नेपालका लागि बङ्गलादेशः भारतनिर्भर अर्थतन्त्रबाट बाहिर निस्कने आधार

  २०७६ कार्तिक २९ गते १०:०८     रमेश लम्साल

काठमाडौँ । ‘नेपालमा प्रचुर जलस्रोतको सम्भावना छ, त्यसको लाभ हामी पनि लिन चाहन्छौँ, हामीलाई विद्युत् चाहिएको छ । तपाईँ हामी मिलेर काम गरौँ’ २०७५ साल साउन २५ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा नेपाल र बङ्गलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेपछि बङ्गलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदले दिएको प्रतिक्रिया हो यो ।

राज्यमन्त्रीको प्रतिक्रिया नै काफी छ कि बङ्गलादेशलाई ऊर्जाको हुटहुटी कति छ भनेर । नेपालसँग वाणिज्य व्यापारलाई थप सहज गर्ने र नेपालका सरकारी तथा निजी कम्पनीसँग मिलेर काम गर्ने इच्छा बङ्गलादेशले मनैदेखि प्रकट गरेको छ । बङ्गलादेशका राष्ट्रप्रमुख मोहम्मद अब्दुल हमिद नेपाल भ्रमणमा छन् । विहीबार उनी पर्यटकीय नगरी कास्कीको रुपाकोट पुगे । नेपाली मनसँग आफ्नो देश र जनताको मन जोडिएको भन्दै दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने बुधबार आफ्ना समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा व्यक्त गरेको विचारको समेत स्मरण गरे ।

पछिल्लो दिनमा गरीबी, अभाव, रोग र भोकबाट बङ्गलादेशी जनतालाई मुक्त पार्दै आर्थिक समृद्धिको मार्गमा अगाडि बढेको बङ्गलादेशले नेपालसँगको गहिरो साझेदारी र सहकार्य गर्न खोजेको छ । आर्थिक विकास र वृद्धिदरमा समेत अगाडि रहेका बङ्गलादेशले पछिल्ला दिनमा गार्मेन्ट उद्योगमा गरेको प्रगति लोभलाग्दो रहेको छ । उसले त्यसैका लागि नेपालको जलविद्युत्मा सहकार्यका लागि साथ खोजेको छ । बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट विद्युत् लैजाने विषयलाई आफ्नो दीर्घकालीन नीतिमा समावेश गरिसकेको छ ।

तत्कालीन ऊर्जा, राज्यमन्त्री नसरुल हमिदको नेपाल भ्रमणको क्रममा होस् वा नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले २०७५ भदौमा गर्नुभएको बङ्गलादेश भ्रमणमा नै किन नहोस् नेपालको ऊर्जा क्षेत्रमा साझेदार भएर काम गर्ने इच्छा प्रकट गरेको छ ।

पछिल्लो दिनमा बङ्गलादेश दक्षिण एशियामा आर्थिक शक्तिका रुपमा उदाउन थालेको छ । गरीबी, राजनीतिक द्वन्द्वबाट बाहिर निस्केर उसले गरेको आर्थिक विकासको प्रयास नेपालका लागिसमेत अनुकरणीय विषय बन्न सक्ने देखिएको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापनक सङ्कायका डिन प्रा डा डिल्लीराज शर्मा भारतसँग मात्रै निर्भर रहेको हाम्रो जस्तो देशको अर्थतन्त्रलाई अगाडि बढाउन बङ्गलादेश एउटा सहयोगी बन्न सक्ने बताउँछन् । पछिल्लो दिनमा बङ्गलादेशले विशेष गरी चिकित्सा शिक्षामा गरेको प्रगति, पर्यटन उद्योगमा ल्याएको उभार पनि हाम्रा लागि प्रेरणाको स्रोत बन्ने भन्दै उनले कृषिउपजको उत्पादन बढाउन सके सहजै बङ्गलादेश निर्यात गर्न सकिने बताए ।

सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । चालू आर्थिक वर्षमा नै प्रक्षेपण गरिएको आधारमा मात्रै जलविद्युत् आयोजना निर्माण हुने हो भने एक हजार ३०० मेगावाट विद्युत् यसै वर्ष थप हुनेछ । आगामी तीन चार वर्षमा नेपालको जलविद्युत् उत्पादनमा आकाश जमीनको फरक आउने छ । त्यतिबेला ऊर्जा निर्यात गर्नुको विकल्प नेपालसँग रहने छैन । त्यस्तो अवस्थामा ऊर्जाको अत्यधिक माग भएको बङ्गलादेश नेपालको महत्वपूर्ण गन्तव्य बन्न सक्ने प्रा डा शर्माको भनाइ छ ।

