कोरोनाबाट विदेशमा १४ नेपालीको मृत्यु, ६ सय ६५ मा सङ्क्रमण पुष्टि

  २०७६ चैत ३० गते १५:२०     विकासन्युज

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सङ्कलन गरेको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट बेलायतमा आठ, अमेरिकामा पाँच र संयुक्त अरब इमिरेट्समा एक जना नेपालीको ज्यान गएको छ ।

सङ्घका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तर्गतको स्वास्थ्य समितिले सो तथ्याङ्क सार्वजनिक गरेको हो । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार हालसम्म विभिन्न मुलुकमा रहेका ६ सय ६५ गैरआवासीय नेपालीमा कोरोना सङ्क्रमण भएको पुष्टि भइसकेको छ ।

विदेशस्थित नेपाली नियोग, गैरआवासीय नेपाली सङ्घको शाखा तथा स्थानीय सङ्घसंस्थाद्वारा सङ्कलित सूचनाका आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरिएको उनले जानकारी दिए ।

अमेरिकामा पाँच सय, बेलायतमा एक सय, स्पेनमा १८, युएईमा १०, जर्मनीमा चार, पोर्तुगलमा आठ, अष्ट्रेलियामा नौ, साउदी अरेबियामा चार, कुवेतमा पाँच, जापान, मलेसिया, म्यानमार र हङकङमा एक/एक नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको कोभिड–१९ एनआरएनए उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.