अंग्रेजी टिचर बन्ने रहर पालेका भुवन दाहाल बै‌ंकर्स एसोसिएशनको अध्यक्ष पदमा सर्वसम्मत

  २०७६ मंसिर १७ गते १५:४२     विकासन्युज

काठमाडौंं । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहाल नेपाल बैंकर्स एसाेसिएशनको अध्यक्ष बन्दैछन् ।अध्यक्ष पदका लागि दाहाल एक्लैको मनोनयन पत्र दर्ता भएसँगै उनी सर्वसम्मतबाट एसाेसिएशनको अध्यक्ष बन्ने भएका हुन् । यसकाे औपचारिक घोषणा भने बिहीबार हुने एसाेसिएशनको वार्षिक साधारणसभाले गर्नेछ  । सर्वसम्मत भएपछि दाहालले राष्ट्र बैंकसँग सहकार्य गर्दै बैंकिङ क्षेत्रलाई बलियो बनाउन भुमिका खेल्ने बताएका छन् । उनले आफू अध्यक्ष भएपछि राष्ट्र बैंकसँग सहकार्य गर्दै उच्च मनोबलका साथ पदिय भुमिका निर्वाह गर्ने बताए ।

यस्तो छ दाहालको बैकिङ करियर

अंग्रेजी टिचर बनेर राष्ट्रको सेवा गर्ने उच्च अभिलाशा बाेकेका दाहाल नबिल बैंकमा प्रवेश गरेसँगै उनको जीवनमा नयाँ मोड आयाे। सिन्धुली जिल्लामा जन्मेका दाहालले रौतहट चन्द्रनिगाहपुरको जनज्योति माविबाट २०४३ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरे । अंग्रेजी विषयका शिक्षक प्रेमनारायण चौधरीबाट प्रभावित भएर सोही विषयको शिक्षक बन्ने इच्छा पालेका दाहालको नबिल बैंक लिमिटेडबाट बैंकिङ करिअर शुरु भएको हो । २०४८ पुस ११ देखि नबिल बैंकबाट बैंकिङ करियर शुरु गरेका दाहाल २२ वर्ष विभिन्न पदमा रहेर सोही बैंकमा कार्य सम्पादन गरे ।

सहायक महाप्रबन्धकसम्म पुगेर उनी २०७० असार १५ गते उक्त बैंकबाट विदा भए । नबिल बैंक छोडेकै वर्ष उनी २०७० मा नै देशकै कान्छो वाणिज्य बैंक सानिमा बैंक लिमिटेडमा डेपुटी सीईओको रुपमा प्रवेश गरे । एक वर्ष डेपुटी सीईओको रुपमा काम गरेपछि उनी अहिले सानिमा बैंकमा प्रमुख कार्यकारी अधिकृत बनेर बैंक काम गरिरहेका छन् ।  दाहाल ६ वर्षअघि डेपुटी सीईओबाट सानिमा बैंकमा प्रवेश गरेका  थिए ।

दाहाल हाल काठमाडौंको कपनमा बस्दै आएका छन् । बैकिङ क्षेत्रमा प्रवेश गरेपछि फाइनान्समा स्नातकोत्तर गरेका दाहालले अर्थशास्त्र र अंग्रेजी विषयमा स्नातकसम्मको अध्ययन पुरा गरेका छन् । दाहालसँग बैंकरको मात्र अनुभव नभएर शिक्षक र सरकारी जागिरको समेत अनुभव छ ।

एसएलसी पास गरेपछि पाटन संयुक्त क्याम्पसमा पढ्दै गर्दा खरिदारमा नाम निकालेर उनले संसद सचिवालयमा समेत केही वर्ष जागिर गरे । उनी लेखक पनि हुन् । ४८ वर्षीय दाहालले करियर शुरु गरेको यो अवधिमा बैंकमा मात्र जमेनन्, ह्याण्डबुक टु बैंकिङ, ग्लोसरी अफ बैंकिङ टम्स् पुस्तक समेत प्रकाशित गरिसकेका छन् ।

नरम स्वभावका दाहालको नेपाली शैक्षिक क्षेत्रमा पनि महत्वपूर्ण भूमिका रहेको छ । उनी त्रिभुवन विश्वविद्यालयको एकेडेमिक काउन्सिलको सदस्य, नेपाल बैंकर्स एसाेसिएशन, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकको विभिन्न कमिटी, बैंकिङ नियमन ड्राफ्टिङ टास्कफोर्समा समेत सदस्यको रुपमा रहेर काम गरिसकेका छन् ।

घुमफिर, ट्रेकिङ, योगा तथा शिक्षण गर्न रुचाउने दाहालले आइतबार बैंकर्स एसाेसिएशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । ६ वर्षसम्म योजनाबद्ध रुपमा काम गरेर आफू कार्यरत बैंकलाई उचाइमा पुर्याएका उनले अबको केही समय बैंकका साथै एसाेसिएशनलाई समेत समय दिएर नयाँ उचाइमा पुर्याउन कसिएका छन् ।

साधारणतया एसाेसिएशनमा अघिल्लो कार्यकालको उपाध्यक्ष अध्यक्ष बन्ने अभ्यास भएपनि यस पटक प्राविधिक समस्याका कारण दाहाल अध्यक्ष बन्ने पक्का भएको हो । आज उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन हो । एसाेसिएशन सचिवालयका अनुसार अहिलेसम्म अरु कसैले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छैनन् । दर्ता गर्ने समय आजबाट सकिएकाे छ । अध्यक्षका उम्मेदवारी नपरेको निर्वाचन समितिका संयोजक अनिल अधिकारीले विकासन्युजलाई बताए ।

एसाेसिएशनको साधारणसभा पर्सी १९ गते हुँदैछ । एसाेसिएशनमा जम्मा सात जना सदस्य रहने व्यवस्था छ । माछापुच्छ्रे र सिभिल बैंकबाट प्रतिनिधित्व गरेका सदस्यले आगामी कार्यसमितिमा पनि निरन्तरता पाउने छन् । दुई कार्यकाल एसाेसिएशन कार्य समिति सदस्य बनिसकेका दाहाल २ वर्षको लागि अध्यक्ष बन्न लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.