२०७७ सालः उद्यमशीलताको लागि कृषि र एसएमई, लघु बीमा उपहार

  २०७७ वैशाख १ गते १९:०५     नबिन पाेखरेल

काठमाडौं । विश्वभर सन्त्रास र संक्रमण विस्तार गरिरहेको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर आर्थिक मन्दी देखिएको छ । संकटले नयाँ अवसर पनि सिर्जना गर्छ भन्ने दृष्टान्त बीमा बजारमा देखिने सरोकारवालाले बताएका छन् ।

कोभिड १९ का कारण विश्वभर धेरैले रोजगारी गुमाउने अन्तराष्ट्रिय संस्थाहरुले बताइरहेका छन् । अहिले करिब ५० लाख नेपाली विभिन्न देशहरुमा काम गरिरहेका छन् । कोरोना भाइरस संक्रमणको कारण आर्थिक मन्दीले विदेशमा रहेका नेपालीले रोजगारी गुमाउँदा गर्ने काम भनेको नेपालको ग्रामीण क्षेत्रमा गएर साना तथा मझौला व्यवसाय (एसएमई) र कृषिसँग सम्बन्धित उद्यम व्यवसाय नै हो ।

नेपालका केही अर्थशास्त्री तथा योजनाविदहरुले विभिन्न देशहरुबाट बेरोजगार भएर आएका नेपालीले ग्रामीण क्षेत्रमा गएर काम गर्दा त्यसले उद्यमशीलता अभिबृद्धि गर्ने र राष्ट्रिय अर्थतन्त्रका जग बलियो हुने बताइरहेका छन् । यस्तो अबस्थामा बीमा समितिले अघि सारेको लघु बीमाले एसएमई तथा कृषिजन्य उद्यम व्यवसायलाई बीमाको माध्यमबाट भरथेग गर्न सक्छ ।

यसका लागि लघु बीमा एउटा राम्रो विकल्प हो ।

नयाँ वर्ष २०७७ साल लघु बीमाका लागि बहार बर्ष सावित हुने बीमा समितिका अध्यक्षले बताएका छन् । आफूहरुले चरण–चरणमा क्रमवद्ध रुपमा काम गर्दै आएकाले आगामी वर्ष लघु बीमाको बहार बर्ष बन्ने उनको भनाई छ ।

बीमा समितिले लघु बीमालाई प्रभावकारी बनाउन घुम्ती बीमालाई थप प्रभावकारी बनाउने तथा निर्जीवन बीमा तर्फको बीमा पुल मार्फत आवश्यक कामलाई तिव्रता दिने बताए ।

‘जीवन बीमातर्फ वित्तीय संस्था तथा राष्ट्र बैकबाट लाइसेन्स प्राप्त संस्थाहरु, जसले सरकारको निर्णय अनुसार बिनाधितो सहुलियत व्याजदरमा कर्जा प्रवाह गरेका छन्, त्यस्ता कार्यक्रमलाई व्यापक प्रचार प्रसार गरी जनस्तरमा पुर्याउने वर्षको रुपमा २०७७ साललाई लिदा हुन्छ’, बीमा समितिका अध्यक्ष चापागाईंले विकासन्युजसँग भने ।

लघु बीमाका संयन्त्र तयार

बीका समितिका अनुसार लघु बीमा कार्यान्वयनका लागि पहिलेदेखि नै संयन्त्र तयारी अवस्थामा छ । आगामी दिनमा भने त्यसलाई प्रभावकारी बनाउँन मात्रै आवश्यक रहेको समितिको भनाइ छ ।

वाध्यकारी बनाउने ?

सरकारी अनुदान प्राप्त सहुलियत व्याजदरको कर्जा लिदाँ बीमा शुल्क जसरी पनि तिर्नैपर्ने बाध्यकारी भएकोले सबैलाई बुझाउन आवश्यक रहेको समितिको भनाइ छ ।

अर्को भनेको बैक तथा वित्तीय संस्थाहरुले ग्राहकले परियोजनाको बीमा नगरेको अवस्थामा ऋण नदिने भएकोले ठूलो हिस्सा बीमाको दायरमा छ । तर, कर्जा प्रयोजन बाहेकमा पनि बीमा गराउनै पर्छ भन्ने मान्यता भने अझै पनि स्थापित हुन सकेको छैन ।

बीमालाई नियामकले बाध्यकारी गर्ने भन्दापनि सहजिकरण नै गर्ने हो । सोही कारण कुनै पनि क्षेत्र र योजना विशेषलाई बीमा बाध्यकारी बनाउने सोचमा समिति छैन ।

लघु बीमाको बजार हिस्सा कति पुग्ला ?

