अर्थमन्त्रीको प्रश्नः गल्ती नगरे सम्पति शुद्धीकरण र राजश्व अनुसन्धानसँग किन डराउनु ?

  २०७६ पुष २८ गते १६:४०     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले गल्ती नगरे सम्पति शुद्धीकरण र राजश्व अनुसन्धान विभागसँग डराउनै नपर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्शको ७० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले गल्ती गर्ने व्यवसायी मात्रै सम्पति शुद्धीकरण र राजश्व अनुसन्धानसँग डराउने बताएका हुन् ।

‘तपाईहरुले गल्ती नै गरेको छैन भने किन डराउनु हुन्छ ? डर तिनलाई लाग्छ जसले गल्ती गर्नु भएको छ । गल्ती नगर्नुस् र नडराउनुस्’- मन्त्री डा. खतिवडाले भने । उनले नेपालमा लगानीको वातावरण छैन भन्ने आरोपमा पनि कुनै दम नभएको पनि दावी गरे । घरायसी झगडा वा तनावका कारण व्यवसायीले लगानीको वातावरण बिग्रियो भनेको त होइन भन्दै व्यंग्य समेत गरेका थिए ।

अर्थमन्त्री डा. खतिवडाले निजी क्षेत्र र सरकार एउटै डुंगामा सवार रहेकाले प्रगति र अवनतिसँगै हुने पनि बताए । निजी क्षेत्र र सरकार एउटै डुंगामा सवार छौं, एउटाले नदी पार गर्ने र अर्को डुब्ने भन्ने हुन्न, हामी (सरकार)सँग त्यस्तो लाइफ ज्याकेट छैन जुन तपाईहरुसँग नभएको होस्, अर्थमन्त्री डा. खतिवडाले भने । उनले लगानीको वातावरणको विकासमा प्रतिकुल असर पार्ने खालका सबै कानुनहरु संसोधन गरिसकेको दावी पनि गरे । उनले अझै पनि केहि समस्या भए छलफलका क्रममा उठाउन अनुरोध समेत गरेका थिए । ‘चेम्बर ७० वर्षमा पुगेको छ र यो अझै पनि युवा नै छ, जोश र जागरको अधिकतम उपयोग गर्नुस् ।’ डा. खतिवडाले व्यङ्ग्यातमक शैलीमा भने ।

कार्यक्रममा उद्योग बाणिज्य तथा आपुर्ति राज्य मन्त्री मोतिलाल दुगडले निजी क्षेत्रको मनोबल उकास्न सरकार प्रयत्नशील रहेको बताएका थिए । चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले स्थीर सरकारका पालामा देशले विकास र समृद्धिको सपना पुरा गर्नु पर्ने र त्यसका लागि लगानीको वातावरण तयार हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा विभिन्न बिधामा सम्मान तथा पुरस्कार समेत वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.