बैंकिङ र बीमाका नियमित सेवा बन्द, आपत्कालिन सेवा मात्र सुचारू

  २०७६ चैत १३ गते १०:१८     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले नियमित सेवा बन्द गरेको छन् । तर उनीहरुले आपतकालिन अवस्थामा ग्राहकलाई सेवा दिईरहेको जनाएका छन् ।

बैंकहरुले एटीएम र अनलाइन सेवा सुचारु गरेका छन् । तर नियमित काउन्टर सेवा भने लगभग बन्द गरिएकाे जनाएका छन् ।

‘कोरोना भाइरसको जोखिम पनि भयो । काउन्टर खोल्दा दिनभरका २/३ वटा मात्र कारोबार भएका छन् । कुनै काउन्टरमा दिनभर एउटा पनि कारोबार नभई बन्द भएका पनि छन्’ डेभलपेन्ट बैंकर्स संघका अध्यक्ष तथा गरिमा विकास बैंकका अध्यक्ष गोविन्द प्रसाद ढकालले भने ।

बैंकको शाखा खोल्नको लागि कम्तिमा ३ जना कर्मचारी आवश्यक पर्ने तर गृह प्रशासनले २ वटा भन्दा बढी पास नदिएकोले पनि बैंकहरुले नियमित सेवा दिन नसकेको उनले बताए ।

‘सरकारले दिएको पासले १० देखि १२ बजेसम्म मात्र हिड्न पाइने रहेछ । २ घण्टाको बास बोकेर बैंकमा पुगेर घर फर्कन हतार हुन्छ । कति समय बैंक खोलेर बस्ने ?’ उनले समस्याहरु सुनाउदै भने–‘कतिपय स्थानीय सरकारले बैंकिङ सेवा पूर्ण रुपमा बन्द गराउने निर्णय पनि गरेका छन् । त्यस क्षेत्रमा हामीले चाहेर पनि बैंकिङ सेवा सुचारु गर्न सक्दैनौं ।’

एटीएमबाट एक लाख २५ हजार रुपैयाँसम्म झिक्ने मिल्ने सुविधा भएको, जुनसुकै बैंक तथा फाइनान्सको एटीएमबाट पैसा झिके पनि शुल्क नलाग्ने सुविधा भएकोले ग्राहकलाई समस्या नपर्ने बैंकर्सहरुको भनाई छ ।

एटीएम कार्ड पनि नभएको, इन्टरनेट बैकिङ सुविधा पनि प्रयोग नगरेका ग्राहक वा आपत्कालिन अवस्थामा परेका ग्राहकले सम्बन्धित बैंकका शाखाका खटिएका सुरक्षा कर्मीसँग सम्पर्क गर्न सक्ने र उनीहरुले शाखा प्रमुख वा तोकिएको अधिकृतसँग सम्पर्क गरी आपत्कालिन सेवा दिने प्रबन्ध मिलाएको ढकालले बताए ।

कोरोना फाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको, सरकारको कदममा सहयोग गर्नु, आफू र समाजलाई सुरक्षित राख्न, ग्राहक र कर्मचारीको सुरक्षामा सजग हुनको लागि आफूहरुले बैंकको नियमित सेवा बन्द गरेको ज्योति विकास बैंकले विहीबार जारी सूचनामा जनाएको छ । एटीएम, मोवाइल बैकिङ, इन्टरनेट बैकिङ, कनेक्ट आईपीएस सेवाहरु सुचरु रहेको र उल्लेखित सबै सेवाहरु निःशुल्क गरिएको बैंकले जनाएको छ ।

बैंकहरूले जस्तै बीमा कम्पनीहरुले पनि सार्वजनिक सूचना जारी गरी नियमित सेवा बन्द गर्नु परेको जनाएका छन् ।  यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले देशभर लकडाउन भएको र ग्राहकहरुलाई बीमा सेवा नियमित रुपमा प्रदान गर्न कठिन भएको जनाउँदै अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण कार्यालयहरु बन्द गरिएको जनाएको छ ।

बैंक र बीमा कम्पनीहरूले नियमित सेवा बन्द सम्बिन्ध सूचनामा आपतकालिन सेवाका लागि सम्पर्क व्यक्ति र माेवाइल नम्बर भने उल्लेख गरेका छन् ।

सरकारले बैंकिङ र बीमा सेवालाई अत्यावश्यक सेवा अन्तरगत राखेको छ र लकडाउनको बेलामा पनि अत्यावश्यक सेवा सुचारू हुने जनाएको छ । कोरोना जोखिम उच्च भएकोले बेलामा बैंकिङ र बीमा सेवा सञ्चालन गर्न धेरै जोखिम भएकोले बन्द गर्नु पर्ने माग सञ्चालकहरुको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.