अब विलाशी वस्तुमा होइन, उत्पादनशील क्षेत्रमा लगानी गरौं

  २०७७ वैशाख ११ गते ११:१९     कविराज अधिकारी

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९)ले विश्वको अर्थतन्त्रलाई निकै असर पारेको छ । यसले नेपालको अर्थतन्त्रलाई पनि ठूलो धक्का दिने अनुमान विज्ञहरुले गरेका छन् । विभिन्न देशहरु र नेपालले पनि आम नागरिकका लागि राहत र उद्योगी व्यवसायीहरुका लागि विशेष प्याकेज पनि घोषणा गरेका छन् । अझै पनि नेपालको अर्थतन्त्र र उद्योग व्यवसायलाई नकारात्मक प्रभाव तथा असर कम गर्नका लागि सबैको समन्वयात्मक भूमिका र सहकार्य आवश्यक छ । यसका लागि नेपाली बैंकहरु पनि अहिले आफ्नो आन्तरिक गृहकार्यमा छन् ।

कोरोनाले सबै क्षेत्र र वर्ग उतिकै असर पारेको भएपनि कसलाई कति असर पारेको छ भनेर निचोड निकाल्न आवश्यक छ । हामी पनि साना तथा मझौला उद्यमीहरुका लागि र अन्य व्यवसायीहरुका लागि पनि के सहयोग र सहकार्य गर्न सकिन्छ भन्ने छलफलमै छौं । यसको बारेका हालसम्म कुनै निर्णय नभइसकेपनि सबैबीच सहकार्य र समन्वय भने भइरहेको छ ।

सरकारले देशलाई लकडाउन घोषणा गरेको पनि एक महिना भइसकेको छ । यो समयमा धेरै उद्योगधन्दा तथा व्यवसायहरु बन्द छन् । देशमा आर्थिक गतिविधी सुस्त छ । हामीले यी विविध क्षेत्रहरुलाई के कत्ति असर परेको छ ? कस्तो असर परेको छ ? र कुन तरिकाबाट त्यसको समाधान गर्न सकिन्छ भन्ने विषयमा अध्ययन र छलफल गर्न उतिकै आवश्यक छ ।

कोरोनाको कारण विशेष गरेर देशको पर्यटन, उद्योग, व्यवसाय र विभिन्न वस्तु आपूर्तिमा समस्या भइरहेको छ । अहिले यो समय भनेको नाफा गर्ने भन्दा पनि कसरी अर्थतन्त्रलाई पहिलेकै अवस्थामा पुर्याउने वा स्थीर राख्ने भन्ने विषयमा नै सबैले ध्यान दिनपर्छ ।

यसका लागि विभिन्न बैंकहरुले पनि छलफल गर्दैछन् । हामी पनि छलफलकै क्रममा छौं । कसलाई बढी समस्या परेको छ ? बैंकको तर्फबाट के केसरी सहयोग गर्न सकिन्छ ? भनेर पनि ग्राहकका कुराहरु सुनिरहेका छौं । अहिले निर्माणाधीन परियोजनाहरुको पनि आफ्नै समस्या होला । बीमाको पनि दावी भुक्तानीका कुराहरु होलान् । उद्योग व्यवसायीका आ–आफ्नै समस्या होलान् ।

ती सबैका समस्याहरुलाई एकिकृत गरेर कसलाई बढी समस्या परेको छ । त्यसको घाउमा मल्हम लगाउने काम बैंकहरुको पनि महत्वपूर्ण हुन्छ । यी सबै विषयमा गर्ने भन्ने हामीले पनि हेरिरहेका छौं । उनीहरुलाई के सुविधा दिन सकिन्छ ? भन्ने गृहकार्य गरिरहेका छौं । कसलाई कति घाटा छ ? बैंकले पनि कतिसम्म धान्न सक्छ ? भन्ने विषय पनि महत्वपूर्ण नै हो ।

कतिपय नयाँ उद्योगहरु हुन्छन् । उनीहरुलाई अहिले गाह्रो हुन्छ । किनकि पुरानै उद्योग तथा व्यवसाय समस्यामा परिरहेको अवस्थामा नयाँले प्रवेश गरेर ऋण लिनु त्यति प्रभावकारी हुँदैन । तर,पुराना उद्योगहरुलाई कसरी पहिलेकै अवस्थामा राख्ने ? उनीहरुको किस्ता तिर्ने समय बढाएर सजिलो पर्छ कि वा कुनै विकल्प उनीहरुलाई सस्टेन पार्न सकिन्छ भन्ने विषयमा पनि गृहकार्य भइरहेको छ । बैंकमा पनि फण्ड सिमित हुन्छ । त्यसलाई कहाँ प्रयोग गर्ने भन्ने कुरा कसलाई बढी समस्या छ भन्ने विषयले तय गर्छ ।

यो अवस्थामा धेरै रोजगारी सिर्जना कसरी गर्न सकिन्छ, पर्यटन क्षेत्रको वृद्धि, उत्पादनशीलता र आम्दानी तथा उपभाेगलाई ध्यानमा राखेर पनि लगानी गर्न उचित हुन्छ । अहिले धेरै युवा विदेशबाट स्वदेश फर्केका छन् । उनीहरुलाई कुन क्षेत्रमा लगाउने हो । कसरी स्वरोजगार बनाउने हो त्यसमा पनि सबैले सोच्न आवश्यक छ ।

