कोरोना संक्रमितः नाका छलेर चोरबाटाे अपनाए, न क्वारेन्टाइनमा बसे

  २०७६ चैत २२ गते १४:५७     सन्ताेष राेकाया

काडमाडौं । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा देखिएका कोरोना संक्रमितले मुख्य नाका छलेर चोरबाटो अर्थात अर्कै नाकाबाट नेपाल प्रवेश गरेको बुझिएको छ । छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भारतमा रहेका नेपालीहरु स्वदेश आएका थिए ।

तर, नेपाल सरकारले त्यतिसम्म अर्थात चैत्र ११ गते लकडाउन घोषणा गरिसकेको थियो । भारतबाट आएका नेपाली सीमा नाका गड्डाचौकी र त्रिनगरमा अलपत्र परे । तिनीहरुमध्ये धेरैले सरकारको आँखा छले । कतियय महाकाली नदिबाट पौडी खेलेर नेपाल प्रवेश गरे भने कतिपयले विभिन्न जंगल हुँदै स्वदेश आए ।

सरकारको आँखा छलेर तिनीहरुले स्वदेश त प्रवेश गरे तर आफुले संयमता अपनाएनन् । बरु आफुलाई कोरोना नलागेको भनेर फुर्ती गर्दै घर परिवारसँग बस्न थाले । सरकारले गरेकाे लकडाउनकाे धज्जी उडाउँदै नाकामा नारा जुलुस गरे ।   अन्तिममा केही नलागेपछि सरकारले उनीहरुलाई गाडीमा राखेर जिल्ला-जिल्लामा पुर्यायो ।

घर पुगेपछि उनीहरुले क्वारेन्टाइनमा बस्न उचित ठानेनन् । प्रदेश सरकारले उनीहरुसँग १४ दिन अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नु पर्ने सम्झौता गर्दै जिल्ला-जिल्लामा त पठायो तर उनीहरु त्यसप्रति सजग बनेनन् । बरु यो सरकारलाई दोष दिँदै सरकारको लागि हो जसरी घमण्डका साथ काम गरी परिवारसँग घुलमिल गरे ।

फलस्वरुप आज कैलालीमका भारतबाट आएका दुई जनामा कोरोना पोजेटिभ देखियो । उनीहरु दुवै जनाले चोरबाटो अपनाएका थिए । उनीहरु दुवैले मुख्य नाका छल्दै लुकेर भारतबाट आएको पाइएको छ । ती दुबैजना भारतबाट फर्किएका हुन्।

कैलालीका कोरोना संक्रमित युवक ११ गते ९ सय ९९ को भीडमा गौरीफन्टामा थिए।  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले ११ गते गौरीफन्टा नाकाबाट गाडीको व्यवस्था गरी विभिन्न ठाउँ पठाएका यात्रुहरुमा उनी पनि रहेको बुझिएको जानकारी दिए।

उनको निगरानीमा संलग्न स्वास्थ्यकर्मीका अनुसार १२ गते बिहान घरबाटै युवकलाई क्वारेन्टाईनमा ल्याईएको थियो। नमुना संकलन गरी परिक्षणका लागि काठमाडौँ पठाएकोमा आज रिर्पोट पोजेटिभ आएपछि एम्बुलेन्स मार्फत सेती प्रादेशिक अस्पताल पुगाईएको थियो।

तर, कञ्चनपुरमा भेटिएका संक्रमित भने चाेरबाटाे अपनाएर स्वदेश फर्केका थिए । स्रोतका अनुसार उनी लकडाउनको अवस्थामा गड्डाचौकी नाका बन्द रहेको अवस्थामा चैत्र १४ गते ब्रम्हदेव हुँदै कञ्चनपुर पुगेका थिए । संक्रमित एकजना भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष हुन् उनी कञ्चनपुरको वेदकोट नगरपालिकाका हुन् ।

अर्को संक्रमित कैलालीका २१ वर्षीय पुरूष हुन् र उनी मुम्बइबाट फर्किएका थिए । यसरी मुख्य नाका छलेर चोरबाटो अपनाउने धेरै छन् । अब उनीहरु पनि बढी जोखिममा छन् । सरकारले आम नागरिकको स्वास्थ्यलाई मध्येनजर गर्दै सावधानी अपनाउन अनुरोध गरिरहेको बेला नागरिकहरु नै सरकारले आफ्नै लागि गरेको हो भन्ने जसरी वेवास्ता गर्दा नेपालमा नै जोखिम बढेको छ ।

सम्पूर्ण नेपालीका लागि अपनाएको यो विधि र सजगतालाई एक/दुई जनाले वेवास्ता गर्नु सम्पूर्ण नेपालीको स्वास्थ्य माथि खेलबाड गर्नु हो । यति बेला आफ्नो स्वास्थ्य मात्र होइन अरुको स्वास्थ्य र जीवनका लागि पनि सजग बनिदिनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.