सरकारले घोषणा गरेको आर्थिक विकासको सुरु वर्षमा बैंकमा निक्षेप र ऋण दुबै घट्यो

  २०७६ चैत ५ गते १५:५६     विकासन्युज

काठमाडौं । सरकारले चालु आर्थिक वर्षलाई समृद्धि र विकासको सुरु वर्ष घोषणा गरेको छ । सरकार गठन भएको पहिलो वर्षलाई आर्थिक विकास र समृद्धिको आधार वर्षको रुपमा घोषणा गरेको सरकारले दोस्रो वर्षलाई विकास र समृद्धि सुरु वर्षको रुपमा घोषणा गरेको थियो ।

सरकारले यसरी विकास सुरु वर्ष घोषणा गरेपनि यो वर्षको सूचकले अपेक्षाकृत सफलता हासिल हुनेमा शका उत्पन्न गरेको छ । यद्यपि, पछिल्लो समय विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस संक्रमणलाई कारण देखाउँदै प्रश्न र गुनासोहरुबाट जोगिन पाउने अवसर भने सरकारले पाएको छ ।

कोरोना भाइरस संक्रमण देखाएर सरकारले आर्थिक विकास र समृद्धिका सूचकबाट पन्छिन पाउने सुविधा भएपनि तथ्यांकले भने अर्थतन्त्रले सोभन्दा अगाडि नै अपेक्षित गति लिन नसकेका देखाएका छन् ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा बैंकिङ क्षेत्रबाट प्रवाह हुने कर्जा र बैंकमा जम्मा हुने निक्षेप गत आर्थिक वर्षकोभन्दा पनि कम भएको पाइएको छ । गत आर्थिक वर्षको उपलब्धीप्रति प्रश्न उठेपछि सरकारले सो वर्षलाई आर्थिक विकास र समृद्धिको आधार वर्ष भएको भन्दै चालु आर्थिक वर्षलाई विकास सुरु वर्ष भनेको थियो ।

तर, विकास सुरु भनिएको वर्षमा नै बैंकिङ क्षेत्रका गतिविधि गत आर्थिक वर्षको भन्दा सुस्त देखिएका छन् । अर्थतन्त्रको रक्त संचार मानिने बैंकिङ गतविधिमा सुस्तता आउँदा सरकारको अपेक्षा अनुसार विकासले गति लिन नसकेको प्रष्ट हुन्छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुमा गत आर्थिक वर्षको तुलनामा निक्षेप रकम बृद्धिदर कम छ । यस्तै कर्जा प्रवाहको बृद्धिदर पनि घटेको छ ।

निक्षेप परिचालन

बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ६.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ८.७ प्रतिशतले बढेको थियो । गत आर्थिक वर्षको तुलनामा यो वर्षको निक्षेप बृद्धिदर कम छ ।

गत माघ मसान्तमा चल्ती, बचत र मुद्दतीको कुल निक्षेपमा क्रमशः ८.२ प्रतिशत, ३१.६ प्रतिशत र ४९.९ प्रतिशत अंश रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.७ प्रतिशत, ३३.५ प्रतिशत र ४७.६ प्रतिशत थियो ।

माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.९ प्रतिशत छ । अघिल्लो वर्षको माघ मसान्तमा यस्तो निक्षेपको अंश ४४.८ प्रतिशत थियो ।

कर्जा प्रवाह

बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १४ प्रतिशतले बढेको थियो । कर्जा प्रवाहको बृद्धिदर पनि गत वर्षको भन्दा घटेको छ ।

