कोरोना संक्रमितलाई के कस्तो औषधी दिएर उपचार गरिदैछ नेपालमा ?

  २०७६ चैत २३ गते ९:२६     प्रकाश वाग्ले

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट हाल सारा संसार आक्रान्त भैरहेको छ । नेपालमा पनि गत १० माघमै कोभिड १९ को पहिलो संक्रमण देखिएको थियो ।

नेपालमा संक्रमितको संख्या यो समाचार तयार पार्दासम्म ९ पुगेको छ । पछिल्लो केही दिनयताको तथ्यांकले संक्रमण बढ्दो क्रममा रहेको संकेत गर्छ ।

नेपालमा पुष्टी भएका ९ जना संक्रमितमध्ये १ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने बाँकी ८ जनाको अस्पतालमा उपचार भैरहेको छ । उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सरकारी अधिकारीहरुले बताएका छन् ।

नेपालमा हालसम्म कोरोनाको संक्रमणका कारण कसैको पनि मृत्यु भएको पुस्टी भएको छैन । संसारभरको तथ्यांक हेर्ने हो भने पनि करिब ११ लाख संक्रमित हुँदा ५५ हजारभन्दा बढीको मृत्यु तथा करिब २ लाख ५० हजारको उपचारपछि निको भएका अहिलेसम्मको तथ्यांकले देखाउँछ ।

तर, कोरोना भाइरसको औषधी भने हालसम्म पत्ता लागेको छैन । औषधी बनाउनको लागि संसारभरका हजारौँ बैज्ञानिकहरु दिनरात अनुसन्धान गरिरहेका छन् । तर हालसम्म कुनै ठोस निस्कर्षमा पुग्न नसकेको समाचारहरु आइरहेका छन् ।

कोरोना संक्रमितको उपचारको लागि हरेक देशले आआफ्नै उपचार पद्दति अपनाएका छन् । कोरोना भाइरस विरुद्धको औषधी वा कोरोना संक्रमण विरुद्ध खोप वा औषधी पत्ता नलागे पनि विश्वभर यो संक्रमण भएर प िनिको हुनेहरुको संख्या ठूलो छ । अधिकांश देशले संक्रमितको उपचार खर्च राज्यको तर्फबाट नै बेहोरेका छन् । औषधी उपचारको व्यवस्था राज्यले नै मिलाएको छ ।

नेपालमा कसरी भइरहेको छ उपचार ?

हालसम्म नेपालमा देखापरेका संक्रमण त्यस्तो गम्भीर प्रकृतिको नभएको, ज्वरो, खोकी जस्ता साधारण समस्या मात्र देखिएकाले पारासिटामोल लगायतका सामान्य औषधीबाट उपचार भैरहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीे बताउँछन् ।

संक्रमितलाई भाइरसको कारण हुनसक्ने सेकेन्डरी इन्फेक्सनबाट बच्नका लागि केही एन्टिवायोटीकहरु समेत प्रयोग गरिएको, हालसम्म कोरोनाको संक्रमणका कारण भेण्डिलेटरमा उपचार गर्नुपर्ने अबस्था नआएको, ओसेल्टामिभेर, रिटोनाभेर जस्ता एन्टिरेट्रो भाइरलहरु समेत लक्षण तथा सरुवाको रोग प्रतिरोधात्मक क्षमता बृद्धीको लागि प्रयोग गर्ने गरिएको छ ।

अन्य केही मुलुकमा प्रयोगमा रहेको हाइड्रो अक्सीक्लोरोक्विनको घातक साइडइफेक्ट रहेको कारण प्रयोगमा नरहेको र कोरोना उपचारको लागि नेपालमा आफ्नै गाइडलाइन तयार गरेर देशैभर समान उपचार पद्धति लागू गरिएको डा. राजभण्डारीे बताउँछन् ।

त्यस्तै युनिभसिर्टी अफ नटिङ्गमका भाइरोलोजिस्ट प्रा. जोनाथन वाल्ट जर्नलमा लेख्छन् ‘कोरोना भाइरसको सटिक औषधी नबन्दासम्मका लागि उपचारको उपलब्ध बिकल्प भनेको लक्षणको आधारमा गरिने उपचार नै हो । स्वासप्रस्वासमा समस्या उत्पन्न भए अक्सिजन मास्क तथा कृत्रिम स्वासप्रस्वास (भेन्डिलेटर) को प्रयोग, अस्थिर रक्तचापको लागि इन्ट्राभेनस ट्रिप, पखालाको लागि पुनर्जलीय उपचार तथा दुखाइ अत्याधिक भए पेनकिलरको प्रयोग गरिने उपचार नै हो । अन्ततः भाइरससँग लड्ने तथा भाइरसलाई हराउने भनेको मानव शरीरले नै हो ।’

अव प्रश्न उठ्न सक्छ कि लक्षणको आधारमा उपचार हुने तथा भाइरसलाई मानव शरीरले नै हराउने गर्दछ भने कोरोना बिरुद्धको औषधी किन आवस्यक पर्यो त ? त्यसको लागि हामीले यो बुझ्न आवश्यक छ कि लक्षणको आधारमा गरिने उपचार शतप्रतिसत सफल छैन । कोरोना संक्रमणको फैलावट अत्यन्त तीब्र छ । तथ्यांकलाई नै हेर्दा २ लाख ५० हजारको उपचार पश्चात निको हुँदा ५५ हजारभन्दा धेरैको मृत्यु भैसकेको छ । त्यसैले कोरोना बिरुद्धको औषधी अत्यावश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.