वर्षेनी चुलिँदो व्यापार घाटा घटाउनसमेत नेपालले बेलैमा सोचेर बङ्गलादेशसँग सहकार्यको हात बढाउनु ढिलाइ गर्न नहुनेमा जोड दिँदै प्रा डा शर्माले भने, “उनीहरुलाई विद्युत् चाहिएको छ । हामीसँग स्रोत छ, त्यसलाई सदुपयोग गर्दा व्यापार घाटा घटाउन तथा नेपालको आर्थिक उन्नतिका लागि पनि मार्ग प्रशस्त हुन सक्छ ।” गत आर्थिक वर्षमा बङ्गलादेशसँग रु २ अर्ब ९४ करोड ८७ लाख व्यापार घाटा रहेको थियो । नेपालबाट रु १ अर्ब २९ करोड ३४ लाख बराबरको मालवस्तु निर्यात हुँदा बङ्गलादेशबाट रु ४ अर्ब ३४ करोड २२ लाख बराबरको आयात भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना बङ्गलादेशी समकक्षीको सम्मानमा बुधबार आयोजना गरेको रात्रिभोजमा समेत नेपालको जलस्रोत र बङ्गलादेशको प्राकृतिक ग्यास दुवै देशको आर्थिक समृद्धिको वाहक बन्न सक्ने अपार सम्भावना रहेको बताउँदै सहकार्यका लागि आह्वान गरे ।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति हमिदसँग गरेको भेटमा समेत नेपालको ऊर्जा क्षेत्रमा सहकार्यका विषयमा नै कुराकानी भए बङ्गलादेशका राष्ट्रपतिले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाक्षा पूरा गर्ने नेपाल सरकारको सङ्कल्प साकार पार्न आफ्नो देशले हरसम्भव सहयोग गर्ने वचन दिएर सहकार्यको क्षेत्रलाई थप फराकिलो बनाउने विश्वास व्यक्त गरे ।

दुवै देशबीच सम्पर्क सञ्जाल विस्तार, ऊर्जा सहयोग, बङ्गलादेशका बन्दरगाह उपयोग, पूर्वाधार निर्माण, पर्यटन विकास, व्यापार प्रवद्र्धनलगायत आपसी चासोका अलावा नेपाललाई बङ्गलादेशले उपलब्ध गराउँदै आएका विभिन्न बन्दरगाहको उपयोग र नेपाली उत्पादनलाई बङ्गलादेशी बजारमा पुर्याउन तथा द्विपक्षीय व्यापार वृद्धिमा समेत सहकार्य गर्ने बाटोमा राष्ट्रपति हमिदको भ्रमणले मार्ग प्रशस्त गरेको छ ।

प्रधानमन्त्री ओलीले ऊर्जा उत्पादनमा लगानी गर्न बङ्गलादेशका उद्यमी–व्यवसायीलाई अभिप्रेरित गर्न सके यहाँ उत्पादन हुने ऊर्जा बङ्गलादेशमा खपत गर्न सहज हुने वास्तविकता राष्ट्रपतिलाई अवगत मात्रै गराउनुभएन व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, जलमार्ग, हवाई मार्ग, शिक्षा, यातायात तथा कृषि क्षेत्रमा पनि एक अर्का देशले मिलेर काम गर्ने बताए ।

प्राडा शर्मा नेपालले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउन लागेको सन्दर्भमा राष्ट्रपति हमिदको भ्रमणले बङ्गलादेशका पर्यटकलाई नेपाल आउन अभिप्रेरित गर्ने बताउँछन् । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत नेपालको पुरातात्विक सम्पदाले बङ्गलादेशका जनता नेपाल भ्रमणमा आकर्षित गर्नसक्ने वातावरण बनेको छ ।

राष्ट्रपति हमिदको भ्रमणले पुनः एक पटक पोखराको पर्यटनले विश्वव्यापीरुपमा चर्चा पाएको छ । अतिविशिष्ट व्यक्तिको भ्रमणले पोखराको पर्यटन प्रवद्र्धनमा निकै टेवा पुग्ने पोखरेली व्यवसायीको भनाइ छ ।

ऊर्जाका विभिन्न स्रोतको खोजी गर्ने क्रममा बङ्गलादेशले नेपालसँग सहकार्यको हात अगाडि बढाएको छ । भारतसँग त्रिपक्षीय सहमति गरेरै भए पनि नेपालको विद्युत् बङ्गलादेशसम्म पुर्याउने उसको सोच छ । पछिल्ला दिनमा गार्मेन्ट उद्योगमा विश्व समुदायलाई आफ्नो पहिचान दिन सफल बङ्गलादेशले नेपालको विद्युतबाट थप आर्थिक उपार्जन गर्ने लक्ष्य राखेको छ । दुई देशबीच ऊर्जा क्षेत्रमा साझा सहकार्य गर्ने द्विपक्षीय संयन्त्र क्रियाशील छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ऊर्जा क्षेत्रका लगानीका लागि द्विपक्षीय संयन्त्रमार्फत आफ्ना गतिविधि अगाडि बढाइरहेको छ ।