बैंक तथा वित्तीय संस्थाको २०७६ माघ मसान्तमा लगानीमा रहेको कर्जामध्ये ६५.१ प्रतिशत घरजग्गाको धितोमा र १३.४ प्रतिशत चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७५ माघ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६३.४ प्रतिशत र १४.५ प्रतिशत रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फ १०.९ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फ १०.३ प्रतिशत, निर्माण क्षेत्रतर्फ १०.२ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ १०.२ प्रतिशत र सेवा क्षेत्रतर्फ ११.८ प्रतिशतले कर्जा बढेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा १८.३ प्रतिशत, ओभरड्राफ्ट कर्जा ४.९ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ७.८ प्रतिशत, डिमान्ड तथा चालु पुँजी कर्जा १०.५ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ८.७ प्रतिशत र हायर पर्चेज कर्जा १ प्रतिशतले बढेको छ भने मार्जिन प्रकृतिको कर्जा ०.१ प्रतिशतले घटेको छ ।

तरलता व्यवस्थापन

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ७ महिनामा खुला बजार कारोबारमार्फत् कुल ५८ अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ३५ करोड रुपैयाँ तरलता प्रशोचन गरिएको थियो ।

राष्ट्र बैंकले रिपोमार्फत ९१ अर्ब ६४ करोड रुपैयाँ र स्थायी तरलता सुविधामार्फत ६९ अर्ब ५५ करोड रुपैयाँ गरी कुल १ खर्ब ६१ अर्ब १९ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा रिपोमार्फत २१ अर्ब ३ करोड र स्थायी तरलता सुविधामार्फत ६ अर्ब ७२ करोड रुपैयाँ गरी कुल २७ अर्ब ७५ करोड रुपैयाँ तरलता प्रवाह भएको थियो ।

राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंक) बाट अमेरिकी डलर २ अर्ब २ करोड खुद खरिद गरी २ खर्ब ३० अर्ब ९ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब ७२ करोड खुद खरिद गरी १ खर्ब ९७ अर्ब ६६ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो ।

यस्तै, अमेरिकी डलर २ अर्ब ४० करोड बिक्री गरी २ खर्ब ७२ अर्ब ८० करोड रुपैयाँ बराबरको भारतीय रुपैँया खरिद गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २ अर्ब ४८ करोड र अन्य परिवत्र्य विदेशी मुद्रा बिक्री गरी ३ खर्ब ११ अर्ब ५ करोड रुपैयाँ बराबरको भारतीय रुपैँया खरिद गरिएको थियो ।

पुनरकर्जा

उत्पादनशील गतिविधि तथा निर्यातलाई प्रोत्साहित गर्ने उद्देश्यले राष्ट्र बैंकबाट सहुलियत दरमा प्रदान गरिदै आएको पुनरकर्जा २०७६ माघ मसान्तमा २१ अर्ब १९ करोड रुपैयाँ लगानीमा रहेको छ । यस अन्तर्गत साधारण पुनरकर्जा १८ अर्ब १७ करोड रुपैयाँ र निर्यात पुनरकर्जा १ अर्ब ३८ करोड रुपैयाँ उपयोग भएको छ ।

भूकम्प पीडितलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनरकर्जाको बक्यौता २०७६ माघ मसान्तमा १ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । यस्तो कर्जा १ हजार ५ सय ९२ ऋणीले उपयोग गरेका राष्ट्र बैंकले जानकारी दिएको छ ।

सहुलियतपूर्ण कर्जा

गत माघ मसान्तसम्ममा कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत २२ हजार ३ सय २४ ऋणीको ४७ अर्ब १६ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ । त्यसैगरी, सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत ३ हजार ७ सय ८० ऋणीको २ अर्ब ३१ करोड रुपैयाँ कर्जा बक्यौता रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

अन्तर–बैंक कारोबार

गत माघ मसान्तसम्ममा वाणिज्य बैंकहरुबीच १० खर्ब ५९ अर्ब ९ करोड रुपैयाँ र अन्य वित्तीय संस्था (वाणिज्य बैंकबीच बाहेक) बीच १ खर्ब ३७ करोड रुपैयाँको अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंक र अन्य वित्तीय संस्था (वाणिज्य बैंकबीच बाहेक) ले क्रमशः ८ खर्ब ४२ अर्ब १० करोड र १ खर्ब २६ अर्ब ४ करोड रुपैयाँको यस्तो कारोबार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.