९३ प्रतिशतसम्म बढ्यो कर्मचारी खर्च, आउटसोर्सिङ गर्ने बैंकहरुलाई यो वर्ष तनाव

  २०७६ मंसिर १३ गते १४:२७     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालन खर्चमा उच्च वृद्धि देखिएको छ । नाफा आर्जनको वृद्धिदर ६ प्रतिशतको हाराहारीमा सीमित भएका बैंकहरुको कर्मचारी खर्च भने करिब २० प्रतिशत देखिएको हो ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा वाणिज्य बैंकहरुले कर्मचारीहरुलाई ९ अर्ब ३९ करोड ६३ लाख रुपैंया भुक्तानी गरेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले ७ अर्ब ८२ करोड ४६ लाख रुपैंया त्यस्तो खर्च गरेका थिए ।

तीन महिनाको अवधिमा २८ बैंकहरुमध्ये २४ बैंकको कर्मचारी खर्च बढ्दा ४ ओटा बैंकको खर्च भने घट्न पुगेको सम्बन्धित वाणिज्य बैंकहरुले सार्वजनिक गरेको रिपोर्टहरुमा उल्लेख गरिएको छ । यो अवधिमा सिभिल बैंकले १० करोड ५७ लाख रुपैंयाले बढाउँदा सबैभन्दा बढी ९३ प्रतिशतले त्यस्तो खर्च वृद्धि भएको देखिएको छ । उता, कृषि विकास बैंक लिमिटेडले भने अघिल्लो वर्षभन्दा ६ करोडले त्यस्तो खर्च घटाउन जाँदा सबैभन्दा बढी ८ प्रतिशतले सञ्चालन खर्च घटाउने बैंक बन्न सफल भएको छ ।

यो अवधिमा सिद्धार्थ बैंकको ७०.८७ प्रतिशत, नेपाल बैंकको ६१.९५, कुमारी बैंकको ५८.०६ प्रतिशत मेगा बैंकको ५७.३१ प्रतिशत तथा प्राइम कमर्शियल बैंकको कर्मचारी खर्च ५६.३० प्रतिशतले बढ्दा ६ ओटा बैंकहरुको त्यस्तो खर्च ५० प्रतिशतले बढीले बढेको छ ।

अघिल्लो वर्ष कर्मचारी खर्चहरुमा धेरै खर्च गरेको आरोप लाग्दै आएका कृषि विकास बैंक, एनआईशी एशिया बैंक, सेञ्चुरी कमर्शियल बैंक र राष्ट्रिय वाणिज्य बैंकले भने त्यस्तो खर्चको आकार घटाएका छन् । त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंक, एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र सिटिजन्स बैंकको सञ्चालन खर्च १० प्रतिशत भन्दा कमले मात्रै बढेको छ ।

पहिलो ३ महिनामा औसत खर्च वृद्धिदर २०.०७ प्रतिशतले औसत कर्मचारी खर्च वृद्धि हुँदा औसतभन्दा धेरै कर्मचारी खर्च वृद्धि हुने बैंकको संख्या १५ ओटा छ भने बाँकी १३ ओटा बैंकको भने वृद्धिदर औसतभन्दा कम वा नेगेटिभ छ । आथि उल्लेखित बाहेक लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, एनएमबि बैंक, सानिमा बैंक, सनराइज बैंक, नबिल बैंक, ग्लोबल आईएमई बैंक र र जनता बैंकको पनि कर्मचारी खर्च वृद्धि औसत भन्दा बढी छ ।

त्यस्तै, बैंक अफ काठमाण्डू, नेपाल बंगलादेश बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, हिमालयन बैंकको कर्मचारी खर्च वृद्धिदर भने औसत भन्दा कम छ ।

किन बढ्यो अत्यधिक कर्मचारी खर्च ?

नेपाल राष्ट्र बैंकले कम्प्लाइन्समा गरेको बाध्यकारी खर्चको प्रावधानका कारण बैंकहरुको कर्मचारी खर्चमा यो वर्ष उच्च वृद्धि देखिएको बैंकरहरु बताउँछन् । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई आफ्ना कर्मचारीहरु आउटसोर्टबाट भर्ना गर्न कडाइ गरेकाे थियो । यो व्यवस्थापछि बैंकहरुले आउटसोर्सबाट आपूर्ति गर्दै आएका कर्मचारीहरुलाई आफ्नै तर्फबाट नियुक्ति दिएको थियो । बैंकहरुबाट नियुक्ति पाएपछि उनीहरुको सेवा सुविधा पनि बढेकोले यस्तो खर्च बढेको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत हिमालय शम्शेर राणाले जानकारी दिए ।

राणाले पहिलेदेखि नै आउटसोर्सबाट कर्मचारी नलिने हिमालयन बैंक जस्ता केही बैंकहरुको भने त्यस्तो खर्च धेरै नबढेको बताए । उच्च रुपमा खर्च बढेको देखिएका केही बैंकको खर्च भने मर्जर र एक्विजिसनका कारण पनि बढेका छन् । त्यसो त पछिल्लो समय नेपाल राष्ट्र बैंकले बैंकहरुलाई वित्तीय अपराध न्यूनीकरण, साइबर सुरक्षा तथा नविनतम बैंकिङ सेवाका लागि प्रविधिमा खर्च गर्न पनि निर्देशन दिँदै आएको छ । यसले बैंकहरुको सञ्चालन खर्च समेत बढ्दै गएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.