समग्र बीमामा लघु बीमाको हिस्सा १० प्रतिशत पुर्याउने सरकारको नीति छ । सरकारको सो नीति अनुरुप काम भईरहेको समितिको भनाइ छ ।

जीवन बीमातर्फ लघु बीमाको हिस्सा अहिले १० प्रतिशतको हाराहारीमै छ भने निर्जीवन बीमातर्फ केही न्युन छ । यो हिस्सा बीमालेखका आधारमा हो । लघु बीमामा २ लाख, ३ लाख रुपैयाँ जस्ता न्युन शुल्कको बिजनेस हुने भएकाले तत्काल रुपैयाँमा मात्रै दाज्न नहुने समितिको भनाइ छ ।

जीवन बीमा

प्राईम लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईका अनुसार धेरै किसिमका बीमा योजना लघु बीमा थप गर्न तथा बीमा शुल्क अझै केही न्युन गर्नु आवश्यक छ ।

‘पहिलेको भन्दा अहिले लघु बीमाको सीमा केही बढाइएको छ, तैपनि मनी व्याक, इन्डोमेन्ट लगायतका धेरै किसिमका बीमा योजना ल्याउने तथा बीमा शुल्क कम गर्ने र रक्षावरण अवधिमा केही परिमार्जन गर्न सकिने अवस्था छ, यसका लागि यही २०७७ सालमै बीमा कम्पनीहरुकै जीवन बिमक संघमार्फत छलफल चलाएर काम गर्न सकिन्छ, बीमा समितिले पनि आफ्नो तर्फबाट हुने काम गर्दै आएको अवस्था छ,’ प्रमुख कार्यकारी अधिकृत भट्टराईले भने ।

निर्जीवन बीमा

सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीका अनुसार २०७७ सालमा लघु बीमाको प्रचार प्रसार बढाउन जरुरी रहेको र गाउँमा गएर केही गरौं भन्नेहरुका लागि बीमा मार्फत सहजिकरण आवश्यक हुन्छ ।

‘२०७७ सालमा लघु बीमाको प्रचार सरकारकै सहयोगमा गर्न आवश्यक छ, देश संघीय अवधारणमा गएकोले प्याकेजको रुपमा कार्यक्रम अघि बढाउन सके लघु बीमाका लागि यो वर्ष सुनौलो रहन सक्छ,’ प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले भने ।

उनले अहिले कोराना भाईरसका कारण गाउँमा धेरैजना पुरेको र बेरोजगार बन्नु परेको अवस्थामा सरकारले कृषि सम्बन्धित कार्यक्रममा जोड दिनु उपयुक्त हुने बताए ।

लघु बीमा निर्देशिका

बीमा समितिले २०७६ सालमा लघु बीमा निर्देशिका २०७६ जारी गर्यो । निर्देशिकाका अनुसार लघु बीमा व्यवसाय जीवन बीमा तथा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीले गर्न पाउँछन् ।

जीवन बीमा गर्ने बिमकका लागि सावधिक लघु जीवन बीमा, म्यादी लघु जीवन बीमा तथा बीमा समितिले तोके अनुसारको अन्य लघु जीवन बीमा गर्न मिल्ने व्यवस्था छ ।

यस्तै, निर्जीवन बीमातर्फ भने सम्पत्ति लघु बीमा, घर लघु बीमा, दुर्घटना लघु बीमा, स्वास्थ्य लघु बीमा, घातक रोग लघु बीमा, कृषि लघु बीमा तथा समितिले तोकिदिए बमोजिमको अन्य लघु निर्जीवन बीमा रहेका छन् ।

बीमा समितिले वार्षिक २ सय ५० रुपैयाँ तिर्दा ५ लाख रुपैयाँ बराबरको घर बीमा गर्न सकिने निर्देशिकामा उल्लेख गरेको छ । ५ लाख रुपैयाँसम्मको घर लघु बीमा शुल्क प्रतिहजार रुपैयाँमा ५० पैसा तोकिएको छ ।

निर्देशिकामा जीवन बीमातर्फ सावधिक, म्यादी र अन्य लघुबीमा तोकेको छ । यी ३ वटै किसिमका जीवन बीमाको अधिकतम बिमांक रकम ३ लाख रुपैयाँ छ । अर्थात लघु जीवन बीमा गराएको व्यक्ति वा उसका आफन्तले दाबी भुक्तानी लिनु परेको अवस्थामा ३ लाख रुपैयाँ पाइन्छ ।

निर्जीवन बीमातर्फ सम्पत्ति, घर, दुर्घटना, स्वास्थ्य, घातक रोग, बाली तथा पशुपक्षी र अन्य लघु बीमा छन् ।

सम्पत्ति लघु बीमा र घर लघु बीमाको बिमांक रकम ५ लाख रुपैयाँसम्म छ । दर्घटना लघु बीमाको बिमांक रकम ३ लाख रुपैयाँसम्म छ । घातक रोग लघु बीमाको बीमांक १ लाख रुपैयाँसम्म, बाली तथा पशुपंक्षी लघु बीमाको बीमांक रकम २ लाख रुपैयाँसम्म छ । साथै, स्वास्थ्य लघु बीमाको बीमांक रकम ५० हजार रुपैयाँसम्म छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.