निजी क्षेत्रसँग अर्थमन्त्रीको आग्रहः अहिले सरकारलाई सहयोग गर्नुस्, पछि सरकारले तपाईंहरुलाई सहयोग गर्छ

  २०७६ चैत २ गते १७:३६     राजाराम न्यौपाने

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरस संक्रमणको कारण नेपाली अर्थतन्त्रमा पर्न सक्ने असरको न्यूनिकरणका लागि निजी क्षेत्रसँग सहकार्य र सहयोग आदान प्रदान गर्न सरकार तयार रहेको बताएका छन् ।

निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै मन्त्री खतिवडाले कोरोना भाइस संक्रमणको कारण पर्नसक्ने आर्थिक समस्यासँग जुध्न सरकार र निजी क्षेत्र एक भएर अगाडि बढ्नु पर्ने बताएका हुन् । खासगरी महामारीको समयमा उत्पन्न हुन सक्ने आपूर्ति समस्या र दैनिक उपभोग्य बस्तुका सहज विक्री वितरणको व्यवस्था मिलाउन मन्त्री खतिवडाले निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाका पदाधिकारीसँग आग्रह गरे ।

संकटको समयमा निजी क्षेत्र र सरकार मिलेर अघि बढ्नु पर्ने भन्दै मन्त्री खतिवडाले दैनिक उपभोग्य बस्तुको उपलब्धतामा पहिला जस्तै सुचारु हुने व्यवस्थाको लागि पहल गरिदिन निजी क्षेत्रका प्रतिनिधिसँग आग्रह गरेका अर्थमन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले जानकारी दिए ।

‘निजी क्षेत्रका प्रतिनिधिसँग सम्भावित संकट र सो संकटबाट उत्पन्न हुन सक्ने जोखिमका विषयमा छलफल भयो, निजी क्षेत्रले आफ्नो धारणा राख्यो, सरकारको तर्फबाट आपूर्ति प्रणालीमा समस्या नआउने गरी कसरी अघि बढ्न सकिएला भन्ने सन्दर्भमा छलफल भएको हो,’ प्रवक्ता खत्रीले विकासन्युजसँग भने ।

सो छलफलमा निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल बैंकर्स एसोसिएसनलगायतका प्रतिनिधिको सहभागिता थियो । सो छलफलमा मन्त्री खतिवडाले निजी क्षेत्रले सामना गरेको समस्या समाधान गर्नको लागि सरकारले आवश्यक सबै प्रकारका सहयोग गर्ने आश्वासन दिएका थिए ।

मन्त्री खतिवडाले भूकम्प र नाकाबन्दीको भन्दा पनि ठूलो असर अहिले देखिएको भन्दै सामना गर्न सबै पक्ष तयार तथा एकजुट हुनुपर्ने धारणा राखेका थिए ।

छलफलमा सहभागी नेपाल चेम्बर अफ कर्मशका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले समस्या समाधानको लागि सरकार तथा निजी क्षेत्र कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भएको जानकारी दिए । सरकारले निजी क्षेत्र, व्यापारी र बैंकर्सलाई कोरोनाको संकटमा सहयोग गर्न तयार रहन आग्रह गरेको बताए ।

‘कोरोना संक्रमको कारण विश्व अर्थव्यवस्था तथा नेपाली अर्थव्यवस्थामा गम्भीर असर पर्ने प्रष्ट संकेत देखिएको छ, यस्तो बेलामा निजी क्षेत्रको समस्या समाधान गर्नको लागि सहयोग गर्न सरकार तयार छ, निजी क्षेत्रले पनि सरकारलाई सहसयोग गर्नुपर्यो भन्ने कुरा सरकारी पक्षबाट आयो, हामीले पनि निजी क्षेत्रले भोगेका समस्या समाधानको लागि सरकारले पहल गरिदिनु्पर्यो भन्ने कुरा राख्यौं,’ वरिष्ठ उपाध्यक्ष मल्लले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.