गत असोज २६ र २७ गते भारतको बैंगलोरमा सम्पन्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले नेपाल, बङ्गलादेश र भारतबीच ऊर्जा आदानप्रदानका लागि त्रिदेशीय संयुक्त बैठक आयोजना गर्ने सहमति भएको थियो । सो सहमतिले नेपालको विद्युत् भारतको भूमि वा संयन्त्र प्रयोग गरेर बङ्गलादेश पु¥याउन मार्गप्रशस्त गरेको छ । त्रिपक्षीय बैठक तीन महिनाभित्र आयोजना गर्ने सहमति भएकाले बैठकपछि थप आधारहरू तयार हुनेछन् । दुई देशबीचको ऊर्जा संयन्त्रको बैठक नियमित बसिरहेको छ ।

बङ्गलादेशले सन् २०४१ सम्ममा विकसित राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ । यतिखेर बङ्गलादेशलाई करीब ६० हजार मेगावाट विद्युत् जरुरी छ । त्यसका लागि एउटा उत्तम विकल्प नेपाल हो भन्नेमा बङ्गलादेश स्पष्ट छ । सन् २०२१ सम्म बङ्गलादेशलाई २४ हजार मेगावाट विद्युत् आवश्यक पर्ने जनाइएको छ । बङ्गलादेशको आर्थिक वृद्धिदर १० प्रतिशत पु¥याउने लक्ष्यसाथ काम भइरहेकाले थप ऊर्जा जरुरी छ ।

नेपालको निजी क्षेत्र विशेषगरी स्वतन्त्र ऊर्जा, उत्पादकहरूको संस्था नेपाल (इपान)सँग मिलेर बङ्गलादेशका निजी क्षेत्रले संयुक्तरूपमा लगानीका लागि प्रस्ताव गरेको छ । इपानका अध्यक्ष शैलेन्द्र गुरागाईं ऊर्जाको अत्यधिक माग रहेको बङ्गलादेशमा त्यहाँको निजी क्षेत्र तत्काल नै करीब छ हजार मेगावाट क्षमताका आयोजना निर्माणका लागि इच्छुक छन् ।

बङ्गलादेशमा स्याउ, सुन्तला, नास्पाती, आलुबखडा, अलैँची, अम्रिसो, तेजपात, सिमेण्ट, गिट्टीको माग बढी भएकाले नेपालले ती सामग्री नेपालबाट निर्यात गर्न सकिने अवस्था छ । नेपाल बङ्गलादेशमैत्री सङ्घका अध्यक्ष दीनदया रिजालका अनुसार बङ्गलादेश नेपालसँग निकै नजिक हुन चाहन्छ, ऊ पहिलो सम्बन्ध नै नेपालसँग राख्न चाहन्छ, त्यो भावनालाई नेपालले पनि बुझिदिनुपर्छ ।

बङ्गलादेशी हिमाल, पहाड, डाँडाकाँडा देखेर आनन्दित हुने र नेपालको प्रकृतिप्रति उनीहरुको लगाव छ । उनीहरु नेपाली भूमि निकै मन पराउने, न स्वर्ग नै मान्ने रिजालको भनाइ छ । नेपाल भ्रमण वर्षलाई सफल बनाउन पनि बङ्गलादेशीलाई नेपालमा आकर्षित गर्न नेपाल सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता छ ।

बङ्गलादेशको आर्थिक वृद्धिदर सन् २०१९ मा आठ प्रतिशत हुने अन्तरराष्ट्रिय दातृ निकायले प्रक्षेपण गरेका छन् । बङ्गलादेश सरकारले सन् २०२१ देखि दोहोरो अङ्कको आर्थिक वृद्धि गर्ने लक्ष्यसहित काम गरिरहेको सन्दर्भमा पनि नेपालले त्यसबाट लाभ लिने गरी सहकार्यको हात अगाडि बढाउनु आवश्यक देखिएको छ । सरकारले ‘डिजिटल नेपाल’ कार्यक्रम लागू गर्न लागिरहेको सन्दर्भमा बङ्गलादेशले यसअघि नै शुरु गरिसकेको ‘डिजिटल बंगलादेश’बाट पनि नेपालले अनुभव लिन सक्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.