६ महिनामा बैंकको नाफाः बढाउनेमा लिड गर्यो एनएमबीले, ग्लोबल आईएमई र एनआईसी एसिया पछ्याउँदै

  २०७६ माघ २९ गते १७:३९     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुको चालु आर्थिक वर्ष (आव) को ६ महिनाको नाफा सार्वजनिक भएको छ । बैंकहरुले गत आवको ६ महिनाको तुलनामा चालु आवमा नाफा ८.८६ प्रतिशतले बढाएका छन् ।

बैंकहरुले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले नाफा बढेको देखाएको हो । संचालनमा रहेका २७ वाणिज्य बैंकमा सबैभन्दा धेरै नाफा बृद्धि गर्नेमा एनएमबी बैंक (४७.४ प्रतिशत) र सबैभन्दा धेरै नाफा घटाउनेमा नेपाल बैंक (१८.६ प्रतिशत) रहेका छन् ।

एनएमबी बैंकले गत आवको ६ महिनामा १ अर्ब १० करोड ९९ लाख रुपैयाँ नाफा गरेको थियो । सो बैंकले चालु आवको ६ महिनामा भने १ अर्ब ६३ करोड ६० लाख रुपैयाँ नाफा गरेको छ । एनएमबीसँग चालु आवको दोस्रो त्रैमासमा राष्ट्रियस्तरको ओम डेभलपमेन्ट बैंक मर्ज भएको थियो ।

यस्तै, ग्लोबल आईएमई बैंकले नाफा गत आवको तुलनामा ३७.१३ प्रतिशतले बढाएको छ । गत आवको ६ महिनामा १ अर्ब २२ करोड ९३ लाख रुपैयाँ नाफा गरेको ग्लोबल आईएमईले चालु आवको सोही अवधिमा भने १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ नाफा गरेको छ ।

मेगा बैंकको नाफा पनि उल्लेख्य रुपमा बढेको छ । बैंकले गत आवको ६ महिनामा ७३ करोड २० लाख रुपैयाँ नाफा गरेकोमा चालु आवको सोही अवधिमा ९५ करोड २ लाख रुपैयाँ नाफा गरेको छ । मेगाको नाफा बृद्धि २९.८ प्रतिशत छ ।

गत आवको पुस मसान्तसम्मको तुलनामा सबैभन्दा बढी नाफा भने नेपाल बैंकको घटेको छ । नेपाल बैंकले गत आवको तुलनामा चालु आवको ६ महिनामा नाफा १८.६ प्रतिशतले घटाएको छ । नेपाल बैंकले गत आवको ६ महिनामा १ अर्ब ६६ करोड १४ लाख रुपैयाँ नाफा गरेकोमा चालु आवको सोही अवधिमा १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ गरेको छ ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा पनि घटेको छ । गत आवको ६ महिनामा १ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ नाफा गरेको इन्भेष्टमेन्ट बैंकले चालु आवको सोही अवधिमा १ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ नाफा गरेको छ ।

कृषि विकास बैंकले नाफा २२.८ प्रतिशतले बढाएको छ । गत आवको ६ महिनामा १ अर्ब २८ करोड ८० लाख रुपैयाँ नाफा गरेको कृषि विकास बैंकले चालु आवको सोही अवधिमा १ अर्ब ५८ करोड १७ लाख रुपैयाँ नाफा गरेको छ ।

बैंक अफ काठमाडूको नाफा १९.८३ प्रतिशतले बढेको छ । बैंकले गत आवको ६ महिनामा ७३ करोड ७५ लाख रुपैयाँ नाफा गरेको थियो भने चालु आवको सोही अवधिमा ८८ करोड ३८ लाख रुपैयाँ नाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.