अझैँ आइपुगेन रेल, अबकाे भाका चैत १८

  २०७६ फागुन ३० गते १४:५५     सन्ताेष राेकाया

काठमाडौं । सरकारले भारतमा बनेका दुई रेल नेपाल आइ पुग्छन् भनेको पनि महिनौं बित्यो । रेल विभागले यसअघि पटक–पटक रेल नेपाल आइपुग्ने मिति तय पनि गर्यो । तर, अहिले सम्म न रेल नेपाल आइपुग्यो नत त्यसको लागि भौतिक संरचना तयार पार्यो ।

विभागले सुरुमा दशैं लगत्तै नेपाल रेल आइ पुग्ने बतायो । त्यतिखेर पनि विविध कारण रेल नेपाल आउन नसकेको भन्दै माघको लागि मिति तोक्यो । विभागले माघमा रेल ल्याउनका लागि भौतिक संरचना तयार नभएको भन्दै माघमा पनि रेल ल्याउन सकेन । अहिले नेपालले खरिद गरेका दुई रेल भारतमा तयार भइसकेका छन् ।

तर, नेपालले रेलका लागि आवयक पर्ने भौतिक संरचना तयार नभएको भन्दै अहिले रेल ल्याउन नसकिने बताएको छ । भारतको जयनगरदेखि धनुषाको जनकपुर हुँदै कुर्थासम्म ३५ किलोमिटर दूरीमा सञ्चालन हुने भनिएको रेल सेवा सञ्चालनमा ढिलाई भइरहेको छ ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले अब चैत १८ अर्थात मार्च ३१ मा रेल नेपाल आइपुग्ने बताए । उनले आजसम्म नेपालमा भौतिक संरचना निर्माण भइनसकेकोले ल्याउन ढिलाई भएकाे बताए । बरु उनी यस अघि पटक–पटक रेल ल्याउने समय नतोकेको जिकिर गर्छन् ।
‘यसअघि हामीले संरचनाहरु निर्माण गरिसकेको थिएनौं, भत्केका रेलका लिकहरु निर्माण गरिरहेका थियौं, हामीले अहिले त्यो पनि निर्माण गरिसकेका छौं,’उनले भने ।

उनले एउटा एसी, २ वटा जनरल बोगी र एउटा इन्जिनको आधा भागको बोगी गरेर ५ वटा बोगी सहितको रेल भारतमा बनेर तयारी अवस्थामा रहेको बताए । ‘भारतमा बनिसकेको रेल ल्याएर नेपालमा थन्क्याउने कूरा भएन, हामीसँग रेल चलाउने जनशक्ति पनि छैन, न कुनै कार्यविधि छ, त्यसकारण पनि ढिलाई भएको हो, रेल निर्माणमा कुनै समस्या छैन, भारतमा रेल निर्माण भइसकेको छ,’ मिश्रले भने ।

नेपाल सरकारले भारतको कोनकोन रेलवे कर्पोरेशन लिमिटेडसँग २ वटा डेमु रेल खरिद गर्ने निर्णय गरेर भुक्तानी समेत पठाइसकेको छ । सरकारले २ वटा डेमु रेलका लागि कोनकोन रेलवेलाई ८४ करोड ६५ लाख ९५ हजार ६ सय रुपैंयाँ भुक्तानी पठाइसकेको बताइको छ । सम्झौता अनुसार नेपालमा रेल आइसकेपछि बाँकीको रकम भुक्तानी गरिने छ ।

एसी बोगी र जनरल बोगीमा १ पटक कम्तिमा पनि १ हजारदेखि १ हजार २०० जना यात्रुले यात्रा गर्न सक्ने बताइएको छ । रेल सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति नेपालमा नभएका कारण बनिसकेको रेल समेत नेपाल ल्याइएको छैन । तत्कालका लागि जयनगरदेखि कुर्थासम्म ३४ किलोमिटर मात्र रेल सञ्चालन हुने उनको भनाइ छ ।

२ सय कर्मचारीका लागि पुनस् विज्ञापन गर्ने तयारी

रेल विभागले रेल सञ्चालनका लागि २ सय कर्मचारीहरु राख्ने भएको छ । २२६ जना जनशक्ति आवश्यक पर्ने भनी मन्त्रिपरिषद् बैठकबाट निर्णय भएर स्वीकृत भइसकेको छ । सरकारको निर्णय अनुसार नेपाल रेल्वे कम्पनीको सम्पर्क कार्यालय काठमाडौंले फागुन ९ गते १५ दिने म्यादभित्र आवेदन भर्न भन्दै २६ जना जनशक्तिका लागि विज्ञापन खोलेको थियो ।

एक जना सिनियर सेक्सनल इन्जिनियर सिग्नलिङ, ८ जना स्टेसन मास्टर, १ जना चिफ पावर कन्ट्रोलर, १ जना चिफ लोको इन्स्पेक्टर, ३ जना लोको पाइलट, ३ जना सहलोको पाइलट, ३ जना पीवे सुपरभाइजर, ३ जना मेकानिक, ३ जना प्वाइन्ट्स म्यान गरी २६ जना प्राविधिक जनशक्तिका लागि आवेदन माग गरिएको थियो ।

कम्तिमा ५ वर्षको अनुभव भएको, चालकका लागि लाइसेन्स भएको नेपाली नागरिकका लागि विज्ञापन खोलिएको थियो तर नेपालमा आवश्यक अनुभव पुग्ने जनशक्तिको आवेदन नै परेन । तोकिएको म्यादभित्र एउटा पनि आवेदन नआएको रेल्वे विभागका मेकानिकल इन्जिनियर नवराज भट्टले बताए ।

श्रम ऐनको दफा २२ मा नेपालमा जनशक्ति नपाउँदा मात्र विदेशी जनशक्ति लिन पाउने प्रावधान रहेका कारण जनशक्ति नपाइएको प्रमाणित गर्न २६ जनाको विज्ञापन गरिएको भट्ट बताउँछन् । रेल्वे चालकका लागि लाइसेन्स अनिवार्य हुनुपर्छ तर नेपालमा रेल चालकको लाइसेन्स प्रदान गर्ने सरकारी निकाय नै छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.