औचित्यको आधारमा ऋणीलाई राहत आवश्यक- भुवन दाहाल

  २०७७ वैशाख १४ गते १७:१९     विकासन्युज

भुवन दाहाल- अध्यक्ष, नेपाल बैंकर्स एसोसिएसन

नेपाल राष्ट्र ६४ वर्ष पूरा गरेर ६५ वर्षमा प्रवेश गरेको छ । यो अवसरमा नेपालको सबैभन्दा बलियो र भरपर्दाे नियामकको रुपमा रहेको राष्ट्र बैंकलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।

अहिलेको परिस्थिति भिन्न छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणको कारण विश्वभर आर्थिकमन्दी आउने प्रक्षेपण भएको छ । अन्तराष्ट्रिय मुद्राकोष (आइएमएफ), विश्व बैंक जस्ता संस्था र निकायले विश्वको आर्थिक बृद्धि ऋणात्मक हुने प्रक्षेपण गरिरहेका छन् । लाखौंले रोजगारी गुमाउने, आपूर्ति प्रणालीमा आएको अवरोध र उपभोगमा कमी आउँदा उद्योग कलकारखना तथा बन्द व्यापार चौपट हुने भनिएको छ ।

यो विश्वव्यापी असर नेपालमा पनि परेको छ । नेपाल सरकारले पनि कोरोना संक्रमण फैलनबाट बच्न देशभर लकडाउन घोषणा गरेको एक महिनाभन्दा लामो समय भइसकेको छ । देशव्यापी लकडाउन र विश्व आर्थिकमन्दीको असर नेपालमा पनि पर्नेछ । कोरोना संक्रमणका बावजुत पनि नेपालको आर्थिक बृद्धिदर ५ प्रतिशतको हाराहारीमा हुने प्रक्षेपण गरिएको छ । यो परिवेशमा अन्तराष्ट्रिय संस्था र निकायले गरेको प्रक्षेपणको नजरअन्दाज नगरी र बढी हतोत्साही नभइ नेपाल नेपाल राष्ट्र बैंकले आफ्ना नीति निर्णय, योजना तथा कार्यक्रमहरु तर्जुमा र कार्यान्वयन गर्नुपर्छ ।

कोरोना संक्रमणको कारण धराशायी भएको अर्थतन्त्र उकास्नको लागि विभिन्न देशले विभिन्न प्रकारका राहत कार्यक्रम ल्याएका छन् । नेपाल सरकार र नेपाल राष्ट्र बैंकले पनि केही कार्यक्रम ल्याइसकेको छ भने थप बृहत कार्यक्रमको लागि कार्यदल बनाएर अध्ययन भइरहेको समाचार सार्वजनिक भएका छन् ।

अहिलेको प्रश्न भनेको कस्तो राहत कार्यक्रम ल्याउने भन्ने नै हो । यो विश्वव्याधीको संक्रमण कहिलेसम्म रहन्छ भनेर कसैले पनि यकिन गर्न सकेको छैन । त्यसैकारण राहत कार्यक्रम ल्याउँदा कहिलेसम्मको लागि ल्याउने भन्ने अर्काे समस्या पनि छ । यो महामारीको संकटको बेलामा कुनै उद्योग व्यवसायले राम्रो आम्दानी गरिरहेका पनि छन् । केही उद्योग व्यवसायको अवस्था असाध्यै विग्रिएको पनि छ । विग्रिएका उद्योग व्यवसायमा पनि एउटै लगानीकर्ता वा समुहका विभिन्न प्रकारका उद्योग व्यवसाय पनि हुन सक्छन् ।

यसलाई उदाहरणको रुपमा अझ प्रष्ट पारौं । जस्तो कि अहिले खाद्यान्न, औषधी, स्वास्थ्य उपकरण जस्ता वस्तुको उत्पादन र विक्री गर्ने उद्योग व्यवसायले राम्रो आम्दानी गरिरहेका छन् । अहिले सबैभन्दा धेरै नकारात्मक असर परेको होटल व्यवसायलाई हो । होटल व्यवसायमा पनि एउटै लगानीकर्ता वा व्यवसायिक घरानाको होटल पनि थियो, औषधी उद्योग पनि थियो र खाद्यान्न उद्योग पनि थियो भने त्यस्ता लगानीकर्ता वा व्यवसायिक घरानालाई राहतको आवश्यकता नहुन सक्छ ।

त्यसकारण जसजसलाई वास्तवमै राहतको आवश्यकता छ, त्यस्ता क्षेत्र वा उद्योगी व्यवसायीलाई केन्द्रीत गरेर राहत कार्यक्रम ल्याउन आवश्यक छ । यो परिस्थितिको नकारात्मक असर परेका उद्योग व्यवसायलाई व्याजमा छुट दिनुपर्ने होला, किस्ता तिर्ने समय सारिदिनुपर्ने होला, थप लगानी गरिदिनु पर्ने होला वा जरिवाना वा शुल्क नलिनु पर्ने होला । त्यस्ता ऋणीलाई गम्भीर अध्ययन गरेर आवश्यकता र औचित्यको आधारमा राहत प्याकेज प्रदान गर्ने पहल राष्ट्र बैंकले गर्न सकोस भन्ने अपेक्षा छ ।

सरकारले रातह बाड्न लागेको छ भन्ने सुनेपछि हामी सबै राहत लिनको लागि लाइनमा बस्ने गरेका छौं । सबैलाई राहत दिदा नचाहिने वा आवश्यक नपरेको व्यक्ति वा संस्थाले पनि राहत पाउने अबस्था रहन्छ । तर, अर्काेतिर कसैलाई राहतको असाध्यै आवश्यकता परेको हुन सक्छ । सबैलाई राहत दिदा आवश्यकता नपरेकोले पनि पाउने र अतिआवश्यक परेकोले कम पाउने अवस्था रहन्छ । त्यसैले पहिलो कुरा त यो मानवीय संकटको समयमा जसजसलाई राहतको आवश्यकता छैन वा कम असर परेको कारण आफै व्यवस्थापन गर्न सकिने अवस्था छ, उहाँहरु आफैले मलाई राहत आवश्यक छैन भन्नु सक्नुपर्यो । यो संकटमा मानता प्रदर्शन पनि गर्न सक्नुपर्यो । मैले राहत नलिदा पीडामा छटपटाइरहेको अर्काेले राहत लिएर बाँच्ने अवस्था रहन्छ भन्ने भाव प्रदर्शन गर्नुपर्यो । यसो गर्न सकियो भने आवश्यकता परेकाको पीडामा सरकारले मलमपट्टी लगाउन सक्छ ।

अर्थतन्त्रको स्वभाव फरक खालको हुन्छ । ग्रामीण दूरदराजका साना तथा मझौला उद्योगहरुले उत्पादन गरेका वस्तु ठूला उद्योगका कच्चा पदार्थ हुन सक्छन् । त्यस्तै ठूला उद्योगले उत्पादन गरेका वस्तु साना तथा मझौला उद्योगले उपभोग गर्न सक्ने अवस्था रहन्छ । अहिले धेरै असर परेको पनि साना तथा मझौला उद्योगहरुलाई नै हो जस्तो देखिन्छ । ठूला उद्योग भएनन् भने साना तथा मझौला उद्योगलाई पनि असर पर्छ र साना तथा मझौला उद्योगका समस्याले ठूला उद्योगलाई असर पुर्याउँछ । त्यसैले राष्ट्र बैंकले मौद्रिक उपायबाट प्रदान गर्ने राहतले यस्ता कुरामा पनि ध्यान दिने छ भन्नेमा म विश्वस्त छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.