राष्ट्रिय बीमा कम्पनी एक वर्षदेखि कामचलाउको भरमा, सीईओ छिट्टै खोज्ने अध्यक्षको दाबी

  २०७६ पुष १५ गते १८:४५     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) खोजी गर्न थालेको छ । करिब १ वर्षदेखि अर्थमन्त्रालयले पठाएका डा. डिल्लीराज अर्यालले सीईओको रुपमा काम गरेका भएपनि कम्पनी बल्ल सीईओ खोज्न लागेको हो ।

अर्थमन्त्रालयले पठाएका प्रतिनिधिको भरमा कम्पनी चलाउनु संस्थागत सुशासन विपरित भएको भन्दै नियामक निकाय बीमा समितिले प्रश्न उठाएपछि कम्पनी नयाँ सीईओको खोजीमा लागेको हो ।

नयाँ सीईओ खोजीको प्रक्रिया छिट्टै सुरु हुने कम्पनी संचालक समिति अध्यक्ष उमेशचन्द्र उपाध्यायले जानकारी दिए । कम्पनीमा लामो समयदेखि लेखापरीक्षण बाँकी रहेकोले सरकारी प्रतिनिधिले नै कम्पनीको नेतृत्व लिदा काम गर्न सहज होला कि भन्ने अनुमानले सीईओ छनोटमा केही ढिलाई भएको अध्यक्ष उपाध्यायले वताए ।

‘सीईओ नियुक्ति प्रक्रिया केही ढिला भएको हामीले महसुस गरेका छौं, लेखापरीक्षण लगायतका पुराना केही काम बाँकी रहेकोले पनि ढिलाई भएको हो, नियामकले पनि सीईओ नियुक्ति प्रक्रिया छिटो सुरु गर्न भनेको छ, त्यसैले छिट्टै नै प्रक्रिया अगाडि बढाउँदैछौं,’ अध्यक्ष उपाध्यायले भने ।

सेकेन्डमेनको पनि खोजी

कम्पनीले व्यवस्थापन सम्हाल्ने सेकेन्डमेन पनि नियुक्त गर्न सकेको छैन । सीईओ र डेपुटी सीईओ नै नहुँदा प्रशासनिक काम कारवाहीमा असर पुगेको कर्मचारीहरुको भनाइ छ ।

बीमा समितिले जारी गरेको विमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा टेकेर भएपनि चाढै नै डेपुटी सीईओ नियुक्त गर्ने तयारी भएको अध्यक्ष उपाध्यायले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.