बजार मूल्यभन्दा सस्तो ७ प्रकारका औषधि उत्पादन गर्दै सरकार, उपभोक्तालाई राहत

  २०७६ मंसिर २७ गते १२:४०     राजाराम न्यौपाने

काठमाडौं । नेपाल औषधि लिमिटेडले ७ प्रकारका नयाँ औषधि उत्पादन गर्ने प्रक्रिया अघि बढाएको छ । औषधि उत्पादनका लागि नेपाल औषधि लिमिटेडले औषधि व्यवस्थापन विभागमा औषधिको नाम प्रस्ताव गरेको हो । औषधि व्यवस्था विभागले स्वीकृति दिएपछि नेपाल औषधि लिमिटेडले औषधि उत्पादन शुरु गर्ने छ ।

नेपाल औषधि लिमिटेडका निमित्त कार्यकारी निर्देशक विजय श्रीरत्न बज्राचार्यले झाडापखाला, जुका, सुगर, दम र भिटामिन बी कम्प्लेक्स लगायतका औषधि नयाँ फरमुलेसनमा उत्पादन गर्न लागिएको बताए । प्रेसरको औषधि लिमिटेडले पहिलो पटक उत्पादन गर्न लागेको हो । यसबाट आम उपभोक्तालाई राहत  मिल्ने विश्वास गरिएकाे छ ।

उनले भने नयाँ औषधि उत्पादनको लागि रिसर्च एण्ड डेभलपमेन्टकाे काम सुरु भएको छ । नयाँ औषधि बजार मूल्यभन्दा केही सस्तो हुने पनि उनले बताए । सिटा प्लस औषधि लिमिटेडले करिब १ वर्ष अगाडि उत्पादन गरेर बजारमा ल्याएको थियो । यो औषधि पनि अन्य कम्पनीले उत्पादन गरेको भन्दा प्रति टयाबलेट ५० पैसा सस्तो रहेको छ ।

नेपालमा औषधि उत्पादन वृद्धि हुँदै गए पनि आत्मनिर्भर हुन सकेको छैन । मागको ४५ प्रतिशत मात्रै नेपाली उत्पादनले धानेको छ । ५५ प्रतिशत औषधि विदेशबाट नै आयात भइरहेको छ । सरकारले पनि औषधि उत्पादनको काम गरिरहेको छ । सरकारी स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेड ७ बर्ष बन्द भएर फेरि औषधि उत्पादनको काम आएको झण्डै डेड वर्ष भएको छ । ४७ वर्ष पहिले स्थापना भएको नेपाल औषधि लिमिटेड सरकारको एक मात्र औषधि उत्पादन गर्ने उद्योग हो ।

नेपाल औषधि लिमिटेडले भएको क्षमतालाई प्रयोग गर्ने र क्षमता विस्तार सँगसगै औषधि उत्पादन पनि वृद्धि गर्न सके अर्बौं रुपैयाँ बाहिरिनबाट जाेगिन सक्ने सम्बन्धित क्षेत्रकाे भनाइ छ । लिमिटेडका प्रवक्ता टिकाराम अर्यालले सिटामोल, सिटामोल प्लस, जीवन जल प्लेन र जीवन जल ओरेन्ज उत्पादन गर्दै आएको जानकारी दिए । यहि उत्पादन हुँदै आएका औषधिहरु नयाँ फर्मुलेसन र केही नयाँ उत्पादनको लागि काम भइरहेको जानकारी दिए ।

२ सय प्रकारका औषधि उत्पादन गर्ने नेपाल औषधि लिमिटेड २०६७ सालमा पूर्ण रुपले बन्द भयो । सरकारले लिमिटेडलाई पुनः सञ्चालमा ल्याउने भन्दै मन्त्रिपरिषदबाट निर्णय गराएर २०७३ सालमा परीक्षणको रुपमा सञ्चालनमा ल्याइयो । तर क्षमता अनुसारको उत्पादनमा भने अझै जान सकेकाे छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.