वन तथा खानेपानी मन्त्रीबाट शुक्लाफाँटा निकुञ्जको प्रवेशद्वार शिलान्यास

  २०७६ माघ ५ गते १०:२८     विकासन्युज

काठमाडौं । कञ्चनपुरको बेलडाँडीस्थित शुक्लाफाँटा वन्यजन्तु आरक्ष (राष्ट्रिय निकुञ्ज) भित्र पर्यटकहरुलाई जंगल सफारी गराउने उद्देश्यले शनिबार प्रवेश द्वारको शिलान्यास गरिएको छ ।वन तथा वातावरण मन्त्री शक्ति बस्नेत र खानेपानी मन्त्री बिना मगरले संयुक्त रूपमा शुक्लाफाँटा निकुञ्ज दोस्रो प्रवेश द्वारको शिलान्यास गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै वन मन्त्री बस्नेतले शुक्लाफाँटा निकुञ्जलाई सरकारले खुला चिडियाखानाका रूपमा विकास गर्ने लक्ष्य राखेको बताए । उनले शुक्लाफाँटा निकुञ्जमा स्वदेशी तथा विदेशी पर्यटकहरु बढाउन सरकारले पूर्वाधारको विकास गर्न लागिरहेको जानकारी दिएका छन् ।

आरक्ष क्षेत्र हिजोका दिनमा समस्याका रूपमा देखा परेको थियो तर अब यो क्षेत्र आयस्रोत आर्जन गर्ने अवसर भएको छ, उनले भने ‘आरक्ष क्षेत्रबाट प्रताडित हुनुपर्ने दिन अब आउँदैन । यसलाई आर्थिक रुपान्तरणको माध्यम बनाउनुस । यहाँ होम स्टे चलाउनुस अनि युवाहरूलाई नेचर गाइडको तालिम दिने व्यवस्था गर्नुस् ।’

त्यस्तै, कार्यक्रममा खानेपानी मन्त्री मगरले शुक्लाफाँटा निकुञ्ज क्षेत्र आर्थिक समृद्धिको आधार बन्दै गएको बताएकी छन् । उनले यस क्षेत्रका जनताले अब आरक्षबाट राम्रो आम्दानी गर्ने अवसर प्राप्त गरेको धारणा राखिन् । हिजो यहाँका जनताले जंगली जनावरबाट दुस्ख पाएका थिए तर अब सरकारले समस्याको समाधान खोज्दैछ, उनले थप जोड दिदै भनिन्, ‘आरक्ष क्षेत्र आयस्रोतको मुख्य केन्द्र बन्दै छ । यसलाई समृद्धिसँग जोडेर हेर्नुपर्ने बेला आएको छ ।’

उनले यस क्षेत्रका जनताले माग गरिरहेका खानेपानी, सडक, ढल लगायत अन्य समस्याहरुलाई क्रमशः समाधान गर्दै लैजान पहल भैरहेको बताएकी छन् । बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापाले यस क्षेत्रका समस्याहरुबारे दुबै मन्त्री समक्ष ध्यानाकर्षण गराएका थिए ।

नेपाल भ्रमण वर्ष सुरु भैसकेकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढाउने गाउँपालिकाको उद्देश्य रहेको छ । अहिले एउटा मात्र प्रवेश द्वारबाट निकुञ्जमा जंगल सफारी हुने गरेकोमा अब अर्को प्रवेश द्वार खुला भए पछि पर्यटकहरु बढ्ने विश्वास गरिएको छ । निकुञ्जमा जंगल सफारी गराउन दोस्रो प्रवेश द्वार खोल्न खानेपानी मन्त्री मगरले विशेष भूमिका खेलेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.