कोरोना त्रासः अब अनावश्यक हिडडुल गर्न नपाइने, सबै सार्वजनिक स्थल पनि बन्द

  २०७६ चैत ५ गते १७:५०     विकासन्युज

काठमाडौं । सरकारले अत्यावश्यक काम बाहेक  बाहिर हिडडुल नगर्न निर्देशन दिएकाे छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय सतिमिको बैठकले सबैलाई अत्यावश्यक कामबाहेक अनावश्यक बाहिर हिडडुल नगर्न निर्देशन दिएकाे हो । समितिले विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नेपालमा भित्रिन नदिन यस्तो निर्णय गरेको हो ।

समितिले सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टीप्यालेस, मठमन्दिर, गुम्वा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन बन्द गर्ने निर्णय गरेको छ । सोको अनुगमन गृह मन्त्रालय एवं संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गर्ने उल्लेख गरेको छ । कोरोना रोकथाम तथा संक्रमण हुन नदिनका लागि यसबाहेक समितिले अन्य १५ वटा महत्वपूर्ण निर्णय गरेको छ ।

साथै, समितिले कोरोना भाइरस रोगबाट संक्रमण भई उपचार गर्नुपर्ने भएमा त्यस्ता विरामीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका सरकारी, सामुदायिक तथा निजी अस्पतालहरुबाट उपचार गराउने व्यवस्था मिलाउने बताएको छ । समितिले सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ्ग पुल, मनोरञ्जन स्थल, डान्सवार तथा क्लव आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय गरेको छ ।

यसको अनुगमन गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने उल्लेख गरेको छ । यस्तै, समितिले बजारमा उपभोग्य सामग्रीको कृतिम अभाव श्रृजना गर्ने, जम्माखोरी, कालो बजारी, मिसावट गर्ने, गराउनेलाई तत्काल प्रचलित कानून बमोजिम कार्वाही गर्ने, दैनिक उपभोग्य अत्यावश्यक सामग्रीहरुको पर्याप्त मौज्दात भएकोले आम उपभोक्तालाई आवश्यक भन्दा बढी सामग्रीहरु खरिद र अनावश्यक संचय नगर्न अनुरोध गर्ने उल्लेख गरेको छ ।

२०७६ चैत्र ६ गते देखि संचालन हुन गइरहेको एसइई परीक्षा केन्द्रहरुमा स्वास्थ्य जाँच सहितको हेल्थ डेस्क स्थापना गरी सुरक्षित एवं व्यवस्थित रुपमा सम्पन्न गर्ने समितिले जनाएको छ । तर, बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र विश्वविद्यालयहरुका पठनपाठन २०७६ चैत्र मसान्तसम्मका लागि बन्द गर्ने निर्णय भएको छ ।

यस्तै, होटेल, रेष्टुरेन्ट तथा सपिङ्ग महलका संचालकहरुलाई हात सफा गर्ने स्यानिटाइजरलगायत सफाइका सामग्रीहरुको प्रवन्ध गर्ने जनाएको छ । अवैध रुपमा लुकाइ राखिएका अवस्थामा फेला परी गृह मन्त्रालयबाट जफत गरिएका माक्सहरु मध्ये ५ लाख थान माक्स स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई र बाँकी माक्स साझा स्वास्थ्यसेवा सहकारी संस्था लिमिटेड मार्फत विक्री वितरण गर्ने प्रबन्धका लागि पठाउने उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.