२०७६ फागुन १४ गते १२:२८ विकासन्युज
भद्रपुर । झापाको चन्द्रगढीमा रहेको हुलाक बचत बैंकको पुँजी हाल रु तीन करोड रहेको छ । सरकारी कर्मचारी तथा सर्वसाधारण नागरिकको सुविधाका लागि झापा जिल्ला हुलाक कार्यालय भद्रपुरद्वारा सञ्चालित हुलाक बचत बैंकमा सरकारी कर्मचारीको रु दुई करोड र अन्यको रु एक करोड गरी रु तीन करोड पूँजी भएको हो ।
हुलाक कार्यालयकै भुइँतलामा बैंकको काउन्टर छ । सर्वसाधारण ग्राहकलाई छ प्रतिशत ब्याज र ज्येष्ठ नागरिकलाई सात प्रतिशत ब्याज उपलब्ध हुने हुलाक बचत बैंक फाँटका इन्चार्ज रामहरि खतिवडाले बताए । एक हजार १ सय ग्राहक रहेको बैंकमा रु ५ सय देखि रु नौ लाखसम्म बचत गर्न सकिनेछ ।
कर्मचारीलाई बिनाधितो रु चार लाख ५० हजार ऋण दिने व्यवस्था गरिएको छ । मासिक तलबबाट कट्टी हुनेगरी कर्मचारीलाई ऋण उपलब्ध गरिएको उनले बताए । ऋण लिएबापत कर्मचारीले आठ प्रतिशत ब्याज बुझाउनुपर्नेछ ।
सो ऋण ७२ किस्ता अर्थात् ६ वर्षमा तिरिसक्नुपर्ने नियम छ । हुलाक ऐन, २०१९ अन्तर्गत हुलाक बचत बैंक नियमावली, २०३३ अनुसार आर्थिक वर्ष २०३३/३४ देखि हुलाक बचत बैंकको स्थापना भएको हुलाक कार्यालय प्रमुख दामोदर घिमिरेको भनाइ छ । देशभरका ११७ हुलाक कार्यालयमा उक्त बैंक स्थापना भएको छ ।
सानो पूँजी एकीकृत गरी देश विकासमा टेवा पुर्याउने उद्देश्यका साथ हुलाक बचत बैंक सञ्चालन गरिएको हो । हुलाक सेवा विभागको आर्थिक सेवा तथा टिकट शाखाले देशभरका बैंकसम्बन्धी कार्य हेर्ने गर्दछ । खतिवडाका अनुसार बैंकमा रु एक करोड ६० लाख मुद्दतिमा र रु एक करोड ५२ लाख ऋण लगानी गरेको छ । बैंकले बाल बचतलगायतका खातासमेत सञ्चालनमा ल्याएको उनको भनाइ छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.