कोरोना परीक्षण गर्ने आरडिटी र पिसिआर विधिमा के फरक छ ?

  २०७७ वैशाख २ गते २०:२१     डा. रुणा झा

काठमाडौं । हाल नेपालामा दुई विधिबाट कोरोनाभाईरस (काेभिड-१९) को परीक्षण भईरहेको छ । एक हो पिसिआर र दोस्रो रहेको छ आरडिटी अर्थात र्यापिड डायगोनेस्टिक किट विधि।

हालसम्म यी दुई विधिबाट १२ हजार ९ सय ६ वटा परीक्षण भएको छ । यो दुई मानिसको शरीरमा कोरोना भाईरसले लाग्ने रोग कोभिड-१९ छ कि छैन भनेर पत्ता लगाउनको लागि प्रयोग हुने भिन्न विधि हो ।

तर बजारमा यो दुई विधिलाई लिएर मानिसहरुमा केही भ्रमहरु छन् । यी दुई विधिले कसरी काम गर्छ त भन्ने पछिल्लो समय धेरैले बुझ्न चाहेको विषय रहेको छ ।

के फरक छ ?

हाम्रो शरीरले जहिले पनि कुनै पनि रोगसँग लड्नको लागि एन्टिबडी उत्पादन गर्दछ । वैज्ञानिकहरुले यही एन्टिबडीलाई आधार मानेर परीक्षण गर्नको लागि र्यापिड डायगोनेस्टिक किट विधि ल्याएको हाे ।

यद्यपी एन्टिबडी पत्ता लगाएर रोग पत्ता लगाउने विधि भने नयाँ होईन । डेंगु, हेपाटाईटिस, ऐड्सहरुको पनि हामीले यही एन्टिबडीको मार्फत रोग पत्ता लगाउने गरेका छौं ।

कोभिड १९ सँग लड्नको लागि पनि हाम्रो शरीरले दुई एन्टिबडि उत्पादन गर्दछ ।

१. आईजीएम
यो एन्टिबडी रोग लागेको सामान्यता एक हप्तापछि शरीरले उत्पादन गर्दछ । यो पनि तर व्यक्ति पिच्छे फरक पर्न जाने र यो शरीरमा २ देखि ३ हप्तासम्म रहन्छ ।

२. आईजीजी
यो एन्टिबडी रोग लागेको २ हप्तापछि शरीरले उत्पादन गर्दछ र यो शरीरमा महिनौंसम्म रहन सक्छ।

सुरुमा रोग लागि सकेपछि शरीरमा भाईरस मात्र भेटिने र पछि गएर १ हप्तामा आईजीएम र दुई हप्ता बितिसकेपछि आईजीजी पनि भेटिने गर्दछ ।

यस्तै रोग लागेको एक महिनापछि भाईरस र आईजीएम नेगेटिभ हुनसक्ने तर एजीएम महिनौसम्म रहने गर्दछ ।

यसको मतलब सुरुमा परीक्षण गर्दा पिसिआर मात्र पोजेटिभ आउन सक्ने र एन्टिबडीको लागि गरिने परीक्षण नेगेटिभ आउनसक्छ ।

त्यस्तै दुई तीन हप्तापछि परीक्षण गर्दा पिसिआर पनि पोजेटिभ आउने र एन्टिबडी पनि पोजेटिभ आउन सक्छ । र तीनदेखि चार हप्तापछि पिसिआर नेगेटिभ आउने र एन्टिबडी पोजेटिभ आउने हुन्छ ।

जटिल पिसिआर परीक्षण

पिसिआर परीक्षण एउटा जटिल परीक्षण रहेको छ । यसको नतिजा टेष्टको लागि राखिएको करीब ६ घण्टा पछि आउँछ ।

याे निकै जटिल विधि हो । यसको लागि सुविधासम्पन्न ल्याब, एकदमै दक्ष जनशक्ति हुनुपर्छ। यसमा प्रविधि मार्फत शरीरमा भाईरसको जीन छ कि छैन भनेर पत्ता लगाउन सकिन्छ ।

यस प्रविधिमा एकपटकमा एउटा परीक्षण गर्न र समूहमा एकैपटक धेरै परीक्षण गर्न उही प्रकृया र समय आवश्यक हुने भएको कारण एक पटकमा सकेसम्म धेरै नमुना परीक्षण गर्नुपर्ने हुन्छ । बिरामीको केस जटिल भएको अवस्थामा मात्र एक दुईवटा परीक्षण गरेर नतिजा ६ घण्टाको वरीपरी आउने तर धेरैवटा एकैपटक गर्दा परीक्षण सजिलो हुने भएकोले एउटा परीक्षणको नतिजा कम्तिमा पनि २४ देखि ३६ घण्टा वरिपरी लाग्ने गर्दछ ।

यो जटिल विधि भएकोले यसलाई कसरी सजिलो बनाउने भन्दै गर्दा वैज्ञानिकहरुले आरडिटी विधि पत्ता लागएका हुन् ।

आरडिटी अर्थात र्यापिड डायगोनेस्टिक किट

आरडिटी प्रविधि एउटै निकै नै सरल प्रविधि हो जसलाई सामान्य व्यक्तिले पनि प्रयोग गर्न सक्छन् ।

नेपाल मात्र नभएर अमेरिका, युरोपियन युनियन, अष्ट्रेलियाले पनि यो प्रविधिलाई प्रयोगमा ल्याएका छन् । यस्तै भारतले पनि आफ्नो भर्खरै प्रकाशित टेष्टिङ मापदण्डमा लक्षण देखाएका व्यक्तिहरुमा आरडिटीको माध्यमबाट परीक्षण गर्न उल्लेख गरेका छ ।

र्यापिड किट प्रयोग गर्नको लागि धेरै विज्ञता पनि नचाहिने, ल्याब पनि आवश्यक नहुने, जहाँ पनि गएर जाँच्न सकिने, सामान्य तालिम पर्याप्त हुने र १५ मिनेटमै नतिजा देखिने भएकोले यो प्रविधि धेरै फाईदाजनक छ ।

कुनै पनि राष्ट्रले सबै परीक्षण पिसिआर प्रविधीबाट गर्दैन । आरडिटीबाट परीक्षण हुँदा धेरैभन्दा धेरै व्यक्तिहरु छोटो समयमै परीक्षणको दायरामा आउने र त्यसले पछि हुने संभावित संक्रमणबाट बचाउने सकिन्छ।

आरडीटी परीक्षणले रोग लागेर निको भईसकेको अवस्थामा एन्टिबडीको मार्फत पहिला शरीरमा यो रोग थियो भन्ने देखाउँछ । साथै, यो परीक्षणले नेपालमा कतिलाई कोरोनाभाईरस  (काेभिड-१९) लागेको थियो भन्ने पत्ता लगाउन सकिन्छ ।

( डा. रुणा झा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक हुन् । )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.