राष्ट्रिय बाणिज्य बैंकलाई मर्जरमा जान अर्थमन्त्रीको सुझाव, सेयर जारी गर भनेनन्

  २०७६ माघ १० गते १६:०३     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय बाणिज्य बैंकलाई मर्जरमा जान सुझाव दिएका छन् । करिब शतप्रतिशत सरकारी लगानी रहेको बैंकलाई आफ्नो व्यवसाय मिल्ने बैंक खोजेर मर्जरमा जान अर्थमन्त्रीले सुझाव दिएका हुन्

बैंकको ५५औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री खतिवडाले यस्तो सुझाव दिएका हुन् । सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेट र नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा ठूला बाणिज्य बैंकबीच मर्जर भए त्यसलाई प्रोत्साहन गरिने भन्ने उल्लेख छ । तर, सरकारी लगानीका बैंकहरुबीच नै मर्जर नभएको अबस्थामा मन्त्री खतिवडाको यस्तो सुझाव आएको हो ।

‘बैंकिङ क्षेत्रका समस्या समाधानका लागि म सकारात्मक छु, यो बैंक (राष्ट्रिय बाणिज्य बैंक) ले आफ्नो व्यवसाय मिल्ने संस्था खोजेर मर्जरमा जानु उपयुक्त हुन्छ,’ मन्त्री खतिवडाले भने ।

राष्ट्रिय बाणिज्य बैंकमा सरकारको करिब शतप्रतिशत नै सेयर लगानी छ । केही समय अगाडि मर्जर भएको तत्कालिन एनआईडीसी डेभलपमेन्ट बैंकका साधारण सेयरधनी बाहेक बैंकमा सरकारको मात्रै लगानी छ ।

बैंक तथा वित्तीय संस्था ऐनले बैंकहरुलाई कम्तिमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिनै पर्ने व्यवस्था गरेपनि राष्ट्रिय बाणिज्य बैंकले सर्वसाधारणलाई सेयर दिएको छैन । सरकारको प्रमुख लगानी रहेको बैंक वित्तीय संस्थाले सर्वसाधारणको लागि तोकिए अनुसारको साधारण सेयर नदिए पनि हुन्छ भन्ने सो ऐनको व्यवस्था अनुसार नै बैंकले छुट पाउदै आएको छ । सबैभन्दा धेरै नाफा कमाउनेमध्येमा पर्ने राष्ट्रिय बाणिज्य बैंकलाई सेयर निस्कासनको लागि भने अर्थमन्त्री खतिवडाले केही बताएनन् ।

सरकारको लगानी रहेका कृषि विकास बैंक र नेपाल बैंकले भने बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुसार सर्वसाधारणलाई सेयर दिएका छन् । राष्ट्रिय बाणिज्य बैंकले साधारण सेयर जारी गर्ने नगर्ने विषयमा अर्थमन्त्रालयले आन्तरिक गृहकार्य गरिरहेको जानकारी दिदै अर्थमन्त्री खतिवडाले सेयर जारी गर्ने नगर्ने भन्ने केही बताएनन् ।

राष्ट्रिय वाणिज्य बैंकमा अहिले सर्वसाधारणको १ खर्ब ९७ अर्ब रुपैयाँ निक्षेप छ । यस्तै, बैंकले १ खर्ब ५० अर्ब रुपैयाँ कर्जा तथा लगानी गरेको छ ।

अर्थमन्त्री डा. खतिवडाले कर्जाको मात्रा बढाउनेभन्दा पनि गुणस्तर बृद्धिमा बढी ध्यान दिन सुझाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.