के कारण घट्यो सरकारी लगानीका नेपाल बैंक र रावा बैंकको नाफा ?

  २०७६ माघ २९ गते १२:०१     विकासन्युज

काठमाडौं । सरकारले संचालक समिति र व्यवस्थापन प्रमुख नियुक्त गर्ने २ सरकारी बैंकको नाफा चालु आर्थिक वर्ष (आव) को पुस मसान्तमा केही कम देखिएको छ । गत आवको तुलनामा नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको नाफा घटेको देखिएको हो ।

नेपाल बैंकमा सरकारको सँगै सर्वसाधारणको पनि लगानी छ । तर, नेपाल बैंकको संचालक समिति अध्यक्ष सरकारले नियुक्त गर्छ भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) संचालक समितिले खोज्छ । राष्ट्रिय वाणिज्य (रावा) बैंकमा भने करिब शतप्रतिशत नै सरकारको लगानी छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा यी दुबै बैंकको नाफा गत वर्षको सोही अवधिको तुलनामा केही घटेको छ । नेपाल बैंकको नाफा ३० करोड ९१ लाख रुपैयाँ कम छ भने रावा बैंकको नाफा २० करोड ५ लाख रुपैयाँ कम छ ।

नेपाल बैंकले निक्षेप र कर्जामा दिने व्याज अन्तर घटाएको कारण नाफा कम देखिएको छ । रावा बैंकले भने व्याज अन्तर बढाएको छ, नोक्सानी व्यवस्थाको लागि राख्नुपर्ने रकम प्रतिशतमा घटाएको छ । तर पनि नाफा कम भएको छ । रावा बैंकको संचालन खर्च बढेका कारण नाफा कम देखिएको हो ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्ष (आव) को ६ महिनामा २ अर्ब २० करोड ९४ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ४० करोड ९९ लाख रुपैयाँ गरेको थियो ।

बैंकले प्रकाशित गरेको चालु आवको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणका अनुसार बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा करिब २० करोड रुपैयाँले घटेको छ । खराब कर्जा जति छ, त्यति रकम नोक्सानी व्यवस्थाको लागि पनि नराख्दा र व्याज अन्तर (स्प्रेड) दर बढाउँदा पनि बैंकको नाफा कम घटेको छ ।

बैंकको संचालन खर्च बढेका कारण नाफा घटेको हो । गत वर्ष बैंकले ५ अर्ब ५६ करोड ९८ लाख रुपैयाँ खुद संचालन आम्दानी गरेको बैंकले चालु आवमा ५ अर्ब ५५ करोड ९३ लाख रुपैयाँ खुद संचालन आम्दानी गरेको छ ।

पुस मसान्तसम्ममा बैंकले सर्वसाधारणमा १ खर्ब ४७ अर्ब ८९ करोड ७९ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले १ खर्ब ४२ अर्ब २ करोड २८ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो ।

चालु आवको पुस मसान्तसम्ममा बैंकमा सर्वसाधारणको १ खर्ब ९४ अर्ब ९० करोड १९ लाख रुपैयाँ निक्षेप छ । गत आवको साृेही अवधिमा बैंकका सर्वसाधारणको १ खर्ब ८९ अर्ब २५ करोड ५३ लाख रुपैयाँ निक्षेप थियो । बैंकले सर्वसाधारणको निक्षेप करिब ६ अर्ब रुपैयाँ बढाउँदा कर्जा तथा लगानी करिब करिब ५ अर्ब रुपैयाँ बढाएको छ ।

बैंकको खुद व्याज आम्दानी बढेको छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकले ४ अर्ब ९५ करोड ३६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो भने चालु आवको सोही अवधिमा ५ अर्ब ६ करोड ६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

बैंकले गत आवको ६ महिनामा ७ अर्ब २३ करोड ४३ लाख रुपैयाँ व्याज आम्दानी गरी २ अर्ब २८ करोड ६ लाख रुपैयाँ व्याज खर्च गरेको थियो । चालु आवको सोही अवधिसम्ममा बैंकले ८ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ व्याज आम्दानी गरी ३ अर्ब ६६ करोड ५८ लाख रुपैयाँ व्याज खर्च गरेको छ ।

बैंकको खराब कर्जा अनुपात बढेको छ । गत आवको पुस मसान्तसम्ममा ३.४० प्रतिशत रहेको खराब कर्जा अनुपात चालु आवको सोही अवधिसम्ममा ४.७७ प्रतिशत पुगेको छ । बैंकले खराब कर्जाको लागि सम्भावित नोक्सानी व्यवस्थामा ९५.४५ प्रतिशत मात्रै रकम राखेको छ । गत वर्षको सोही अवधिमा सम्भावित नोक्सानी व्यवस्थाको लागि ९९.७९ प्रतिशत रकम राखेको थियो । बैंकले दिएको कर्जाको सावा व्याज किस्ता नियमित उठेन भने सम्भावित नोक्सानी व्यवस्थाको लागि राखिएको रकमबाट बैंकको पुँजी कोष प्रभावित हुनबाट जोगाउने गरिन्छ । रकम थोरै राख्दा कुनै कर्जा खराब भयो भने बैंकको पुँजी कोष घट्न सक्छ ।

