२०७६ कार्तिक २८ गते १७:२६ विकासन्युज
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) मा रित्त रहेको अध्यक्ष छनोट प्रक्रिया अघि बढेसँगै आकांक्षीको रक्सारक्सी शुरु भएको छ । राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुयालको संयोजनमा गत साता अध्यक्ष छनोट समिति गठन अघिनै बोर्ड अध्यक्षका लागि नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) का पूर्व अध्यक्षदेखि नेपाल राष्ट्र बैंकका दुई कार्यकारी निर्देशक र बोर्डभित्रकै ३ कर्मचारी अध्यक्षको दौडधूपमा थिए ।
अध्यक्ष छनोट समितिले कार्यविधि बनाएर काम शुरु गर्नुअघि नै बोर्डका कार्यकारी निर्देशकद्धय परिष्टनाथ पौडेल, निरज गिरी र उपकार्यकारी निर्देशक डा.नवराज अधिकारी अध्यक्षको दौडबाट बाहिरिएका छन् । विशेष स्रोतका अनुसार उनीहरूले अध्यक्षको पदका लागि आवेदन नदिने बुझिएको छ ।
आईक्यानका पूर्व अध्यक्ष टंक पनेरु उक्त पदका लागि बलियो दावेदार मानिएपनि उनीलाई नेपाल स्टक एक्चेन्जमा अध्यक्ष रहँदा राम्रो काम सम्पादन गर्न नसकेको आरोप छ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडाका निकट मानिएका थिए । तर, छनोट समिति उनको त्यतिबेलाको कार्यशैलीप्रति सन्तुष्ट छैन । त्यसैले उनको पनि अध्यक्ष बन्ने करिब करिब सम्भावना टुंगिएको छ ।
अब सेवोन अध्यक्षका आकांक्षीका रुपमा राष्ट्र बैंकका दुई पूर्व कार्यकारी निर्देशक रहेका छन् भिष्मराज ढुंगाना र वासुदेव अधिकारी । ढुंगाना राष्ट्र बैंकमा आगामी चैत ५ मा रित्त हुने गभर्नर पदका लागि आफूलाई दावेदार मानेर बसेका छन् । सेवोन विज्ञ सदस्यका रुपमा रहेका उनमा सेवोन अध्यक्ष बन्ने खासै चासो छैन । यी सबै कारणले गर्दा हाल नेपाल बैंकका अध्यक्ष वासुदेव अधिकारी नै सेवोन अध्यक्ष पदका लागि एकमात्र बलिया दावेदारका रुपमा देखिएका छन् । राष्ट्र बैंकमा रहँदा महत्वपूर्ण जिम्मेवारी निभाएका अधिकारीनै स्टक मार्केट बुझेका बलिया दावेदार मानिएको स्रोतले जानकारी दिएको छ ।
मेरिटको आधारमा अध्यक्ष चयनः छनोट समिति
सरकार परिवर्तनको चहलपहलसँगै नेपाल धितोपत्र बोर्ड (सेवोन) को अध्यक्ष छनोट प्रक्रिया ओझेलमा परेको छ । सरकार परिवर्तनसँगै अर्थमन्त्री डा. युवराज खतिवडाको मन्त्री पद धरापमा परेपछि सेवोन अध्यक्ष चयनमा सुष्तता आएको हो । प्रधानन्त्री केपी शर्मा ओली विरामी परेका छन् । उनले पनि यस विषयमा खासै चासो देखाउन सकेका छैनन् । गत असोजमसान्तबाट सेवोनमा डा. रेवतवहादुर कार्कीको ४ वर्षे कार्यकाल सम्पन्न भएको छ ।
उनको कार्यकाल सकिदै गरेको जानकारी सरकारलाई राम्रोसँग ज्ञान भएपनि एक साता अघिमात्रै सेवोन अध्यक्ष छनोट समिति बन्यो । समिति बनेपनि अहिलेसम्म औपचारिक बैठक बस्न सकेको छैन । राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुयालको संयोजनमा बनेको उक्त छनोट समिति अहिलेसम्म मौखिक बैठकमात्रै बसेको छ । ‘सेवोन अध्यक्ष छनोट कार्यविधि बनाउँदै छौं,’ उनले भने ‘अबको एक सातामा कार्यविधि तयार हुन्छ ।’
कार्यविधि बनेपछि औपचारिक रुपमा आवेदन माग छौं ।’ कुन प्रक्रियाबाट आवेदन माग हुन्छ भन्ने विषय भने कार्यविधिले तय गर्नेछ । आवेदकले गर्ने प्रस्तुती र व्यक्तिगत विवरणलाई आधार मानेर अध्यक्ष चयन हुने फुयालले बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.