कोरोना बीमाः लागेको पुष्टी हुने वित्तिकै क्षतिपूर्ति, बीमा गराउन कम्पनी तयार

  २०७७ वैशाख ४ गते २०:१४     नबिन पाेखरेल

काठमाडौं । बीमा समितिले ल्याएको कोरोना भाईरस (कोभिड १९) बीमामा बिमितले संक्रमण पुष्टी हुने वित्तिकै दाबी भुक्तानी पाउने भएका छन् । समितिले प्रतिव्यक्ति ५० हजार र एक लाख रुपैयाँ दाबी भुक्तानी प्राप्त गर्ने गरी नयाँ बीमालेख जारी गरेको हो ।

समितिले ल्याएको कोरोना भाइरस बीमालेखमा दाबी भुक्तानी रकम १ लाख र ५० हजार रुपैयाँ पाउने गरी दुई प्रकारका बीमालेख छन् ।

यी दुबै प्रकारका बीमालेख लिनको लागि व्यक्तिगत रुपमा र परिवार सहितको बीमालेख लिन पाइने भएको छ । १ लाख रुपैयाँको व्यक्तिगत बीमालेख लिनको लागि १ हजार रुपैयाँ बीमा शुल्क तिर्नुपर्छ । परिवार सहितको बीमालेख लिने हो भने प्रतिव्यक्ति ६ सय रुपैयाँ बीमा शुल्क तिर्नुपर्छ ।

एउटा परिवारमा ६ जना सदस्य छन् र १ प्रतिव्यक्ति १ लाख रुपैयाँको बीमा गर्ने हो भने प्रतिव्यक्ति ६ सय रुपैयाँका दरले ३ हजार ६ सय रुपैयाँ बीमा शुल्क तिर्नुपर्छ ।

यस्तै, प्रतिव्यक्ति ५० हजार रुपैयाँको बीमा गर्नको लागि व्यक्तिगततर्फ प्रतिव्यक्ति ५ सय रुपैयाँ र परिवारसहित बीमा गर्नको लागि प्रतिव्यक्ति ३ सय रुपैयाँ बीमा शुल्क तिुर्नपर्छ ।

एउटा परिवारमा ६ जना छन् र प्रतिव्यक्ति ५० हजार रुपैयाँको बीमा गर्नको लागि १ हजार ६ सय रुपैयाँ तिर्नुपर्छ ।

कसरी लिने दाबी भुक्तानी ?

कोरोन संक्रमणको परीक्षण तथा संक्रमण भइसकेको अवस्थामा त्यसको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भनेको छ । कोरोना परीक्षण गर्न तथा उपचार गर्नको लागि लाग्ने सबै खर्च सरकारले व्यहोर्ने भनेको अवस्थामा दाबी भुक्तानी कसरी लिने भन्ने प्रश्न पनि आउँन सक्छ ।

‘कोरोना भाइरस बीमालेखले परीक्षण वा उपचारको लागि दाबी भुक्तानी दिने होइन, कोरोना संक्रमणको पुष्टी हुने वित्तिकै बीमा कम्पनीले दाबी भुक्तानी दिने हो, पीसीआर पद्धतिबाट कोरोना पुष्टी भएका व्यक्तिका आफन्तले वा सोही व्यक्तिले बीमा कम्पनीबाट बीमा गरिए बराबरको ५० हजार वा १ लाख रुपैयाँ पाउने हो,’ बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईंले भने ।

परीक्षण र उपचारको लागि सरकारले खर्च गर्ने भएपनि बीमामार्फत केही रकम आर्थिक भरथेग गर्ने प्रयास गरिएको अध्यक्ष चापागाईंले बताए । कोरोना संक्रमित व्यक्तिलाई फलफूल लगायत पौष्टिक आहार खुवाउन, बिरामीको कुरुवा वा घर परिवारका व्यक्तिलाई केही मात्रामा भएपनि राहत दिन यस्तो कार्यक्रम ल्याइएको समितिको भनाइ छ ।

कोरोना पुष्टी नभएको प्रमाणपत्र कसरी दिने ?

सामान्यतः स्वास्थ्य बीमामा बीमा गर्नुअघि निरोगिताको प्रमाणपत्र पेश गर्नुपर्छ । तर, कोरोना बीमा गर्नको लागि निरोगिताको प्रमाणपत्र पेश गर्नुपर्दैन । कोरोना बीमा गरेको १५ दिनभित्र कोरोना संक्रमण भएमा बीमा रकम दाबी गर्न पाइदैन । १६ औं दिनपछि संक्रमण देखिएमा बीमा रकम दाबी गर्न पाइन्छ ।

पहिलो बीमालेख अध्यक्षले नै लिने

समितिले कोरोना बीमालेख आगामी आइतबारदेखि कार्यान्वयनमा ल्याउने गृहकार्य थालेको छ । पहिलो बीमालेख आफैले किन्ने समितिका अध्यक्ष चापागाईंले जानकारी दिए ।

‘पहिलो बीमा पोलिसी म आफै किन्ने छु, कुनैपनि बिमितले पिसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको अवस्थामा बीमाबाट दाबी–भुक्तानी पाउँने छन्,’ अध्यक्ष चापागाईंले भने ।

कम्पनी तयार

समितिले ल्याएको बीमालेख कार्यान्वयनका लागि आफूहरु तयार रहेको बीमा कम्पनीहरुले बताएका छन् । सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीका अनुसार कोरोना भाईरसको बीमा गर्ने विषयमा पहिलेदेखि नै छलफल भइरहेको तथा अहिलेको सन्दर्भमा यो आवश्यक रहेकाले सबैको तिव्र चासो रहेको बताए ।

बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग बीमा समितिले छलफल गरेरै यो योजना अघि सारेकाले उक्त योजनामा कम्पनीका प्रमुखहरु इच्छुक रहेको उनले बताएका छन् ।

अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीका अनुसार कोरोना महामारी विरुद्ध सबै कम्पनीहरुले मिलेर काम गर्न लागेको हो ।

‘अब हामीले कोरोनाको बीमा गर्ने भएका छौं, यसमा सबैजना मिलेर काम गर्ने भएका हौं, सामाजिक दायित्वका हिसावले नै यो बीमा योजना आएको हो,’ अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले भने ।

किन ५० हजार र एक लाखको मात्रै ?

समितिले ल्याएको कोरोना बीमाको बिमांक रकम ५० हजार र एक लाख रुपैयाँ मात्रै छ । पुनर्बीमा कम्पनीको भर नपरी नेपालमा नै पुलमार्फत गराउन लागिएकोले बिमांक रकम १ लाख र ५० हजार रुपैयाँ मात्रै राखिएको बीमा समितिको भनाइ छ ।

पुलमार्फत गर्न लागिएको कोरोना बीमामा नेपाल पूनर्बीमा कम्पनीले २० प्रतिशत तथा अन्य निर्जीवन बीमा कम्पनीले ४÷४ प्रतिशत जोखिम लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.