खल्लो बन्यो होली, ६० प्रतिशतले घट्यो व्यापार

  २०७६ फागुन २६ गते १६:२५     सन्ताेष राेकाया

काठमाडौं । यस वर्षको होली गत वर्षहरुको जस्तो उल्लास देखिएन । रङ्गको पर्वका रुपमा चिनिने होलीमा न रङ लगाएकका मानिसहरु देखिए नत ह्याप्पी होली लेखिएका टिसर्ट नै ।  विश्वभर फैलिरहेको कोरोना भाइरसको त्रासका कारण यो वर्षको होली खल्लो बनेको छ ।

कोरोना भाइरसकै कारण यो वर्षको होलीका सामानको व्यपारमा पनि ठूलै गिरावट आएको छ । उपत्यकालगायत देशभर उल्लासमय वातावरणमा होली मनाउने चलन रहे पनि यो वर्ष भने कोरोनाका भाइरसकै कारण केही शान्त देखिएको हो । सरकारले भीड भएर होली खेल्न निषेध गरेपछि यो वर्ष होलीको रौनक खासै नदेखिएको हो ।

गत वर्षहरुमा होलीको दिनमा सडकमा होली खेल्ने मानिसको भिडले रंगमय देखिन्थे  तर यो वर्ष भने उपत्यका सुनसान देखियो । विश्वभर कोरोनाको संक्रमण फैलिएको सन्दर्भमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले कुनै पनि औपचारिक कार्यक्रमका लागि स्वीकृति दिएको छैन ।

यद्यपि वसन्तपुरमा भने सर्वसाधारण तथा पर्यटकहरूको सामान्य जमघट भने भएको छ । कोरोना भाइरसको संक्रमण हुन सक्ने भन्दै सरकारले होली नखेल्न आग्रह गरेपछि होलीमा हुने ब्यापारीक कारोबारमा पनि कमी आएको हो । होलीका टिसर्ट र रङको व्यापार यस वर्ष करिब ६० प्रतिशतले घटेको बताइएकाे छ ।

गत वर्षको भन्दा यो वर्षको होलीमा ६० प्रतिशतले व्यापार कम भएको खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्यले बताए ।
उनले गत वर्षको भन्दा होलीको सामान व्यापारमा धेरै कमि आएको बताए । गत वर्षहरुमा खुद्रा पसलहरुबाट पनि होली रङको कारोबार हुने गरेकामा यस वर्ष खासै कारोबार नभएको उनको भनाइ छ ।

होली खेल्नुभन्दा पनि मानिसमा कोरोनाको त्रास बढी छ, त्यसैले व्यापार नभएको हो,सरकारले पनि भिडभाड नगर्नु भनेर निर्देशन दिएको छ, कोरोनाकै कारण व्यापारीलाई धेरै घाटा भएको छ,’ उनले भने ।

यस अघि सरकारले कोरोना भाइरसको संक्रमण हुन सक्ने भएकाले भीडभाडमा होली नखेल्न र सतर्क रहन आग्रह गरेको थियो । गत शनिबार विज्ञप्ति निकाल्दै गृह मन्त्रालयले होलीमा विगतमा जस्तो भीडमाड नगर्न आग्रह गरेको थियो ।

भीडभाड तथा भेलाजम्मा हुने, लोलापानी फ्याँक्ने, शरिरमा रङ दल्ने कार्य समेत जोखिमपूर्ण हुने भएकाले विगतको जस्तै होली नखेल्न आग्रह गर्दै गृह मन्त्रालयको विज्ञप्तिमा जारी गरेको थियो ।

विश्व स्वास्थ संगठनले नेपाललाई समेत कोरोना भाइरसको उच्च जोखिममा राखेकाे छ । यसले पनि नागरिकमा त्रास बढ्दो छ । यस वर्ष रङ्ग र  टिसर्टको कारोबार कम भएको व्यवसायीहरु बताउँछन् । यो वर्ष रङ्गको मात्र ७५ प्रतिशत व्यापार घटेको व्यापारीहरु बताउँछन् । बागबजारका एक व्यापारीका अनुसार यस वर्षको होलीमा उनको व्यापारमा धेरै कमि आएको छ ।

‘गत वर्ष धेरै टिसर्टहरु बिक्रि गर्थेँ, यो वर्ष १०/२० टिसर्ट पनि बिक्रि भएनन्, यो मेरो अहिलेसम्मको कम व्यापार भएको अनुभव हो,’ उनले भने ।  अघिल्ला वर्षहरुका होलीमा ३०/४० हजारभन्दा बढीको रंगको व्यापार गर्ने तर  यस वर्षको होलीमा एक/दुई हजारको व्यापार पनि नभएकाे उनकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.