२०७६ माघ २४ गते ११:१० विकासन्युज
गलकाेट । बागलुङमा ब्रोइलर कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च भएको छ । एक महिनाको अवधिमा तीनपटकसम्म मासुको मूल्यवृद्धि भएको मासु व्यवसायी सङ्घ बागलुङले जनाएको छ । जिल्लामा उत्पादन भएका ब्रोइलर कुखुराले बजारको माग धान्न नसकेपछि मूल्यवृद्धि गर्नुपरेको सङ्घका अध्यक्ष कृष्ण कार्कीले जानकारी दिए । माघ महिनाको अहिलेसम्म तीनपटक मूल्यवृद्धि भएको छ ।
महिनाको शुरुमा रु ३ सय ८० र रु ४ सय प्रतिकेजी हुँदै अहिलेका मूल्य रु ४ सय ४० पुगेको छ । कुखुरा फार्ममा कुखुराको उत्पादनमा कमी आएका कारण खरिद मूल्य बढेपछि मूल्य बढाउन बाध्य भएको व्यवसायीले बताएका छन् । कुखुराका माग धान्नै मुस्किल भएकाे र अन्यत्रबाट आयत गर्न ढुवानी खर्च बढी लाग्नाले मूल्य बढेकाे जानकारी गराए । अहिलेसम्म ४ सय नाघ्न सकेको थिएन ।
कुखुरा कम उत्पादन भएपछि हालसम्मकै उच्च मूल्यवृद्धि भएको हो । कुखुरा उत्पादकको घरमै पुग्दासमेत जिउदो कुखुरालाई रु ३ सयमा खरिद गर्नुपरेको मासु व्यवसायी कृष्ण जिसीले बताए । जिउँदो कुखुरालाई रु ३ सयमा खरिद गरेर गोदामभाडा, पसलभाडा तिरेर रु ४ सय ४० मा बिक्री गर्दा मेहनतसमेत नउठ्ने नभएको उनले जानकारी दिए ।
त्यस्तै खसी/बोकाको मासुको समेत प्रतिकेजीमा रु ५० वृद्धि भएको छ । रु ९ सय प्रतिकेजी खसी/बोकाको मूल्य माघ १९ गते देखि ९ सय ५० पुगेको हो । अन्य मासुको मूल्य यथावत रहे पनि कुखुराको मासुको मूल्य अझै वृद्धि हुने सम्भावना रहेको मासु व्यवसायी सङ्घले जनाएको छ ।रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.