नहोस् ।

कोरोना भाइरस संक्रमणबाट उत्पन्न संकट कति लामो समयसम्म जान्छ भन्ने यकिन छैन । त्यसैले गम्भीर भएर सोही अनुसारको कार्यक्रम ल्याउनु पर्छ । फेरि बैंक वित्तीय संस्थाले व्याजमा राहत दिदा निक्षेपकर्ताको विषय पनि आउँछ । त्यसैले निक्षेपकर्ताको हित संरक्षणमा पनि विशेष ध्यान दिन आवश्यक छ ।

नेपालको बैंकिङ क्षेत्रले जे जति उपलब्धी हासिल गरेको छ, यसको श्रेय नेपाल राष्ट्र बैंकलाई जान्छ । राष्ट्र बैंकले जारी गरेका नीति निर्देशनहरु बैंक वित्तीय संस्थाहरुले पालना गरेकै छन् । राष्ट्र बैंकका नीति निर्देशन पालना गरेर स्वच्छ बैंकिङ गरेकै कारण बैंक वित्तीय संस्थाहरु यो अवस्थासम्म आइपुगेका हुन् । अवका दिनमा पनि नेपालको बैंकिङ तथा समग्र अर्थतन्त्रलाई यस्तै सकारात्मक र परिणामुखी मार्गदर्शन हुने अपेक्षा राष्ट्र बैंकसँग छ । ६५औं वर्षमा प्रवेश गरेको राष्ट्र बैंकलाई फेरि पनि शुभकामना छ ।

अहिले राम्रो संयोग पनि छ । नेपाल राष्ट्र बैंकको गभर्नर डा. युवराज खतिवडा र डेपुटी गभर्नर महाप्रसाद अधिकारी भएको बेलामा राष्ट्र बैंकलाई साँच्चिकै प्रभावकारी नियामक बनाउन विशेष भूमिका निर्वाह गर्नुभयो । यी दुई व्यक्तित्वमध्ये डा. खतिवडा अहिले अर्थमन्त्री हुनुहुन्छ भने अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर बन्नुभएको छ । हिजोको दिनमा यो जोडीले राष्ट्र बैंक बनायो । अव यो जोडीको काधमा देश बनाउने जिम्मेवारी आएको छ । उहाँहरु दुबै जना मिलेर नेपालको अर्थतन्त्रलाई बलियो बनाउने, देशलाई आत्मनिर्भर बनाउन विशेष कार्यक्रम ल्याउने जस्ता अभियान संचालन गर्नसक्नु हुन्छ । उहाँहरु दुबै जनाले यो समस्यालाई पार लगाउन सक्नुहुन्छ विश्वास मैले लिएको छु ।

६५औं वर्षमा प्रवेश गरेको अवसरमा नेपाल राष्ट्र बैंकलाई फेरि पनि शुभकामना छ । नेपालको नियामक निकायहरुमा नेपाल राष्ट्र बैंक सधै नै पहिलो स्थानमा आउँछ । सुधारका गुन्जायस जहिले पनि बाँकी रहन्छ होला । त्यसैले राष्ट्र बैंक अझ बलियो र भरपर्दाे नियामक निकाय बनेर जाओस् भन्ने कामना पनि गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.