ग्लोबल आइएमईको २५% लाभांश पारित, मर्जरपछि सञ्चालकमा ग्लोबलबाट ५ र जनताबाट २ जना

  २०७६ मंसिर २ गते १८:३३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रस्तावित २५.५ प्रतिशत लाभांश पारित भएको छ । सोमबार सम्पन्न बैंकको १३औं वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश दिने संचालक समितिको प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेसँगै बैंकका आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीले १२.७५ प्रतिशत बोनस सेयर र १२.७५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने संचालक समितिको प्रस्तावलाई पारित गरेको हो । बैंकले गत आर्थिक वर्षमा २ अर्ब ७६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड रुपैयाँ पुग्नेछ ।

साथै, साधारण सभाले जनता बैंक नेपाललाई ग्लोबल आइएमई बैंकमा गाभ्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाबाट पारित भएसँगै दुई बैक मर्जरका लागि नेपाल राष्ट्र बैक समक्ष अन्तिम स्वीकृति प्राप्त गरी ग्लोबल आईएमइ बैंकको नामबाट एकिकृत कारोबारका लागि अन्तिम तयारी भइरहेको छ ।

सभाले बैंकको अधिकृत पूँजी १६ अर्बलाई वृद्धि गरी २५ अर्ब रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ ।सभामा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकले मंसिर महिनाभित्र एकीकृत कारोबार सुरु गर्ने योजना रहेको बताएका छन् । मर्जरपछि ग्लोबल आइएमई ठूलो र सबल बैंक बन्ने अध्यक्ष ढकालले बताए ।

यी दुई बैंकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमती गरेका थिए भने कार्तिक ८ गते मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

मर्जरपछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बैंक, अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति गरिएको छ भने सञ्चालक समितिमा ग्लोबलको तर्फबाट ५ जना र जनताको तर्फबाट २ जना रहने सहमति भएको छ । त्यस्तै, मर्जरपछि बन्ने बैंकको कार्यकारी प्रमुख अधिकृत परशुरामकुँवर क्षेत्री र वरिष्ठ नायव कार्यकारी प्रमुख अधिकृत महेशशर्मा ढकाल हुने सहमतिभएको छ ।

मर्जरपछि बैंकको चुक्ता पुँजी करिब १९ अर्ब, कुल निक्षेप २ खर्ब १० अर्ब भन्दा बढी र कुल कर्जा लगानी करिब २ खर्ब रुपैयाँ पुग्नेछ । त्यस्तै, बैंकको शाखा सञ्जाल करिब ३०० तथा सेवा केन्द्रको संख्या ८५० भन्दा बढी हुनेछ । साथै, बैंकमा ३ हजार २५० भन्दा बढी कर्मचारीहरु रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.