खाडीदेशबाट पानी आयात गर्दै नेपाल, ९० प्रतिशत व्यापार घाटामा

  २०७६ फागुन २ गते १४:४२     राजाराम न्यौपाने

 

काठमाडौं ।  जलस्रोतका हिसाबले नेपाल विश्वको दोस्रो ठूलो देश भनेर चिनिन्छ । तर, खाडीदेशबाट नेपालमा पानी (मिनरल वाटर) आयात हुने गरेको छ ।

जलस्रोतका धनी मुलुकमा पर्ने नेपालले वर्षेनी पिउने पानी समेत आयात गर्दै आएको छ । नेपालमा हरेक वर्ष मरुभूमि भएका मुलुकबाट समेत पानी आयात गरेर नेपालीले पानी उपभोग गर्ने गरेका छन ।

यसको अर्थ नेपाल खानेपानीमा गरीब नै भने होइन । हिमालय, महाभारत र चुरे तीनै पर्वत श्रृंखलाहरुमा मूल बनाएर बहने थुप्रै नदीनाला भएकाले नेपालमा खानेपानी प्रचुर मात्रामा छ । प्रचुर मात्रामा पानी भएको नेपाली बजारमा खानेपानी भने विदेशबाट आयात हुन्छ ।

चार वर्षको अवधिमा दुवईबाट मात्र २८ लाख ४७ हजार रूपैयाँको खानेपानी आएको छ । नेपालमा सबैभन्दा धेरै खानेपानी भारतबाट आउने गरेको छ । चार वर्षमा भारतबाट कुल ३ करोड ९६ लाख रूपैयाँको पानी नेपाल आयात भएको छ ।

स्वच्छ पानीको स्रोत कम भएका खाडी मुलुक संयुक्त अरब ईमिरेट्ससहित अन्य धेरै मूलुकबाट नेपालमा पानी आयत हुने गरेको छ ।  आर्थिक वर्ष २०७५/७६ को पहिलोे ६ महीनामा मात्र नेपालले कुल १६ लाख १६ हजार रूपैयाँको पानी आयात गरेकाे छ । तर, साे अवधिमा नेपालबाट जम्मा १ लाख ६८ हजार रूपैयाँको पानी निर्यात भएको छ । ६ महिनामा खानेपानीको वैदेशिक व्यापारमा समेत नेपालले १४ लाख ४८ हजारले घाटा ब्यहोरेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार ६ महिनाकाे समयमा नेपालले बेलायत, संयुक्त अरब इमिरेट्स, भारत, पोल्याण्ड, अमेरिका, फ्रान्स, इटाली, जापान, फिलिपिन्स, थाइल्याण्ड, र क्यानडाबाट पानी आयात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

नेपालमा विदेशी मुलुककाे हिउँबाट प्रशोधन गरिएको, मिनरलयुक्त, चिनी मिसाइएको र चिनी नमिसाइएको गरी चार प्रकारका पानी आयात हुने गरेको छ । गत चार  वर्षमा नेपालले विदेशबाट ७ करोड ४० लाख रूपैयाँको पानी आयात गरेको छ ।

आर्थिक वर्ष २०७२/०७३ देखि २०७५/०७६ सम्ममा १३ मुलुकबाट उक्त परिमाणको २१ लाख लिटर पानी आयात भएको छ ।

यूएई, भारत, चीन, बेलायत, हंगेरी, बंगलादेश, फिलिपिन्स, थाइल्याण्ड, फ्रान्स, अमेरिका, सिंगापुर, अष्ट्रेलिया र क्यानडा लगायतका देशबाट खानेपानी आयात हुँदै आएको विभागको तथ्याङकमा उल्लेख छ । ४ वर्षमा सबैभन्दा बढी खानेपानी भारतबाट आयात भएको छ । साे अवधिमा भारतबाट कुल ३ करोड ९६ लाख रूपैयाँको पानी आयात भएको छ ।

४ वर्षमा ३५ लाखको पानी निर्यात

४ वर्षमा नेपालबाट ३५ लाख ५६ हजार रूपैयाँको मात्र पानी निर्यात भएको छ । नेपालबाट भारत, चीन, फ्रान्स, कोरिया, जर्मनी, यूएई र अमेरिकामा पानी निर्यात भएको हाे ।

नेपालबाट ४ वर्षमा सबैभन्दा बढी कोरियामा १२ लाख ३२ हजार रूपैयाँको निर्यात भएको छ । चीनमा चार लाख ५४ हजारको, अमेरिकामा ११ हजार रूपैयाँको र फ्रान्समा तीन लाख ६८ हजार रुपैयाँको पानी निर्यात भएको छ । सबैभन्दा थाेरै यूएईमा सात हजार रूपैयाँको मात्रै पानी निर्यात भएको छ ।

किन आयत हुन्छ विदेशबाट नेपालमा पानी ?

एवान मिनरल वाटर कम्पनीका सञ्चालक सुरेश श्रेष्ठले देशमा रहेका पाँचतारे होटलले उच्च गुणस्तर र ब्रान्डका पानी खोज्ने भएकाले विदेशबाट आयात गर्ने गरेको बताए । पाँचतारे होटलमा आउने कतिपय पर्यटकले अन्तर्राष्ट्रिय ब्रान्डको पानी खोज्छन् र नेपाली ब्रान्डको पानीलाई विश्वास नगर्ने गरेको उनकाे भनाइ छ ।

उनले नेपालमा मिनरल वाटरको मूल्य वि‍स २०६० सालदेखि अहिलेसम्म एउटै भएकाले पनि नेपालमा मिनरल वाटर उत्पादन गर्ने कम्पनीहरु बन्द हुँदै गएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.