पर्यटकलाई कोदो, फापर, भेडा र चौँरीका परिकार खुवाउ

  २०७६ पुष १२ गते १५:४४     नारायण न्यौपाने

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन नेपाल र नेपालीका स्थापित पहिचान, संस्कार र संस्कृति प्रयोगलाई जीवन्त तुल्याउन सुझाइएको छ । भ्रमण वर्षलाई सफल बनाउन ‘अतिथि देव : भव’ अर्थात् पाहुनालाई स्वागत, सत्कार र आतिथ्यता प्रदान गर्ने सन्दर्भमा कमजोर हुँदै गएको पुराना सोमतिलोे संस्कार पुनर्जीवित तुल्याउन आवश्यक देखिएको पूर्वसञ्चारमन्त्री राम कार्की बताउछन् ।

नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने नेपालले घोषणा गरेको छ । विश्वका कतिपय पर्यटक गन्तव्य भनी भएका मुलुकका तुलनामा नेपाल निकै सुन्दर र मनोरञ्जन पर्यटक गन्तव्यका रुपमा परिचित छ । भ्रमणका लागि आएका पर्यटकलाई प्रवेश विन्दुमै नेपालीको मौलिक पहिचान बिर्साउने गरी लाभहानिका आधारमा गरिने व्यवहार सच्याउँदै पाहुना आकर्षित हुने गतिविधि र आतिथ्यता प्रदान गर्न आवश्यक देखिएको छ । यद्यपि, नेपाल भ्रमणमा आउने पाहुनाको आतिथ्य सत्कारसँग सम्बन्धित विषयमा तालीम र प्रशिक्षणको कामलाई तीव्र तुल्याइएको छ ।

विमानस्थलमा ओर्लिएका पाहुनालाई अध्यागमनमा खटिएका कर्मचारीबाट अनुशासित र मर्यादित ढङ्गबाट व्यवहार गर्ने, होटलसम्म पुर्याउने चालकले यात्रा दूरी, समय जानकारीबारे जानकारी गराउँदै हार्दिकताका साथ सामान राखिदिने र यात्रालाई सहज तुल्याउन इच्छाएका वा नेपाली मौलिकतामा आधारित गीत–सङ्गीत सुन्ने व्यवस्था गरेमा नेपालप्रतिको आकर्षण बढ्नेछ ।

नेपालका संस्कृति, वेशभूषा, कला, रहनसहन र परिकार खाना, हेर्न, बुझ्न, सिक्न, थाहा पाउन आएका पर्यटकलाई पिज्जा, चाउचाउ, बर्गर, कोकफ्यान्टा खुवाउनुको साटो यहाँका कोदो, फापर तथा भेडा र चौँरीका उत्पादनका परिकार खुवाउन सके नेपालको समृद्धिमा योगदान पुग्नेछ । राईको जस्तोे दियायी, गुरुङको सत्कार र नेवारी खानाद्वारा हाम्रा मौलिक संस्कारबारे पाहुनालाई जानकारी गराउने तथा बाटै अवरुद्ध हुने र झन्झट हुने गरी नभई पर्यटकले राखेको जिज्ञासाको मात्र उत्तर संस्कार स्थापित गर्न सकेको खण्डमा पनि पाहुना नेपालप्रति लोभिन्छन् । यद्यपि सरकारले नेपाल भ्रमण वर्षलाई लक्षित गरी काठमाडौँका विभिन्न स्थानमा ‘नमस्ते सेन्टर’ स्थापना गरी नेपालको मौलिक पहिचान देखाउन कोसिस गरेको छ ।
प्लेन चार्टर गरेर ल्याउने अनि उनीहरुकै खाना खुवाउँदा जति नै पर्यटक आए पनि पनि मुलुकले आर्थिक समृद्धि हासिल हुन नसक्ने हुनाले हाम्रा डाँडाकाँडा, रहनसहन, संस्कृति, हिमाल, वन्यजन्तु, पर्यावरण, तालतलैया र जीवजन्तुबारे जानकारी गराउन मुलुक कुनाकाप्चामा पर्यटकलाई पुर्याउनुपर्ने देखिएको छ ।

