विहीबार मन्त्रिपरिषद बैठक बस्ने, गभर्नर सिफारिस समिति बन्ने

  २०७६ चैत ५ गते १९:१२     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक राख्ने भएका छन् । मिर्गाैला प्रत्यारोपणका लागि १२ दिन अस्पताल बसेर प्रधानमन्त्री ओली फर्केका एक साता वित्न लागेपनि उनको स्वास्थ्यको कारण मन्त्रिपरिषद बैठक बसेको थिएन ।

विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरसबाट बच्न र यसको सन्त्रासबाट उत्पन्न भएको आर्थिकलगायतका संकटन सामना गर्न मन्त्रिपरिषदले नीतिगत निर्णय गर्नुपर्ने वाध्यात्मक अवस्था आएपछि मन्त्रिपरिषद बैठक बोलाउन लागिएको हो ।

यस्तै, नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त भएपनि सो पदमा नियुक्तिको लागि प्रक्रिया सुरु गर्न मन्त्रिपरिषदले नै अग्रसरता लिनुपर्ने भएकोले बैठक बोलाउन लागिएको प्रधानमन्त्री ओलीको सचिवालय स्रोतले जानकारी दियो ।

‘कोरोना भाइरसबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनिकरण र आवश्यक सावधानीका विषयमा केही नीतिगत निर्णय गर्नुपर्ने अवस्था छ, यस्तै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सिफारिस समिति पनि बनाउनु पर्ने भएकोले मन्त्रिपरिषद बैठक बोलाउन लागिएको हो,’ सचिवालय स्रोतले भने ।

सरकारले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गरेका केही नीतिगत निर्णय मन्त्रिपरिषदबाट स्वीकृत गर्नुपर्ने भएकोले तत्काल मन्त्रिपरिषद बैठक डाक्नुपर्ने भएको हो ।

मन्त्रिपरिषद बैठक विहीबारको लागि बोलाइएको स्रोतको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.