एक वर्षमा कृषि विकास बैंकः नाफा १७ प्रतिशत बढ्यो, खराब कर्जा १९ प्रतिशत घट्यो

  २०७६ माघ ५ गते १५:३२     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले एक वर्षको बीचमा वित्तीय परिसूचकमा उल्लेख्य सुधार गरेको छ । बैंकको गत वर्षको पुस मसान्त र यो वर्षको पुस मसान्तको तथ्यांक विश्लेषण गर्दा परिसूचकमा उल्लेख्य सुधार भएको देखिएको हो ।

बैंकले मनाउन लागेको ५३औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार अघिल्लो वर्षको पुस मसान्तमा बैंकसँग १ खर्ब १० अर्ब रुपैयाँ निक्षेप थियो । यो वर्षको पुस मसान्तमा बैंकसँग १ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप छ । एक वर्षको बीचमा बैंकको निक्षेप १५.४४ प्रतिशतले बढेको छ ।

बैंकको कर्जा तथा लगानी १०.२३ प्रतिशतले बढेको छ । गत वर्षको पुस मसान्तसम्ममा १ खर्ब ६ अर्ब रुपैयाँ कर्जा तथा लगानी गरेको बैंकले यो वर्षको पुस मसान्तसम्म आइपुग्दा यस्तो लगानी १ खर्ब १७ अर्ब रुपैयाँ पुर्याएको छ ।

बैंकको खराब कर्जाको अनुपात पनि निकै घटेको छ । गत वर्षको पुस मसान्तमा ४ अर्ब ७१ करोड रुपैयाँ खराब कर्जा रहेकोमा यस वर्षको पस मसान्त आइपुग्दा यस्तो कर्जा ४ अर्ब २३ करोड रुपैयाँमा सिमित भएको छ । एक वर्षको बीचमा बैंकको खराब कर्जा १०.३१ प्रतिशतले घटेको हो ।

रकमका आधारमा खराब कर्जा १०.३१ प्रतिशतले घटेको देखिए पनि प्रतिशतका आधारमा भने निकै घटेको छ । गत वर्षको पुसमा ४.४२ प्रतिशत रहेको खराब कर्जा अनुपात यसवर्षको पुसमा ३.५९ प्रतिशतमा झरेको छ । यो एक वर्षको बीचमा प्रतिशतका आधारमा बैंकको खराब कर्जा १८.६४ प्रतिशतले कम भएको हो ।

बैंकको करअघिको नाफामा १७ प्रतिशतले बढाएको छ । गत वर्षको पुस मसान्तमा १ अर्ब ७४ करोड रुपैयाँ नाफा गरेको बैंकले यो वर्षको पुस मसान्तमा २ अर्ब ३ करोड रुपैयाँ नाफा गरेको छ । यो नाफा सरकारलाई कर तिर्नुभन्दा अगाडिको हो ।

बैंकको प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँले बढेको छ । गत वर्षको पुस मसान्तमा २३.५५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी यो वषको पुस मसान्तमा २८.३७ रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.