खल्ती वालेट र भाटभटेनीबीच सम्झौता, एपबाटै पैसा ट्रान्सफर गर्न सकिने

  २०७६ फागुन ५ गते १७:५५     विकासन्युज

काठमाडौं । खल्ती डिजिटल वालेट र भाटभटेनी ग्रुपबीच खल्ती एपबाटै मनी ट्रान्सफर सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । भाटभटेनी ग्रुपद्वारा प्रबर्धित भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रवन्धक मुनाल जंग कार्की र खल्तीका निर्देशक अमित अग्रवालले कान्तिपथ स्थित भाटभटेनी मनी ट्रान्सफरको मुख्य कार्यालयमा आयोजित एक समारोहबीच सम्झौता पत्रमा हस्ताक्षर गरी उक्त सेवाको थालनी गरेका हुन् ।

सम्झौता अनुसार अब खल्ती एपबाट सिधै पैसा पठाउन सकिने र भाटभटेनी सुपरमार्केट तथा भाटभटेनीका देशैभरी रहेका २५०० भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत उक्त पैसा झिक्न सकिनेछ ।

यस सम्झौतासँगै खल्तीले एपमा रेमिट्यान्स नाम गरेको एउटा नयाँ आइकन ल्याएको छ । उक्त आइकनमा क्लिक गरी खल्ती प्रयोगकर्ताले आफ्ना साथीभाई तथा परिवारलाई पठाउन चाहेको रकम सजिलै पठाउन सक्नेछन् । यसरी पैसा पठाईसकेपछि पाउनुपर्ने पाउने व्यक्तिले आफ्नो मोबाईलमा एसएमएस मार्फत एउटा पिन प्राप्त गर्न सक्नेछन् । प्राप्तकर्ताले तोकिएको भाटभटेनी सुपरमार्केट अथवा रेमिट्यान्स एजेन्टको कार्यालयमा गई उक्त पिन देखाएर सहज तथा सरल रुपमा पैसा निकाल्न सक्नेछन् ।

यसका साथै अब खल्ती प्रयोगकर्ताले भाटभटेनी सुपरमार्केट तथा देशैभरी रहेका रेमिट्यान्स एजेन्ट मार्फत खल्तीमा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।

भाटभटेनी ग्रुप सँगको उक्त सम्झौताका बारेमा बोल्दै खल्तीका निर्देशक अमित अग्रवालले भने, “यस प्रकारको सहकार्य गरी खल्ती प्रयोगकर्ताहरुलाई एपबाटै सिधै पैसा पठाउन र भाटभटेनी सुपरमार्केट तथा देशैभरी रहेका रेमिट्यान्स एजेन्ट मार्फत भुक्तानी लिने सेवा थालनी गर्न पाउँदा उत्साहित छौँ । यस सहकार्य सँगै नेपालमा नविनतम डिजिटल फाइनान्सियल सेवा मार्फत मानिसको जीवन सहज बनाउने हाम्रो लक्ष्य तर्फ एक कदम अगाडी बढेको भान भएको छ ।”

त्यस्तै, भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रवन्धक मुनाल जंग कार्कीले भने, “प्रविधि व्यवसायमा संलग्न नेपाली युवाहरुको समूहले सुरु गरेको वालेट एपबाटै पैसा पठाउने र भाटभटेनी सुपरमार्केट तथा हाम्रा एजेन्ट मार्फत पैसा निकाल्ने उहाँहरुको अप्रोच हामीलाई राम्रो लाग्यो। आन्तरिक मनी ट्रान्सफर सेवा सँगै बिना अतिरिक्त शुल्क खल्ती वालेटमा पैसा लोड गर्न र विभिन्न डिजिटल भुक्तानी सेवा प्रदान गर्न हामी आतुर छौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.