नेपालीले विश्वमै पाहुनालाई आतिथ्यता प्रदान गर्ने उत्तम जातिका रुपमा पहिचान स्थापित गरे तापनि पछिल्लो समयमा त्यो पहिचान भने खस्कँदै गएको छ । नेपालमा पर्यटन भित्र्याउने सन्दर्भमा यातायात सम्पर्क सञ्जाल र आधारभूत पूर्वाधार चुनौतीका रुपमा रहेका छन् ।

उक्त चुनौतीलाई सम्बोधन गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता वृद्धि, भैरवास्थित गौतमबुद्ध विमानस्थल शीघ्राती शीघ्ररुपमा सञ्चालनमा ल्याउने तथा पोखरा विमानस्थलको निर्माण कार्यलाई तीव्रता दिने काम भइरहेको छ । नेपालमा पर्यटन प्रवद्र्धनका लागि छिमेकी मुलुकका अतिरिक्त भियतनाम, कम्बोडिया, म्यान्मा तथा मध्यपूर्वी देशमा विभिन्न कार्यक्रम अघि बढिरहेको पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए । विश्वको चर्चित फोब्स पत्रिकाले यो दशका विश्वका उत्कृष्ट पर्यटन गन्तव्यका रुपमा नेपाललाई छनोट गरेपछि एकाएक नेपालप्रति पर्यटकको मोह बढेको अनुमान गरिएको छ ।

नेपाल सहासिक पर्यटनका रुपमा मात्र होइन, पर्यापर्यटन, वन्यजन्तु, धार्मिक, सांस्कृतिक हिसाबले पनि महत्वपूर्ण गन्तव्य मानिन्छ । नेपाल भ्रमण वर्षलाई भव्यरुपमा सम्पन्न गर्ने सन्दर्भमा सरकारले उद्घाटन समारोहमा विश्वका १५ भन्दा बढी मुलुकका सञ्चारकर्मीलाई आमन्त्रण गरिएको छ । भर्खरै दक्षिण एशियाली खेलकुदको सफल आयोजना गरिएको दशरथ रङ्गशालामा हुने उद्घाटन समारोहमार्फत नेपाल भ्रमण वर्षको सन्देश विश्वभर पुर्याउने तयारी गरिएको छ । विश्वमा पर्यटन छिटो प्रवद्र्धन हुने मुलुकको सूचीमा नेपाल पर्दछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुने उक्त समारोह अपराह्न ३ बजेबाट हुने र सो अवसरमा नेपालका सांस्कृतिक गतिविधि प्रस्तुत गरिनेछ । समारोहलाई प्रधानमन्त्रीबाट सम्बोधन हुनेछ भने भ्रमण वर्षसम्बन्धी कार्यक्रम मुलुकका सातै प्रदेशमा सोही दिन थालनी हुनेछन् ।

नेपालमा वार्षिक पर्यटन वृद्धिदर २५ प्रतिशतको हाराहारीमा छ । नेपालको समृद्धिको आधार पर्यटन नै हो । पर्यटन क्षेत्रका विकास र विस्तार गर्ने क्रममा मुलुकका विभिन्न भागमा तीव्ररुपमा होटल निर्माणको क्रम बढेको छ । नेपाल भ्रमण वर्षको तयारीसँगै सरकार अब कुनै सिजनमा मात्र होइन, वर्षैभर पर्यटक नेपाल भ्रमणमा आउने वातावरण बनाउने तयारीमा जुटेको छ । भ्रमण वर्षमार्फत नेपालको सांस्कृतिक सम्पदा र वन्यजन्तुसम्बन्धी जानकारी लिन र अध्ययन गर्न आउने पर्यटकका लागि बाह्रै महिना अनुकूल रहने सन्देश दिन खोजिएको छ ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.