विदेशीनैको लागि झुटो विवाह, केटी जुराउनेदेखि पण्डित मिलाउनेसम्म कन्सेल्टेन्सी सक्रिय

  २०७६ माघ १३ गते १३:१०     डाेमी शेर्पा

काठमाडौं । पछिल्लो समय युवामा विदेशीने होडवाजी छ । जसरी भएपनि विदेश गएर मनग्य आम्दानी गर्ने आश छ उनीहरुमा । यस्तै उत्सुकता एक दिन झापाका विशाल राईमा पनि उब्जियो । उनको विदेश गएर धेरै पैसा कमाई खुशीका साथ जीवन जिउने चाहना थियो ।

विदेश जानकै लागि उनले धेरै साथीको सल्लाह पनि लिए । सल्लाह लिनकै लागि उनी काठमाडौंको एक कन्सल्टेन्सीमा पुगे । कन्सल्टेन्सीले उनलाई विदेश जाने सल्लाह दियो ।

कन्सल्टेन्सीको कुराले उनलाई झन बढी विदेश जान मोहित पार्यो । विदेश पाईला टेक्ने वित्तिकै पैसाको थैलो नै अगाडि आउँछ भन्ने जसरी फकायाे कन्सल्टेन्सीले ।

उनमा भएको विदेशीने भोक झन बढ्दै गयो । कन्सल्टेन्सीले उनलाई डिपेण्डेण्ट भिसामा अष्ट्रेलिया जाने सल्लाह दियो । उनले डिपेण्डेण्ट भिसामा विदेश जान्छन् भन्ने सुनेको मात्र थिए।  कन्सल्टेन्सीले उनलाई एउटा आइडिया सुनायो– झुटो विवाह गरेर अष्ट्रेलिया जाने । एक छिन उनी झसंग भए ।

झुटो विवाह पनि हुन्छ र ?

कन्सल्टेन्सीले उत्तर दियो,‘हुन्छ’ ।

कसरी ?

तपाईसँग ५० लाख रुपैयाँ छ ?

कन्सल्टेन्सीको त्यो प्रश्न सुनेर उनी एकछिन् अलमलमा परे । उनी मध्यम वर्गीय परिवारका थिए । आम्दानी ठीकै थियो । दिदी– भिनाजु पनि अष्ट्रेलियामै बस्थे र अहिले पनि बस्छन् । उनले त्यति सम्झेर उत्तर दिइहाले, ‘छ’ ।

त्यसो भए एउटा आयल्स पास गरेको केटी छ । उससँग कुरा पनि भइसकेको छ । डिपेण्डेण्ट भीषामा उसैसँग अष्ट्रेलिया जानु पर्छ । केटी कुन हो ? के गर्छिन् ? कस्ति छन् ? विशाललाई केही थाहा थिएन । तर, उनको विदेश जाने भोकले ‘हुन्छ’ भन्यो ।

कुरा भएको केही हप्तापछि नै कन्सल्टेन्सीले उनीहरुको भेट गरायो । साँच्चीकै विवाह जस्तै बन्दोवस्त थियो त्यहाँ । पार्टी प्यालेस,पञ्चेबाजा, पण्डित, क्यामेरा पर्सन, जन्ती सबै तयार थिए । विशाललाई भने त्यो माहोल अचम्मको लागिरहेको थियो । त्यहाँ सिन्दुर, पोते, औठीं, माला, मण्डप सबैको व्यवस्था थियो ।

‘मलाई विदेशिने भोक थियो, त्यतिखेर म विदेश जानका लागि जे पनि गर्न तयार थिएँ,’ उनले भने ।

शुरुमा सँगै तस्विर खिचाउन पनि अप्ठ्यारो लागेको उनी बताउँछन् । तर, पछि कन्सल्टेन्सीले गराएअनुसारको काम गरेको उनले बताए ।

यस्तै, बाग्लुङकी शान्ति शर्मालाई पनि विदेश जाने रहर थियो । घरको आर्थिक अवस्था सामान्य भएकी उनको पढाई भने राम्रै थियो । उनी एक प्रतिष्ठित कम्पनीमा पनि काम गर्थिन् ।

शान्तिले पनि विशालकै जसरी विदेश जाने निर्णय गरिन् । आयल्सको परीक्षा दिईन् । पास पनि भइन् । अब उनलाई पैसा खर्च गर्न जोडी खोज्नु थियो । त्यसको भूमिका पनि कन्सल्टेन्सीले निर्वाह गर्यो ।

त्यो काम गर्न उनलाई गाह्रो त थियो नै । तर, त्यो गाह्रोभन्दा पनि आफूलाई फाइदा हुने भएपछि झुटो विवाह गर्न सहमत भइन् ।
मनमा डर र चिन्ता लिँदै उनले एक जनासँग विवाह गरिन् । उनी अहिले अष्ट्रेलियामै छन् । मासिक ३ लाख कमाउँछिन् ।

अहिले यसरी नै झुटो विवाह गरेर विदेशिने युवाको संख्या बढ्दै गएको छ । घरमा साहुलाई ऋण मागेर भएपनि ५० लाख रुपैयाँ तिरेर डिपेण्डेण्ट भीषामा विदेशीने युवाको संख्या बढ्दो छ । यसमा मध्यस्तकर्ताको भूमिका कन्सल्टेन्सीहरुले गरिरहेका छन् । युवाको विवाह गराउने, पण्डित लगाउने, तस्विर, भिडियो खिच्ने देखावटी कामहरु पछिल्लो समय बढ्दै गएका छन् ।

आयल्स पास गरेकाहरुको विवाह गरेर उनीहरुको कलेजको शुल्क, पासपोर्ट बनाउने रकम, सपिङ गर्ने रकम र घुम्न जाने रकम पनि ऐजेण्टले नै व्यवस्था गर्ने गरेको खुलेको छ । यस्ताे खर्च आयल्स पास गरेर जानेले व्यहाेर्नु पर्दैन ।

पठाउने एजेण्टलाई पनि धेरै फाइदा छ । तर, जसले लगानी गर्छ, उसको भने धेरै खर्च हुने पाइएको छ । यो प्रवृतिको पछाडि लागेर कतिपयको जीवन बर्बाद भएका घटनाहरु पनि प्रशस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.