देशको कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा जुन क्षेत्रले बढी योगदान गर्न सक्छ, जसले धेरै रोजगारी सिर्जना गर्न सक्छ र जसले उत्पादनशीलतामा बढी सहयोग गर्न सक्छ, त्यसलाई मध्येनजर गर्दै लगानी पनि बढाउनु पर्छ । यो समय विलासिताको मात्र नभएर अब देश विकासमा जसले योगदान पुर्याउँछ त्यस्तो परियोजना र व्यवसायमा सबैले प्राथमिकताका साथ काम गर्नुपर्छ । अब विलासिताभन्दा पनि उत्पादनशीलतामा सबैले लगानी गर्न उचित हुन्छ । बैंकहरुले पनि त्यसतर्फ लगानी बढाउनु पर्छ ।

यो समयमा कृषिलाई कसरी उत्पादनशील बनाउने ? भन्ने तर्फ पनि सबैको ध्यान जानुपर्छ । अहिले धेरै उद्योग तथा व्यवसायहरु संकटमा छन् । उद्योग बाँच्यो भने बैंक बाँच्ने भएकोले सबैको सहकार्य आवश्यक देखिन्छ । कोरोनाको महामारीले पारेको असरलाई सामाना अर्थात कम गर्नको लागि नाफा र प्रतिस्पर्धाको भावना हटाई समन्वय र सहकार्यको बाटो रोज्नु पर्छ । एकले अर्काका समस्या बुझेर काम गर्नु पर्छ ।

यसमा पनि बैंकहरु एउटैले धान्न सक्ने अवस्था त छैन । तर, सबैको हातेमालोले यो संकटलाई टार्नुपर्छ । संकटमा परेका उद्योग बनाउनका लागि बैंक नै डुब्यो भने पनि अर्को समस्या आउँछ । त्यसैले सरकार, सबै बैंक तथा वित्तीय संस्था, उद्योग व्यवसाय र आमनागरिक मिलेर यो संकटको सामना गर्नु पर्छ ।

बैंकले पनि आफु बाँच्न सक्ने अवस्थासम्म लगानी गर्ने हो । यतिखेर आफुसँगको सहयात्री अर्थात ग्राहकलाई पनि सहयोग गर्ने र बैंकहरुलाई पनि नोक्सान नहुने हिसाबमा सरकारले पनि त्यही हिसाबमा नीति नियम ल्याउनु पर्छ । सबैले आआफ्नो हिसाबबाट योगदान गर्नुपर्छ । तब मात्र यो संकटलाई हामी पार लगाउन सक्छौं ।

कुनलाई प्राथमिकता दिने ?

अब बैंकहरुले पनि जो पायो त्यसर्लाइ कर्जा दिने भन्दा पनि उचित व्यवसाय र क्षेत्रलाई अध्ययन गरी कर्जा प्रवाह गर्न आवश्यक छ । जसले बढी रोजगारी सिर्जना गर्न सक्छ, जसले हाम्रो विदेशी आम्दानी बढाउन्छ, देशको निर्यातमा बढी सहयोग गर्छ, त्यस्तो व्यवसायलाई हेरेर बैंकहरुले लगानी गर्न आवश्यक हुन्छ । जसबाट चौतर्फी सन्तुलन हुन्छ ।

यतिखेर धेरै महँगो गाडीहरु किन्न, धेरै सुनहरुको व्यापार गर्न भन्दा पनि कृषिलाई आधुनिकीकरण अर्थात उत्पादनशीलता, बन्द भएका उद्योगमा लगानी गरेर बढिभन्दा बढी रोजगारी सिर्जना गर्न सकिन्छ । जसले विदेशबाट फर्केका युवाहरुलाई स्वरोजगार बन्न सहयोग पुग्छ । र, देशको पनि विकास हुन्छ । आर्थिक गतिविधि पनि बढ्छ । युवालाई उत्पादनशील क्षेत्रमा लगाएर देशको आयात घटाउन सक्यो भने पनि राम्रै हुन्छ ।

यसका लागि यो क्षेत्रका विज्ञहरुको सल्लाह सुझाव अध्ययन अनुसन्धान गरेर उचित निश्कर्षसहित लगानी गर्नु पनि अहिलेको आवश्यकता हो । अहिले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै संंकटको अवस्था छ । राष्ट्रिय संकटको समय भयो भने त अन्तर्राष्ट्रिय दातृ संस्थाले सहयोग पनि गर्छ भन्ने आशा हुन्थ्यो । अहिले त्यसको सम्भावना पनि न्युन छ । एक आर्थिक वर्ष सरभाइवमा लागियो भने त्यसपछि आर्थिक वृद्धि त अवश्य हुन्छ नै ।

अब बैंकहरुले पनि उत्पादनशील कर्जाहरु ल्याउन आवश्यक छ । ठूला उद्योगमा सपोर्ट गर्ने खालका गाउँघरमा साना उद्योगहरु हुन्छन् । त्यसमा फोकस गरर गाउँघरकै युवाहरुर्लाइ त्यसतर्फ आकर्षित गर्न सकिन्छ । अहिले धेरै उद्योगहरु बन्द अवस्थामा छन् । उनीहरुको व्यापार पनि धेरै घटेको छ । उनीहरुलाई लक्षित कर्जा ल्याउन आवश्यक छ । उनीहरु सस्टेन हुने कर्जा प्रवाह हुनु पर्छ ।

यो समयमा कर्जाको व्याजदर घट्नु त अवश्य नै पर्छ । कर्जाको व्याज घटाएर साना तथा मझौला उद्यमीहरुलाई पनि बढी प्राथमिकता दिनुपर्छ । धेरै मानिसहरु व्याजकै निर्भरमा हुन्छन् । यी विविध कुराहरु अध्ययन गरेर उचित नीति नियम बनाई कार्यान्वन गर्नुपर्छ ।

(राष्ट्रिय वाणिज्य बैंकका डेपुटी सीईओ अधिकारीसँग सन्ताेष राेकायाले गरेकाे कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.