बैंकको कष्ट अफ फण्ड ४.७७ प्रतिशत छ । गत वर्ष कष्ट अफ फण्ड ३.४० प्रतिशत थियो । बैंकको कर्जा निक्षेप अनुपात ७२.६६ प्रतिशत छ । गत वर्षको पुस मसान्तसम्ममा यस्तो अनुपात ६९.२४ प्रतिशत थियो । कर्जा निक्षेप अनुपात ८० प्रतिशतसम्म पुर्याउन पाइन्छ । यस्तो अनुपात कम हुँदा बैंकको बैंकले विवेशील ढंगले स्रोतको परिचालन गर्न नसकेको अर्थ लाग्छ ।

बैंकको आधार दर ६.६ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा यस्तो अनुपात ५.६ प्रतिशत थियो । आधार दर बढ्दा कर्जाको व्याजदर बढ्न सक्छ । यस्तै गत वर्ष ४.७८ प्रतिशत रहेको व्याज अन्तर (स्प्रेड) दर यो वर्षको पुस मसान्तसम्म आइपुग्दा ५.५३ प्रतिशत छ । आगामी असार मसान्तसम्ममा बैंकहरुको व्याज अन्तरदर ४.४ प्रतिशतमा ल्याइसक्न नेपाल राष्ट्र बैंकले निर्देशन दिइसकेको छ ।

बैंकमा सरकारको करिब शतप्रतिशत लगानी रहेकोले बैंकमा परिसुचक जे जस्ता भएपनि प्रत्येक्ष रुपमा सर्वसाधारण लगानीकर्तालाई भने प्रभाव पार्ने छैन ।

नेपाल बैंक

चालु आर्थिक वर्षको ६ महिनामा नेपाल बैंकले १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको ६ महिनामा बैंकले १ अर्ब ६६ करोड १४ लाख रुपैयाँ नाफा गरेको थियो । गत वर्षको तुलनामा यो वर्षको ६ महिनामा नेपाल बैंकको नाफा ३० करोड ९१ लाख रुपैयाँ कम देखिएको छ ।

बैंकले निक्षेपकर्तालाई दिने व्याज बढाएको कारण नाफा घटेको देखिएको हो । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले बैंकको बैंकको खुद व्याज आम्दानी घटेको देखाउँछ । गत वर्षको ६ महिनामा ३ अर्ब १६ करोड ७२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ९९ करोड ६६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । निक्षेपमा बढी व्याज दिएकै कारण बैंकको खुद व्याज आम्दानी करिब १७ करोड रुपैयाँ घटेको छ ।

बैंकको व्याज आम्दानी भने बढेको छ । गत वर्षको ६ महिनामा ५ अर्ब २५ लाख रुपैयाँ व्याज आम्दानी भएको थियो । यो वर्षको ६ महिनामा व्याज आम्दानी ५ अर्ब ७४ करोड १७ लाख रुपैयाँ छ । व्याज आम्दानी करिब ७४ करोड रुपैयाँ बढ्दा पनि व्याज खर्च बढेका कारण खुद व्याज आम्दानी घटेको हो । गत वर्षको ६ महिनामा १ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ व्याज खर्च गरेको बैंकले यो वर्षको सोही अवधिमा २ अर्ब ९९ करोड ६६ लाख रुपैयाँ व्याज खर्च गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा ६ महिनामा बैंकको व्याज खर्च नै १ अर्ब रुपैयाँभन्दा बढी छ ।

निक्षेपमा दिने व्याज बढेका कारण बैंकको व्याज खर्च बढेको हो । यस्तै, बैंकको व्याज अन्तर ९स्प्रेड० दर पनि घटेको छ । गत वर्षको पुस मसान्तमा ४.९९ प्रतिशत रहेको व्याज अन्तर यसवर्षको पुस मसान्तमा आइपुग्दा ४.४४ प्रतिशतमा सिमित भएको छ ।

गत आवको पुस मसान्तमा २ अर्ब ३१ करोड २४ लाख रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले चालु आवको सोही अवधिमा १ अर्ब ७३ करोड ३४ लाख रुपैयाँ गरेको छ ।

बैंकसँग १ खर्ब १७ अर्ब १२ करोड २८ लाख रुपैयाँ निक्षेप छ भने ९८ अर्ब ४५ करोड ९६ लाख रुपैयाँ कर्जा तथा लगानी छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकमा १ खर्ब १७ अर्ब २० करोड रुपैयाँ निक्षेप र ९२ अर्ब ४२ करोड १६ लाख रुपैयाँ कर्जा तथा लगानी थियो । एक वर्षको बीचमा बैंकको निक्षेप करिब ८ करोड रुपैयाँले घटेको छ भने कर्जा तथा लगानी करिब ६ अर्ब रुपैयाँ कर्जा तथा लगानी बढाएको छ ।

बैंकको खराब कर्जा अनुपात २.६६ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा यस्तो अनुदात २.७४ प्रतिशत थियो । सम्भावित कर्जा नोक्सानीको लागि ११४.६१ प्रतिशत रकम बैंकले राखेको छ । कष्ट अफ फण्ड गत वर्षको पुस मसान्तमा ३.५८ प्रतिशत रहेकोमा यस वर्षको पुस मसान्तमा बढेर ५.१९ प्रतिशत पुगेको छ ।

गत वर्षको पुस मसान्तमा ७१.४७ प्रतिशत रहेको निक्षेप कर्जा अनुपात बढेर ७४.९३ प्रतिशत पुगेको छ । आधार दर ६.०६ बाट बढेर ७.८२ प्रतिशत पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.